Thursday, November 29, 2018

कहाँ पुग्दैनन् उनीहरू ! गाइड र भरियाका आफ्नै कथाव्यथा

दुर्गा लामिछाने

जीवनमा एक न एकपटक मानसरोवर पुग्नु नेपाल र भारतका साथै अब त विश्वभरका मानिसको पनि सपना हो । हिन्दू तथा बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिने मानसरोवर पुग्न सके मृत्युपछि सुगति हुने विश्वास गरिन्छ । जवानीमा नसके बुढेसकालमा मर्नैका लागि मात्र भए पनि पुग्न चाहनेहरू पनि छन् । त्यति हुँदा पनि सबैलाई एकै पटकको मानसरोवर यात्रा पनि नजुर्न सक्छ ।
तर, रमाइलो कुरा यस्तो कुनै विश्वास र प्रयासविनै भरियाको काम गर्ने सोलुका बुद्धिबहादुर मगर ५० पटक मानसरोवर पुगिसकेका छन् । २०५० सालदेखि हालसम्म उनी पर्यटकको भरिया बनेरै यतिका पटक मानसरोवर पुगेका हुन् । त्यहाँ जानेमा सबैभन्दा बढी भारतीय पर्यटक हुने उनको अनुभव छ । विदेशी पर्यटकसँगै मुस्ताङको लोमान्थाङ पुगेका उनी ६५ वर्षको उमेरसम्म यो पेशा गर्न सक्ने आशा गर्छन् ।
विगत ४ वर्षदेखि ट्रेकिङ रूटबारे गाइड गरिरहेका हस्तबहादुर गुरुङ ३६ वर्षका भए । योबीचमा उनीले लगभग नेपालका सबै ट्रेकिङ रूटहरू छिचोलिसकेका छन् । यो पेशामा उनको भाषागत ज्ञानको महत्त्वपूर्ण भूमिका छ । गाइडको काम गर्न जति धेरै भाषा जान्यो, उति राम्रो हुने उनको अनुभव छ । ४ कक्षासम्म मात्र पढेका उनी भाषाको ज्ञानकै कारण गाइडको काम गर्न पाइरहेका छन् । ‘पहिले त गरेँ नि, भरिया पनि भएँ, क्याम्प खडा गरेर बसेको ठाउँमा खाना पकाउने कूक पनि भएँ, क्लाइम्बिङ गाइडको पनि काम गरेँ,’ आफ्नो मेहनतले भएको प्रगतिमा सन्तुष्टि व्यक्त गर्दै उनी भन्छन्, ‘त्यही बीचमा फ्रेञ्च भाषाको कोर्स गरेर अलिअलि बोल्न सक्ने भएपछि गाइडको काम थालेको हुँ ।’ नेपालमा आउने पर्यटकमध्ये फ्रेञ्च पर्यटकको सङ्ख्या उल्लेख्य रहेकाले उनको पेशा सुरक्षित छ । त्यसमाथि आफूले लिएर हिँडेका पर्यटकलाई बाटो देखाउने मात्रै नभई डाइनिङ हलमा खाना लगिदिने, तातोचिसो पानीको व्यवस्था गरिदिने साथै उनीहरूको आवश्यकतामा घरको सदस्यझैं लागिपर्ने उनको गजबको बानी छ । नम्र स्वभावका उनमा आफूले पढेको छैन भन्ने कुरा मनमा गहिरो गरी गढेको कुराकानीका क्रममा बुझिन्छ, जुन कमी पूरा गर्न उनी पर्यटकलाई कसरी उत्कृष्ट सेवा दिने भन्नेमा तल्लीन भएका देखिन्छन् ।
आम्दानी र सुविधा
‘कम्पनीले प्रतिपर्यटक २ हजारदेखि २ हजार ५ सय डलर लिन्छ,’ गाइड गुरुङ भन्छन्, ‘त्यसबाट हामी गाइडले पाउने खाना र सुत्नका लागि समेत गरेर दिनको ३ हजार रुपैयाँ हो ।’ भरियाको काम गर्नेहरूले खाने बस्ने सुविधाबाहेक दिनको १ हजार ५ सय पाउँछन् ।
सुविधातर्फ भरिया होऊन् वा गाइड, घाइते भए उपचार र औषधि खर्च कम्पनीले नै बेहोर्छ । सम्बन्धित घटनास्थलबाट दुवैको सित्तैमा उद्धार गरिन्छ । ‘काममै भएको बेला मृत्यु भयो भने १५ लाख रुपैयाँ बीमाको पैसा परिवारले पाउने व्यवस्था छ,’ भरियाको काम गर्ने सार्की नेकोर (तामाङ) भन्छन् ।
भरियाका लागि होटलहरूले बस्ने खाने व्यवस्था अत्यन्त कम मूल्यमा गरेका हुन्छन् । होटलवालाहरू पनि चलाख छन्, खाना र वासका लागि पर्यटक र भरियालाई आफ्नो होटलमा ल्याउने गाइडलाई सित्तैमा खान–बस्न दिन्छन् । यो व्यवस्था लगभग सबैजसो ठाउँमा हुन्छ । तर, पनि यो क्षेत्रमा काम गर्ने गाइड वा भरिया, सबैले कमाएका सबै पैसा घर पुग्दैनन् । धेरैजसोको कमाइको ५० प्रतिशत पनि घर नपुग्ने उनीहरू नै बताउँछन् । ट्रेकिङमा हिँड्दा रक्सी खाने, तास खेल्ने गरेर धेरै पैसा सकिन्छन् । आफ्नो यस्तो बानी छाडेर पैसा जोगाउन तिर लाग्नुको साटो बरु आफै विदेशतिर लाग्ने सोचमा छन् केही ।
गर्व पनि छ पेशाप्रति
नेपालीहरू हजारौं र विदेशीहरू लाखौं रुपैयाँ खर्च गरेर पुग्ने ठाउँहरू गाइड र भरिया सित्तैमा पुग्छन् । ‘सित्तैमा मात्रै होइन उल्टै पैसा पनि पाइन्छ,’ उपल्लो मुस्ताङको समरबाट उकालो लागेपछि देरालीमा भारी बिसाएको बेला गोरखा लाप्राकका २० वर्षीय हरिमान गुरुङले भने । १२ कक्षा पार गरेका उनी पढाइ पनि अघि बढाउँदै सकेसम्म यसै क्षेत्रमा काम गर्ने सोचमा छन् । दिनभर भारी बोकेर वासमा पुगेपछि पनि गाइडसँगै लागेर पर्यटकको व्यवस्थापनको काममा सघाइरहेका देखिन्थे उनी । ‘एक दुईओटा भाषा सिकेर विस्तारै गाइडको काम गर्ने सोच छ,’ गिलिङमा एउटै होटलमा वास परेका बेला उनले आफ्नो योजना सुनाए ।
मौसमी पेशाको चुनौती र विदेश
भरियाको काम गर्ने रसुवाका २४ वर्षीय छिरिङ लामा कुवेत जाने तयारीमा छन् । उता भए कमाएको पैसा पठाइन्छ र बचत हुन्छ भन्ने उनको आशा छ । गरिरहेको पेशामा कमाइ राम्रो हुने हो भने पनि विदेश गइरहनु नपर्ने उनको धारणा छ । त्यसमाथि पर्यटन मौसमी पेशा भएका कारण यसबाट निरन्तर आम्दानी हुने अवस्था पनि छैन ।
तर, सोलुका बुद्धिबहादुर मगर भने भरिया पेशाको मौसमी चुनौती सामना गर्न वैकल्पिक पेशाका रूपमा वाल पेण्टिङ गर्छन् । पहिले केही वर्ष खाडी मुलुकमा काम गरेर आएका उनी काम गर्न खाडीभन्दा नेपाल धेरै राम्रो रहेको बताउँछन् ।
पहिले भारत तथा बङ्गलादेशमा काम गरेर फर्किएका भरियाको काम गर्ने रसुवाका ३२ वर्षीय मिङ्मा छिरिङ पनि अब नेपालमै बस्ने सोचमा छन् । ‘हिँड्न सकुञ्जेल यहीँ काम गर्छु,’ उनले निर्धक्कसाथ भने, ‘कमाइको करीब ७० प्रतिशत जोगिन्छ, यसबाटै यतै केही गर्ने तर विदेश चाहिँ जान्न ।’

Tuesday, November 6, 2018

रहस्यमय मुस्ताङ

मुस्ताङ (विशेषगरी उपल्लो) घुम्न आउने विदेशी पर्यटक उक्त क्षेत्रलाई रहस्यमय भूमि (मिष्टिक ल्याण्ड)का रूपमा व्याख्या गर्छन् । यहाँको भूगोल, रहनसहन, वेशभुषा, संस्कृति आदिका कारण यो क्षेत्र साँच्चै रहस्यमय छ । नेपालमा हिमाल उत्तरमा पर्छ । तर, यो जिल्लाको हिमाल उत्तरबाहेक बाँकी तीन दिशामा पर्छ ।
हिउँ पर्ने मौसममा पूरै उपल्लो मुस्ताङ हिउँले ढाकिन्छ । रूखविनाका नाङ्गा र अग्ला डाँडाहरूले बेग्लै भूगोलको कथा बताउँछन् । अझ, केही किलोमिटरपछि र एकै ठाउँबाट पनि फरक–फरक प्रकृतिका पहाडी संरचनाहरू देखिन्छन् । यस्तै अन्य केही विशेषताले यो क्षेत्र बाँकी दुनियाँबाट पृथक लाग्छ ।
बौद्ध संस्कृति
तिब्बती भाषा बोलिने यो क्षेत्रमा बुद्धधर्मको तिब्बती परम्परा र संस्कृति पाइन्छ । नेपालका अन्य भूभागमा एक गाउँ–एक मन्दिर भएझैं यो भेगमा एक गाउँमा कम्तीमा एक गुम्बा पाइन्छ । गुम्बामध्ये पनि धेरैमा रहस्यमय इतिहास भेटिन्छन् । माराङ गाउँमा पर्ने लोगेकार (घर) गुम्बा ८औं शताब्दीमा निर्मित तिब्बती बौद्ध परम्पराकै सबैभन्दा पुरानो गुम्बा मानिन्छ । पद्म सम्भव (गुरू रिन्पोचे)द्वारा बनाइएको यो गुम्बा तिब्बती बौद्ध संस्कृति मान्नेहरूका लागि ठूलो श्रद्धाको केन्द्र हो । यसको निर्माण भएपछि मात्रै तिब्बतकै पहिलो गुम्बा साम्येको निर्माण सम्भव भएको इतिहास चाखलाग्दो छ ।
जोमसोमको ठिनी गाउँमा रहेको कुछप तेरङ्गा, घमीमा रहेको सबैभन्दा लामो माने, एक–एकओटा मानव हात (पञ्जा मात्र) रहेका गिलिङ र चाराङका दुई गुम्बाका इतिहास पनि रहस्यमय छन् । रूखका नाममा भुइँमै टाँसिएका केही प्रजातिका काँडाहरू मात्र भेटिने उपल्लो मुस्ताङको लोमान्थाङमा १४औं शताब्दीमा निर्मित जाम्बा र थुब्चेन नामका दुई गुम्बामा प्रयोग भएका काठ अर्को आश्चर्य हुन् । यस्तो हिमाली मरूभूमिमा यी काठ कहाँबाट आए ? आश्चर्य ती त्यतिबेलाको स्थानीय काठ हुन्, स्थानीयका भनाइ छ । यतिका ठूला रूख हुने यस क्षेत्रमा आज जरासमेत नभेटिने गरी यहाँको भूगोलमा यस्तो परिवर्तन कसरी आयो होला त ?
जहाँ पानी, त्यहीँ कृषि र बस्ती
कृषिका लागि अनुपयुक्त लाग्ने जमिनमा पनि सिँचाइ मिलाइएको पहाडका फेदीहरूमा फापर, जौ, उवा, आलु, साग, काउली, बन्दाकोबीजस्ता केही अन्न र सागसब्जी फलाइएका भेटिन्छन् । खेतीयोग्य जमीनको एकापट्टि झुरूप्प पारेर बनाइएका घरहरू छन् । यी एकीकृत बस्तीको अवधारणाले बनेका प्रतीत हुन्छन् । यसरी बस्ती बस्नुको एउटा कारण सीमित क्षेत्रमा मात्रै बाली लाग्नु हो । अर्को कारणचाहिँ त्यहाँ चल्ने हावाबाट आफूलाई सुरक्षित राख्नु हो ।
मुस्ताङ जिल्ला अत्यधिक हावा चल्ने क्षेत्रमा पर्छ । बिहानको ११ बज्दा नबज्दै दक्षिण दिशाबाट उत्तरतर्फ वहन शुरू गर्ने हावा साँझ परिसक्दासम्म जोडतोडले चलिरहन्छ । झुरूप्प परेको बस्ती भएकाले हावाका कारण घरहरूमा पुग्ने क्षति रोक्न मद्दत पुगेको छ । र, यसरी बनेका यहाँका बस्तीभित्र प्रवेश गर्दा अर्कै संसारमा पुगेको अनुभूति हुन्छ । बस्तीभित्रै भेटिने गुम्बा तथा बाटो हिँड्दा दायाँ पारेर हिँड्न मिल्ने गरी दुईपट्टिको बाटोका बीचमा राखिएका माने र छोर्तेनले पर्यटकलाई अर्कै दुनियाँ पुगेको जस्तो लाग्छ । बस्तीभित्रै सयौंका सङ्ख्यामा हिँडिरहेका भेडा, च्याङ्ग्राका बथान तथा सामान बोकेर लम्किएका घोडाका लस्कर पनि यहाँका विशेषता हुन् ।
बेलैमा सोचौं
मुस्ताङलाई माटोको क्षेत्र र लोमान्थाङलाई माटोका पर्खालको शहर भनेर चिनिन्छ । काँचो माटोको इँटा वा ढुङ्गा अनि माटैको जोडाइले बनेका घर र पर्खाल मुस्ताङको मुख्य विशेषता हो । स्थानीय उपलब्धताका आधारमा परम्परागत रूपमा बनेका यस्ता संरचना पर्यटकहरूका लागि निकै आकर्षक पक्ष हुन् ।
पछिल्ला वर्षहरूमा यहाँ पानी बढी पर्न थालेको छ । पानीले माटोका यस्ता संरचनाहरू जोखीममा पर्न थालेका छन् । यसका कारण सक्षमहरूले क्रङ्क्रिटका संरचनाहरू निर्माण गर्न थालेका छन् । यो क्रम विशेषगरी लोमान्थाङमा तीव्र रूपमा अघि बढिरहेको छ । यसरी क्रङ्क्रिटका संरचना बनाउँदा कतै उक्त क्षेत्रको विशेषता नै मेटिने पो हो कि ? समयानुसार पनि चलिने विशेषता पनि नमेटिने गरी योजनाबद्ध रूपमै केही महत्त्वपूर्ण कदम चाल्नु अत्यन्त जरूरी छ ।

मुस्ताङमा पर्यटक पुग्नुको एक महत्त्वपूर्ण कारण त्यहाँको बौद्ध संस्कृति हो । सामान्यतया नेपालीहरूमा पुगेका ठाउँ सर्सर्ती हेरेर हिँड्ने चलन भए पनि विदेशीहरू देखेका हरेक कुराको भित्री रहस्यसम्म पुगेर जान्न चाहन्छन् । त्यसमा पनि पछिल्लो समयमा पश्चिममा बढ्दै गएको बुद्धधर्म र गुरू रिन्पोचेको प्रभावका कारण बौद्धमार्गी विदेशी पर्यटकका लागि त मुस्ताङ यात्रा, यात्रा मात्रै नभई तीर्थयात्रा पनि हो । बुद्धसँग सम्बन्धित विश्वका धेरै क्षेत्र घुमिसकेका र त्यहाँका गुम्बामा रहेका ससाना आकृति, सामग्री लगायतका बारेमा जानकारी लिएका विदेशी पर्यटक यहाँका गुम्बाका बारेमा पनि त्यसैगरी जानकारी लिन चाहँन्छन् । तीमध्ये कतिले यात्राबाट फर्किसकेपछि लेख लेख्ने, पुस्तक प्रकाशन गर्ने तथा कुनै विशेष सम्मेलनहरूमा वक्तव्य दिने पनि गर्छन् । यसर्थ उक्त क्षेत्रका गुम्बाहरूलाई जीवित राख्न कम्तीमा नियमित पूजा, अफरिङ गरिनुका साथै बुद्धधर्म र उक्त गुम्बाका बारेमा बताउन/बुझाउन सक्ने मानिसको व्यवस्था गरिनु आवश्यक छ ।
बेनी–जोमसोम–कोरला हाइवेका कारण लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । नेपालीहरूमा पदयात्राभन्दा गाडीयात्रा बढी रूचिकर भएका कारण आन्तरिक पर्यटनमा सकारात्मक भूमिका खेले पनि बाह्य पर्यटनमा भने यही हाइवेले असर पार्ने देखिएको छ । व्यवस्थित सडकहरूमा सुविधासम्पन्न गाडीमा यात्रा गरेर जीवन बिताएका विदेशी पर्यटक पृथक् जीवन बिताउन पदयात्रा (ट्रेकिङ)मा निस्कने हुन् । उनीहरू गाडीका आवाज र धूवाँधूलो मात्रै होइन, अनुहार पनि नदेखिने क्षेत्रमा केही दिन बिताउन चाहन्छन् । तर, उपल्लो मुस्ताङको पदयात्रा शुरू गरेको लगभग पूरै दिन (जोमसोमदेखि समरसम्म) र अर्को दिनको आधा (स्याङ्बोचेदेखि गिलिङसम्म) सडकै सडक हिँड्नुपर्ने बाध्यता छ । यसरी सडकबाट हिँड्दा गाडीले उडाउने धूलोले निकै दुःख दिन्छ । कुराकानीका क्रममा केही पर्यटकहरूले त सडकदेखि केही परै पर्ने गरी अर्को कुनै क्षेत्रबाट ट्रेकिङ ट्रेल नखोलिए आफूहरू पनि फेरी नआउने र अरूलाई पनि प्रोत्साहन नगर्ने बताए ।
पर्यटन विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा कम लागत पर्ने माध्यम हो । तर, हामीले देशको समृद्धिका लागि गरिरहेका विकासले यो क्षेत्रमा के कसरी असर पुर्‍याइरहेको छ भन्ने विषयमा सोच्न पर्यटकहरूको भनाइले बाध्य गराउँछ । सडक, विकासको आधार हो । तर, यसको निर्माणका क्रममा बहुपक्षीय रूपमा ध्यान दिन नसके देशले अपूरणीय क्षति भोग्नुपर्ने दिन आउनेछ ।
स्रोत : http://www.abhiyan.com.np/?p=290519