Tuesday, November 6, 2018

रहस्यमय मुस्ताङ

मुस्ताङ (विशेषगरी उपल्लो) घुम्न आउने विदेशी पर्यटक उक्त क्षेत्रलाई रहस्यमय भूमि (मिष्टिक ल्याण्ड)का रूपमा व्याख्या गर्छन् । यहाँको भूगोल, रहनसहन, वेशभुषा, संस्कृति आदिका कारण यो क्षेत्र साँच्चै रहस्यमय छ । नेपालमा हिमाल उत्तरमा पर्छ । तर, यो जिल्लाको हिमाल उत्तरबाहेक बाँकी तीन दिशामा पर्छ ।
हिउँ पर्ने मौसममा पूरै उपल्लो मुस्ताङ हिउँले ढाकिन्छ । रूखविनाका नाङ्गा र अग्ला डाँडाहरूले बेग्लै भूगोलको कथा बताउँछन् । अझ, केही किलोमिटरपछि र एकै ठाउँबाट पनि फरक–फरक प्रकृतिका पहाडी संरचनाहरू देखिन्छन् । यस्तै अन्य केही विशेषताले यो क्षेत्र बाँकी दुनियाँबाट पृथक लाग्छ ।
बौद्ध संस्कृति
तिब्बती भाषा बोलिने यो क्षेत्रमा बुद्धधर्मको तिब्बती परम्परा र संस्कृति पाइन्छ । नेपालका अन्य भूभागमा एक गाउँ–एक मन्दिर भएझैं यो भेगमा एक गाउँमा कम्तीमा एक गुम्बा पाइन्छ । गुम्बामध्ये पनि धेरैमा रहस्यमय इतिहास भेटिन्छन् । माराङ गाउँमा पर्ने लोगेकार (घर) गुम्बा ८औं शताब्दीमा निर्मित तिब्बती बौद्ध परम्पराकै सबैभन्दा पुरानो गुम्बा मानिन्छ । पद्म सम्भव (गुरू रिन्पोचे)द्वारा बनाइएको यो गुम्बा तिब्बती बौद्ध संस्कृति मान्नेहरूका लागि ठूलो श्रद्धाको केन्द्र हो । यसको निर्माण भएपछि मात्रै तिब्बतकै पहिलो गुम्बा साम्येको निर्माण सम्भव भएको इतिहास चाखलाग्दो छ ।
जोमसोमको ठिनी गाउँमा रहेको कुछप तेरङ्गा, घमीमा रहेको सबैभन्दा लामो माने, एक–एकओटा मानव हात (पञ्जा मात्र) रहेका गिलिङ र चाराङका दुई गुम्बाका इतिहास पनि रहस्यमय छन् । रूखका नाममा भुइँमै टाँसिएका केही प्रजातिका काँडाहरू मात्र भेटिने उपल्लो मुस्ताङको लोमान्थाङमा १४औं शताब्दीमा निर्मित जाम्बा र थुब्चेन नामका दुई गुम्बामा प्रयोग भएका काठ अर्को आश्चर्य हुन् । यस्तो हिमाली मरूभूमिमा यी काठ कहाँबाट आए ? आश्चर्य ती त्यतिबेलाको स्थानीय काठ हुन्, स्थानीयका भनाइ छ । यतिका ठूला रूख हुने यस क्षेत्रमा आज जरासमेत नभेटिने गरी यहाँको भूगोलमा यस्तो परिवर्तन कसरी आयो होला त ?
जहाँ पानी, त्यहीँ कृषि र बस्ती
कृषिका लागि अनुपयुक्त लाग्ने जमिनमा पनि सिँचाइ मिलाइएको पहाडका फेदीहरूमा फापर, जौ, उवा, आलु, साग, काउली, बन्दाकोबीजस्ता केही अन्न र सागसब्जी फलाइएका भेटिन्छन् । खेतीयोग्य जमीनको एकापट्टि झुरूप्प पारेर बनाइएका घरहरू छन् । यी एकीकृत बस्तीको अवधारणाले बनेका प्रतीत हुन्छन् । यसरी बस्ती बस्नुको एउटा कारण सीमित क्षेत्रमा मात्रै बाली लाग्नु हो । अर्को कारणचाहिँ त्यहाँ चल्ने हावाबाट आफूलाई सुरक्षित राख्नु हो ।
मुस्ताङ जिल्ला अत्यधिक हावा चल्ने क्षेत्रमा पर्छ । बिहानको ११ बज्दा नबज्दै दक्षिण दिशाबाट उत्तरतर्फ वहन शुरू गर्ने हावा साँझ परिसक्दासम्म जोडतोडले चलिरहन्छ । झुरूप्प परेको बस्ती भएकाले हावाका कारण घरहरूमा पुग्ने क्षति रोक्न मद्दत पुगेको छ । र, यसरी बनेका यहाँका बस्तीभित्र प्रवेश गर्दा अर्कै संसारमा पुगेको अनुभूति हुन्छ । बस्तीभित्रै भेटिने गुम्बा तथा बाटो हिँड्दा दायाँ पारेर हिँड्न मिल्ने गरी दुईपट्टिको बाटोका बीचमा राखिएका माने र छोर्तेनले पर्यटकलाई अर्कै दुनियाँ पुगेको जस्तो लाग्छ । बस्तीभित्रै सयौंका सङ्ख्यामा हिँडिरहेका भेडा, च्याङ्ग्राका बथान तथा सामान बोकेर लम्किएका घोडाका लस्कर पनि यहाँका विशेषता हुन् ।
बेलैमा सोचौं
मुस्ताङलाई माटोको क्षेत्र र लोमान्थाङलाई माटोका पर्खालको शहर भनेर चिनिन्छ । काँचो माटोको इँटा वा ढुङ्गा अनि माटैको जोडाइले बनेका घर र पर्खाल मुस्ताङको मुख्य विशेषता हो । स्थानीय उपलब्धताका आधारमा परम्परागत रूपमा बनेका यस्ता संरचना पर्यटकहरूका लागि निकै आकर्षक पक्ष हुन् ।
पछिल्ला वर्षहरूमा यहाँ पानी बढी पर्न थालेको छ । पानीले माटोका यस्ता संरचनाहरू जोखीममा पर्न थालेका छन् । यसका कारण सक्षमहरूले क्रङ्क्रिटका संरचनाहरू निर्माण गर्न थालेका छन् । यो क्रम विशेषगरी लोमान्थाङमा तीव्र रूपमा अघि बढिरहेको छ । यसरी क्रङ्क्रिटका संरचना बनाउँदा कतै उक्त क्षेत्रको विशेषता नै मेटिने पो हो कि ? समयानुसार पनि चलिने विशेषता पनि नमेटिने गरी योजनाबद्ध रूपमै केही महत्त्वपूर्ण कदम चाल्नु अत्यन्त जरूरी छ ।

मुस्ताङमा पर्यटक पुग्नुको एक महत्त्वपूर्ण कारण त्यहाँको बौद्ध संस्कृति हो । सामान्यतया नेपालीहरूमा पुगेका ठाउँ सर्सर्ती हेरेर हिँड्ने चलन भए पनि विदेशीहरू देखेका हरेक कुराको भित्री रहस्यसम्म पुगेर जान्न चाहन्छन् । त्यसमा पनि पछिल्लो समयमा पश्चिममा बढ्दै गएको बुद्धधर्म र गुरू रिन्पोचेको प्रभावका कारण बौद्धमार्गी विदेशी पर्यटकका लागि त मुस्ताङ यात्रा, यात्रा मात्रै नभई तीर्थयात्रा पनि हो । बुद्धसँग सम्बन्धित विश्वका धेरै क्षेत्र घुमिसकेका र त्यहाँका गुम्बामा रहेका ससाना आकृति, सामग्री लगायतका बारेमा जानकारी लिएका विदेशी पर्यटक यहाँका गुम्बाका बारेमा पनि त्यसैगरी जानकारी लिन चाहँन्छन् । तीमध्ये कतिले यात्राबाट फर्किसकेपछि लेख लेख्ने, पुस्तक प्रकाशन गर्ने तथा कुनै विशेष सम्मेलनहरूमा वक्तव्य दिने पनि गर्छन् । यसर्थ उक्त क्षेत्रका गुम्बाहरूलाई जीवित राख्न कम्तीमा नियमित पूजा, अफरिङ गरिनुका साथै बुद्धधर्म र उक्त गुम्बाका बारेमा बताउन/बुझाउन सक्ने मानिसको व्यवस्था गरिनु आवश्यक छ ।
बेनी–जोमसोम–कोरला हाइवेका कारण लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । नेपालीहरूमा पदयात्राभन्दा गाडीयात्रा बढी रूचिकर भएका कारण आन्तरिक पर्यटनमा सकारात्मक भूमिका खेले पनि बाह्य पर्यटनमा भने यही हाइवेले असर पार्ने देखिएको छ । व्यवस्थित सडकहरूमा सुविधासम्पन्न गाडीमा यात्रा गरेर जीवन बिताएका विदेशी पर्यटक पृथक् जीवन बिताउन पदयात्रा (ट्रेकिङ)मा निस्कने हुन् । उनीहरू गाडीका आवाज र धूवाँधूलो मात्रै होइन, अनुहार पनि नदेखिने क्षेत्रमा केही दिन बिताउन चाहन्छन् । तर, उपल्लो मुस्ताङको पदयात्रा शुरू गरेको लगभग पूरै दिन (जोमसोमदेखि समरसम्म) र अर्को दिनको आधा (स्याङ्बोचेदेखि गिलिङसम्म) सडकै सडक हिँड्नुपर्ने बाध्यता छ । यसरी सडकबाट हिँड्दा गाडीले उडाउने धूलोले निकै दुःख दिन्छ । कुराकानीका क्रममा केही पर्यटकहरूले त सडकदेखि केही परै पर्ने गरी अर्को कुनै क्षेत्रबाट ट्रेकिङ ट्रेल नखोलिए आफूहरू पनि फेरी नआउने र अरूलाई पनि प्रोत्साहन नगर्ने बताए ।
पर्यटन विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा कम लागत पर्ने माध्यम हो । तर, हामीले देशको समृद्धिका लागि गरिरहेका विकासले यो क्षेत्रमा के कसरी असर पुर्‍याइरहेको छ भन्ने विषयमा सोच्न पर्यटकहरूको भनाइले बाध्य गराउँछ । सडक, विकासको आधार हो । तर, यसको निर्माणका क्रममा बहुपक्षीय रूपमा ध्यान दिन नसके देशले अपूरणीय क्षति भोग्नुपर्ने दिन आउनेछ ।
स्रोत : http://www.abhiyan.com.np/?p=290519

No comments:

Post a Comment