Saturday, December 24, 2016

जलविद्युत्मा सुदूरपश्चिम, सम्भावना अपार, उत्पादन नगन्य

जलविद्युत्मा सुदूरपश्चिम
सुदूर पश्चिमाञ्चल विकास क्षेत्र समुद्री सतहबाट ७ सय ९७ फिटदेखि ७ हजार १ सय ३४ फिटसम्मको उचाइमा रहेको छ, जसमा कैलाली र कञ्चनपुर तराई क्षेत्र हुन् भने डँडेलधुरा, डोटी, अछाम, बैतडी, बाजुरा, बझाङ र दार्चुला उच्च पहाडी तथा हिमाली क्षेत्रहरू हुन् । सेती र महाकाली यस क्षेत्रका प्रमुख दुई ठूला नदीहरू हुन् । त्यसैगरी कर्णाली नदी, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलको सिमाना भएर बग्दछ । यस क्षेत्रका नदीहरूको स्रोत हिमाल भएका कारण बाह्रै महीना पानी बगिरहछ ।
यसर्थ, नेपाल विद्युत् प्राधिकरण तथा निजीक्षेत्रले विभिन्न आयोजनाका लागि अध्ययन तथा निर्माणका प्रक्रियामा हात हालेका पनि छन्, जसमध्ये साना–ठूला गरी १५ कम्पनीले सर्वेक्षण लाइसेन्स लिएको विद्युत् विकास विभागको तथ्याङ्क रहेको छ । उक्त लाइसेन्स लिनेमा अपी पावर कम्पनीद्वारा प्रवद्र्धित ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना सबैभन्दा बढी क्षमताको रहेको छ ।
त्यसैगरी सुदूर पश्चिमाञ्चलमा जलविद्युत् आयोजना निर्माणका लागि ६ कम्पनीले लाइसेन्स प्राप्त गरेका छन्, जसमा नेपाल विद्युत् प्राधिकरणद्वारा अघि बढाइएको चमेलिया जलविद्युत् आयोजना (३० मेवा), सानीगाढ हाइड्रोपावर प्रालिको अपर कलङ्गा (३८.४६० मेवा), सोही कम्पनीको सानीगाढ (१०.७०० मेवा), कलङ्गा हाइड्रोपावर प्रालिको कलङ्गा (१५.३३० मेवा), मकरीगाढ हाइड्रोपावर प्रालिको मकरीगाढ (१० मेवा) र साल्मनीदेवी हाइड्रोपावर प्रालिको कपडीगाढ (३.३०० मेवा) रहेका छन् ।
निजीक्षेत्र
दार्चुला जिल्लाको देथला गाविसमा रहेको ८ दशमलव ५ मेगावाटको नौगडगाढ साना जलविद्युत् आयोजनाको प्रवद्र्धन अपी पावर कम्पनीले गरेको हो । यस आयोजनाबाट वर्षायाममा ८ दशमलव ५ र हिउँदमा करीब ४ दशमलव ५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । यो नै सुदूरपश्चिमाञ्चलको हालसम्म निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्दै आएको एक मात्र आयोजना हो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको चमेलिया आयोजनास्थित बलाँच सबस्टेशनको ३३ केभी सबबारमा जोडिएको
छ । 
१ सय ३२ केभीको ट्रान्समिशन लाइनबाट जाने व्यवस्था रहेको कम्पनीद्वारा उत्पादित विद्युत् उक्त ट्रान्समिशन लाइनको निर्माण पूरा नभएकाले वैकल्पिक लाइनमा जोडिएको हो ।
अपी पावरकै प्रवद्र्धन रहेको अपर नौगडगाढ (८ मेवा) निर्माणमा जाने तयारीमा जुटेको कम्पनीका परियोजना निर्देशक महेन्द्र न्यौपानेले बताए । त्यसैगरी अपीकै प्रवद्र्धन रहेको दार्चुलाको अपर चमेलिया (४० मेवा) ईआईए र डिटेलिङको क्रममा रहेको पनि उनले जानकारी दिए । ‘२०७४ सालभित्र ईआईए र डिटेलिङ सकेर अन्य काम अघि बढाइने छ,’ न्यौपानेले भने । यसबाहेक अन्य करीब १ दर्जन कम्पनी सुदूरपश्चिमाञ्चलमा जलविद्युत् उत्पादनमा सक्रिय रहेका छन्, जसका लागि नेपाल विद्युत् प्राधिकरण तथा निजीक्षेत्रले सर्भे तथा निर्माण अनुमतिका लागि निवेदन दिएका छन् ।
सरकार
दार्चुलामा रहेको चमेलिया (३० मेवा) जलविद्युत् आयोजना सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा निर्माणाधिन आयोजना हो । क्षेत्रीय सन्तुलनका हिसाबले पहिचान गरी प्राधिकरणले विकास गरेको यो आयोजना शुरू भएकै पनि ९ वर्ष भइसकेको छ । चिनियाँ कम्पनी चाइना गेजुवाद्वारा निर्माणको जिम्मा लिइएको उक्त आयोजनाको काम समयमा नसकिँदा समयका साथै उत्पादन लागत २ गुणाभन्दा बढी बढिसकेको छ । यसबीच, बनाइसकेको ८ सय ४३ मिटर सुरुङ खुम्चिएको र त्यसको पुनर्निर्माणका लागि बजेट निकासाका साथै अनियमितता भएको भन्नेलगायत विवादले पनि समय र लागत दुवै आकाशिएका हुन् । बेलैमा आयोजना सम्पन्न गर्न प्राधिकरणले जिम्मेवार ढङ्गबाट प्रस्तुत नहुनाले चमेलियाबाट आउने विद्युत् महँगो हुने भएको छ ।
उक्त आयोजना आगामी जुन २०१७ सम्ममा पूरा गर्नेगरी म्याद थप गरिएको छ । एउटै पनि आयोजना सम्पन्न गर्न नसके पनि सुदूरपश्चिममा सरकारले ठूला–साना गरी २४ ओटा आयोजना ओगटेर राखेको छ, जसमा दार्चुला र बाजुरामा पाँच÷पाँच, बझाङमा चार, अछाम र डँडेलधुरामा तीन/तीन, डोटीमा दुई र बैतडीमा, अछाम तथा बाजुरामा पर्ने एक छन् । यसरी ओगटिएका आयोजनाहरूमा पश्चिम सेती (६ सय मेवा), चैनपुर सेती (४ सय ५४ मेवा), कर्णाली–७ (३ सय ३० मेवा), बझाङ अपरसेती (८० मेवा)जस्ता ठूलादेखि साढे ३ मेगावाटसम्मका आयोजना रहेका छन् ।
यीमध्ये पश्चिम सेतीको निर्माणका लागि २०६८ सालमै ऊर्जा मन्त्रालय र सीडब्ल्यूई इन्भेष्टमेण्ट कर्पोरेशन (चाइना थ्री गर्जेज कर्पोरेशनको सहायक कम्पनी)सँग समझदारी भइसकेर पनि काम अघि बढेन । यो आयोजनालाई सुदूरपश्चिमको विकासको आधारका रूपमा लिइएको छ । त्यसैगरी महाकाली नदीमा भारतसँगको सहकार्यमा अघि बढाउने भनिएको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको चर्चा चल्ने र सेलाउने क्रमले त्यसबाट उत्पादन हुने ५ हजार ४० मेगावाट विद्युत्को पनि कुनै टुङ्गो लागेको छैन ।
‘घरभरि कपडा वीरे नाङ्गै’ भनेझैं जलविद्युत्को प्रचुर सम्भावना रहेको सुदूरपश्चिमको विद्युत् मागलाई धान्न वर्षको ९ महीना प्राधिकरणले टनकपुर–महेन्द्रनगर अन्तरदेशीय प्रसारण लाइन मार्फत भारतबाट ३० मेगावाट विद्युत् खरीद गर्दै आएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने अभियानमा अघि बढेको सरकारले सुदूरपश्चिमका ठूला दुई/चार आयोजना मात्रै सम्पन्न गर्ने हो भने पनि क्षेत्रीय रूपमा विद्युत उत्पादन सन्तुलनका साथै सुदूरपश्चिमको विकासमा ठूलो कडी बन्न सक्ने थियो ।
Source: http://www.abhiyan.com.np/new/Articles/view/89385

No comments:

Post a Comment