Saturday, July 21, 2018

मर्न छोडिदेऊ कसरी भन्नु ?

फेसबुकबाट सहयोगका लागि गरिएको आह्वानले काम गरेको थियो । अस्पतालमै पुगेर सहयोग राशी प्रदान गरेका तस्वीर र खबरहरू आउन थालेका थिए । म भने कहिले विदाको दिन आउला र केही साथीहरूका साथै आफ्नो सहयोग राशी पु¥याउला जाउँला भन्ने पर्खाइमा थिएँ । आफ्नो कामको तालिका व्यवस्थापन गर्दै जसै नेपाल मेडिकल कलेज पुगें, कतै डिस्चार्ज भएर पो गइसके कि भन्ने आशंका उब्जियो । प्रसुतीपछि राखिने वार्डको ढोकामा उभिएकी सुरक्षाकर्मीले १८ वर्षे प्रसुती रोजिना तामाङ यहीँ छिन् भन्ने थाहा पाएपछि ढुक्क भयो । उनी आफ्ना जुम्ल्याहा बच्चा राखिएको एनआईसियुमा रहिछिन् । डाक्टरको अनुमतीले मैले पनि प्रवेश पाएँ ।
डाक्टरको कुराबाट ३० हप्तामा जन्मिएका जुम्ल्याहामध्ये एउटाको प्लेटलेट १२ हजार र अर्कोको ७७ हजार रहेको र हुनुपर्ने २ लाख भन्ने जानकारी पाएँ । १२ हजार प्लेटलेट भएको बच्चाको नाक, मुखबाट रगत आइरहेको र जुनसुकै बेला शरीरको जुनसुकै भाग पनि फुटेर रगत बगी मृत्यु हुनसक्ने, यस्तो केसमा रगत दिएर भेण्टिलेटरमा राखे पनि बाँच्ने सम्भावना एक हजारमा एउटा हुने उनीहरू बताइरहेका थिए । हिजै रगत ल्याउन अह्राएको भए पनि रगत नल्याइदिएकाले बच्चा नीलो हुँदै गएको र अवस्था झनै जटिल बन्दै गएकोले उसलाई भेण्टिलेटरमा राखेर केही थप समय दुःख दिन चाहँनुहुन्छ कि बरू रहुञ्जेल आईसियुमा रहन्छ नरहे माया मार्ने भन्ने सवालसहित सही छापका लागि सुत्केरीलाई पत्र दिइएको रहेछ ।
जसै म पुगें र उनलाई सहयोग गर्न फेसबुकबाट आह्वान गरेको बताएँ, उनीहरू मेरो सहमती खोजे झैं मलाई बुझाउन थाले । केवल आमा र सायद बहिनीको सहारामा अस्पताल बसिरहेकी रोजिना के गर्ने नगर्ने अन्यौलमा थिइन् । कच्चा उमेर, आमा बन्ने परिपक्वता नआइसकेको मानसिकता, उनी बच्चा जन्मिएदेखि नै बरू चाँडै अस्पतालबाट उम्किएर घर जान खोजिरहेकी थिइन् ।
हिजो मात्रै पनि श्रीमानले फोन गरेर घर आइज भनेर धम्कि दिएकोले दुबै बच्चा डिस्चार्ज गरी उनीहरू हिँड्नै लागिसकेका रहेछन् । त्यो संवेदनशील अवस्थामा रहेका बच्चा अस्पतालको प्रकृया नसकिँसम्म दुई घण्टा आईसियु बाहिर रहेछन् । पछि के कारणले हो सोच परिवर्तन गरी अस्पतालमै बस्ने भनेपछि अस्पतालले पुनः भर्ना गरेर राखेछ । उनीहरूको यो लापरवाहीले पनि बच्चाहरू थप जोखिममा परेको भन्दै डाक्टरहरू आक्रोस व्यक्त गरिरहेका थिए ।
कुराको क्रममा बारबार अवस्था जटिल बन्दै गएको बच्चाको सम्बन्धमा निर्णय गर्न डाक्टरहरू भन्दै थिए । उनीहरू सुत्केरी र उनकी आमाबाट जवाफ खोजिरहेका थिए । सुत्केरी र उनकी आमा मबाट निर्णय सुन्न चाहिरहेका थिए । सायद यसले ‘म लागेको खर्च जुटाउँछु,’ भने बचाउँन पाए हुन्थ्यो भन्ने सोच्दै थिए वा हामीले सही गरिदिँदा यसले पो नराम्रो सोच्ने हो कि भन्ने सोच्दै थिए, उनीहरू नै जानुन् । डाक्टरको रिपोर्टले आश मार्नुपर्ने देखाउँछ, सास छउञ्जेल आश मार्नु पनि कसरी ? म केही बोल्नै सकिरहेकी थिइनँ । लगभग २ मिनेटसम्म कोही केही बोलेन, केवल सन्नाटा छायो त्यो कोठाभरी । ‘के म बच्चा हेर्न सक्छु ?’ बच्चाको स्थिति हेरेर केही सहज बनाइदिन सकिन्छ कि भन्ने आशले सन्नाटा तोड्दै मैले सोधें । डाक्टरहरूको अनुमती पाएपछि म भित्र गएँ । मुट्ठिमा अट्ने आकारका नानीका नाकबाट नि पाइप छिराइएको, नाडीमा सुइबाट पानीसँगै पोषण तत्व दिइएको छ, छातीको गतिले मात्रै जिवित रहेको थाहा हुन्छ ।
डाक्टरले भने जस्तै एउटा बच्चाको नाक र मुखबाट आएको रगत गालातिर लत्पतिएको र शरीर पूरै नीलो हुँदै गएको छ । तर पनि स्वास चलिरहेको अवस्थाको एउटा जीवन मर्नका लागि छोडिदेऊ कसरी भन्नु ?, मसँग वाक्य रहेन । सोचें, ‘यो मेरै बच्चा हुन्थ्यो भने म के निर्णय लिन्थें हुँला ?’ अनि डाक्टरहरूलाई पैसाकै मात्रै कारणले चाहीँ नछोड्नु होला, फेरी पनि फेसबुकबाट आह्वान गरेर जुटाउँला, यदि कारण पैसा होइन भने मेडिकल साइन्सको इथिक्सअनुसार गर्नुहोला भनेर अनि सुत्केरी र उनकी आमालाई पैसाको दुरुपयोग नगर्न भनेर निस्किएँ ।
(यो पोष्ट गर्नु केहीबेर अघि मात्रै जटिल अवस्थामा भएको बच्चा नरहेको खबर आयो)