Monday, December 24, 2012

त्रिविमाथिको समालोचनात्मक नजर



त्रिभुवन विश्वविद्यालय सरकारको मातहतमा रहेको देशको एक मात्र विश्वविद्यालय । जसको प्रमाणपत्रले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा नीजि विश्वविद्यालयहरुको प्रमाणपत्रले भन्दा सहज मान्यता प्राप्त गर्दछन् ।

नीजि विश्वविद्यालयहरुको महंगो शुल्क तिरेर पढाउन नसक्ने नागरिकका सन्तानले पनि उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् । गाउँ गाउँसम्म नभए पनि कम्तिमा सदरमुकामहरुमा आफ्नो सम्बन्धनमा कलेजहरुलाई अनुमति दिनाले युवाहरुलाई स्थानीय सहरहरुमै शिक्षा लिने र कम्तिमा अध्ययन नसकिउञ्जेलका लागि सोही ठाउँमा सानोतिनै पेशा व्यवसायमै भए पनि सक्रिय रहेर सो क्षेत्रको पेसा, व्यवसाय र बौद्धिक गतिशिलतालाई टेवा पुर्याउन मद्दत मिलेकोछ ।

यसकासाथै कम शुल्कको शिक्षा लिने अवसरका कारण जेहेन्दारहरुले राम्रा अवसरका चुचुरासम्म पुग्ने साँघु पाएका छन् । जेहेन्दार नै नभए पनि शिक्षाको राष्ट्रिय तथ्यांकमा उच्च शिक्षा प्रतिशतमा अंक थप्न मद्दत मिलेको छ ।

शिक्षा, रोजगारी र बौद्धिक जनशक्ति उत्पादनमा यत्रो योगदान पुर्याइरहेको त्रिभुवन विश्वविद्यालय र यससँग जोडिएर बेलाबेलामा बाहिर आउने नकारात्मक प्रसंगहरुले भने यसको साख गिराइरहेका छन् ।

विश्वविद्यालय परिसरभित्रै रहेका स्टेशनरीमा जेहेन्दार विद्यार्थीको नोट, चिट, थेसिस लगायतका वस्तु बिक्रिमा, थेसिस बेच्ने व्यक्तिको सम्पर्क नम्बर सहितको सूचना विश्वविद्यालय परिसरमा टाँसिएको, आफ्ना विद्यार्थीहरुको नतिजा राम्रो देखाउन आन्तरिक परिक्षाहरुमा सोधिएका वा कक्षामा पढाउँदा महत्वपूर्ण भनेर तोकिएका प्रश्न वा एकाइ वार्षिक परिक्षामा सोधिने जस्ता प्रसंगसँगै आन्तरिक परिक्षामा सोधिएकै प्रश्नपत्र वार्षिक परिक्षामा सोधिएको प्रसंग त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पछिल्लो लापरवाहीको ठूलो प्रमाण हो ।

कतिपय देशमा सरकारी विश्वविद्यालयमा पढ्नका लागि विद्यार्थीको लगनशिलता, क्षमता साथै सम्भावनाहरु हेरिन्छ, सिमित कोटामा पढाइन्छ । जसले गर्दा त्यस्ता देशमा विद्यार्थीले सरकारी विश्वविद्यालयमा पढ्न पाउनु निकै महत्वको विषय हुन्छ ।

सरकारी विश्वविद्यालयमा पढ्न मात्र होइन पढाउन पाउनु पनि गर्वको कुरा हुन्छ उदाहरणका रुपमा अमेरिकाका पूर्वराष्ट्रपति बिलक्लिन्टन आफ्नो कार्यकालको समाप्तीपछि प्राध्यापनमा लागे ।  यस्ता देशहरुमा सरकारी विश्वविद्यालयमा चानचुने तालले पढाउन पाइँदा पनि पाइँदैन । तर हाम्रोमा न पढ्नेको गुणस्तरियताको मतलव छ न त पढाउनेको ।

अन्य सरकारी कार्यालयहरुमा झैं त्रिभुवन विश्वविद्यालय र यस मातहतका क्याम्पसहरुमा शिक्षकहरुको बढ्दो राजनीतिक नियुक्तिले बेरोजगारहरुलाई जागिर त मिलेको होला तर राजनीति नगरी आफ्नो प्राध्यापकीय कौशलका आधारमा काम गर्छु, काम गरेपछि मूल्यांकन त स्वतः भइहाल्छ नि भन्ने प्राध्यापकहरु र राम्रो पढाउने शिक्षकको प्राध्यापन र मार्गदर्शनमा गुणस्तरिय शिक्षा र ज्ञान आर्जन गर्छु भन्ने विद्यार्थीहरु दुबैमा नराम्रो मार परेकोछ ।

अघिल्लो वर्ष लेखक स्वयं त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त राजधानीमा रहेको एक कलेजमा समाजशास्त्रतर्फ स्नातकोत्तरको पहिलो वर्ष अध्ययन गर्ने क्रममा पढाइ हुने पाँच वटा पेपरका शिक्षक १४ जना थिए भने यो वर्ष दोस्रो वर्षको चार पेपर पढाउने शिक्षक १६ जना ।

हुँदा हुँदा एक शिक्षक बराबर एक एकाइ पनि नपुगेर एकै एकाइ पनि दुई, तीन शिक्षकले बाँढेर समेत पढाए । त्यसमा पनि विषयविज्ञहरुले नै पढाएको भए पनि त लौ भन्नु । पढाउन थालेको छैन आफूले गोल्ड मेडल ल्याएको धाक लगाउँदै “यो कामले त मेरो पकेट खर्च पनि हुँदैन”, “यति समयमा कलेजले यो नदिए त पढाउनै छोडिदिन्छु”, “खान नपाएर यहाँ आएको हो र ?”  भन्ने जस्ता अभिव्यक्ति दिनेसम्मका शिक्षक भनिनेहरुलाई झेलियो ।

यस्ता टापटिपे शिक्षक नियुक्तिका कारण प्राध्यापनमै जीवन व्यति गर्न चाहँने प्राध्यापकहरु पनि एक दुई पिरियड पढाएर धित् मेट्दै अन्यत्र काम खोज्न बाध्य छन् । जसका कारण उच्चशिक्षाको पनि उपल्लो स्तरको स्नातकोत्तरका विद्यार्थीहरुलाई पढाउन गर्नुपर्ने गृहकार्य गर्न प्राध्यापकहरुले समय कसरी मिलाउने ? कस्तो शिक्षा दिने ? र कस्तो जनशक्ति उत्पादन हुने ? भन्ने कुराको अनुमान यहीँबाट लगाउन सकिन्छ ।

जमाना दिन प्रतिदिन प्रतिष्पर्धात्मक बन्दैछ । व्यवहारिक शिक्षाको आवश्यकता भइसक्यो । तर अध्यापनको शैली भने पुराण वाचन पाराको छ । स्नातकोत्तरको अध्ययनपछि त त्यो जनशक्ति मैदानमा उत्रिएर काम गर्नुपर्छ ।

त्यसकालागि सैद्धान्तिक ज्ञान मात्रै दिनु भनेको बगरमा घोप्टे पारेर पौडी खेल्न सिकाउनु जस्तै हो । हातखुट्टा कसरी चाल्ने, कत्तिको पानीको धार कसरी काट्ने, कस्तो ठाउँमा डाइभ हान्ने त खोलामै पसेर अभ्यास नगरी थाहा हुन्न भने जिन्दगीको बाढीमा पस्ने अवस्थामा पुगेको मान्छेलाई एक पटक नि पौडी नखेलाई धकेलिदिए के होला ?

सकेसम्म प्रत्येक एकाइमा प्रयोगात्मक सिकाइ गराउनु साटो दुई वर्ष अघिसम्म समाजशास्त्र विषयमा स्नातकोत्तरको प्रथम वर्षमा रहेको २० नम्बरको असाइन्मेण्ट समेत खारेज गरी बिना अभ्यास बाढीमा धकेल्ने काम गर्दैछ त्रिभुवन विश्वविद्यालय ।

 सुन्नमा आएको छ, असाइन्मेण्टमा नम्बर दिने सवालमा रकमको कारोबार र नातागोतावाद चल्यो रे । ए बाबा ! यो त घरभित्र छिर्दा ढोकामा टाउको ठोक्कियो भनेर ढोका अग्ल्याउनु वा निहुरिएर हिँड्नु साटो ढोकै उखलेर फ्याँके जस्तो भएन र ?

समाजशास्त्र विषय हरेक संकायमा एक पेपर अध्यापन गराउन सके उत्पादित जनशक्तिले आफू र आफ्नो परिवेश साथै विश्व समाजलाई बुझ्ने मौका पाउँछ । सुन्नमा आएको छ, माध्यमिक तह र उच्च माध्यमिक तहका मानविकी बाहेक अन्य संकायमा पनि यो विषय पठन पाठन सुरुभएको छ रे ।

खुसीको कुरा हो । सात वर्षसम्म यो विषय अध्ययन गरिसकेपछि आफूले गरेका अनुभव र समयानुसारको आवश्यकतालाई मध्य नजर गर्दै यो विषयको पाठ्यक्रम साथै परिक्षण प्रणलिमा गर्नुपर्ने सुधारका सवालमा केही सुझावहरु दिन मन लागेकोछ ।

त्यसमध्ये के कति उपयुक्त, के कति अनुपयुक्त, कुन कुन तत्काल कार्यान्वयन गर्न सकिने र कुन कुन कति समयपछि गर्न सकिने छुट्याउने जिम्मा सम्बन्धित निकायका विद्वत वर्ग र सरोकारवाला निकायहरुको ।
सुझावहरुः

समाजशास्त्रको स्नातकोत्तर तहमा भद्दा स्वरुप र अधिक संख्यामा रहेका महंगा कम्पेण्डियम बाहेक त्रिविको आफ्नै किताब छैन । यसले गर्दा किताब निकाल्नेलाई कमाउने धन्दा र विद्यार्थीलाई कुन पढ्ने भन्ने अन्यौल छ । जबसम्म व्यक्तिगत रुपमा पाठ्यक्रम अन्तरगतका किताब निकाल्न पाउने व्यवस्थालाई अन्त्य गरेर त्रिवि आफैंले किताब निकाल्दैन तबसम्म नेपाली समाजशास्त्रीहरुको स्थानीय वा विश्व स्तरका खोजमूलक लेख, पुस्तकको संख्यात्मक र गुणात्मक विकास हुन सक्दैन ।

यस्तो अवस्थामा नव औपनिवेशिक स्वार्थबाट संचालित नियोगका विषयविज्ञहरुले गरेका खोज, अनुसन्धानका लेख र पुस्तकहरुलाई नै नेपाली समाज र संस्कृतिको आधिकारिक र सर्वमान्य सामग्री मानिरहँनु पर्ने बाध्यता रहिरहन्छ ।

यो जमाना प्रविधिको हो । आजको प्रविधि र पुस्ताको जीवननशैली क्यासेट, सिडि र डिभिडि छोडेर पेनड्राइभ, मोबाइल र आइफोनमा पुगिसक्यो । तर हाम्रो शिक्षा प्रणाली भने सेतो पानामा एकै रंग, कालो रंगका अक्षरै अक्षरको लामा लामा अनुच्छेद, अक्षर बाहेक आक्कल झुक्कल तालिका र रेखाचित्र । जहाँ विषयवस्तु र सन्दर्भलाई बुझ्न र स्मृतिमा राख्न मद्दत गर्ने केही कुरा छैनन् । भएको वेबसाइट पनि विद्यार्थी मैत्री छैन ।

सिधै मकै भन्दा नखाने मान्छेलाई फूलफूल छानेर पपकर्न भनेर ख्वाउन सकिन्छ भने, चपाएर खान नसक्नेलाई कर्नफ्लेक्स बनाएर दूधसँग लुपुलुपु खानसक्ने बनाउन सकिन्छ भने, फरक स्वादमा खान खोज्नेलाई कुर्कुरे बनाएर ख्वाउन सकिन्छ भने, पाठ्यक्रमलाई विद्यार्थीको रुची र सहजता अनुकुल किन बनाउन सकिन्न ?

 जस्तो कि सैद्धान्तिक पाटोले समेटेका ऐतिहासिक विकासक्रमलाई डकुमेण्ट्री फिल्म बनाइदिनु, अनुसन्धान पद्धतिको भिडियो गेम बनाइदिनु, समाजशास्त्री मानवशास्त्रीहरुको नाम र योगदानको गीत बनाइदिनु, टिसर्टमा प्रिन्ट गराइदिनु ।

यस्ता काम त्रिवि एक्लैले भन्दा पनि त्रिविको संयोजनमा सम्बन्धित उत्पादकहरुद्वारा गराउन सकिन्छ । होइन अहिले त्यो गर्न सकिँदैन भने पनि कम्तिमा पाठ्य सामग्रीसँग सम्बन्धित गुगल मार्फत् भेट्न सकिने अडियो, भिजुअलको लिंक किताब र वेबसाइटमा राख्ने मात्रै काम गरे पनि केही सहुलियत हुन्छ ।

राम्रा अनुसन्धान गर्न आर्थिक स्रोत जुटाउन र तयार गरिएका थेसिस वा अनुसन्धानहरु सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका आवश्यक तथ्यांकका रुपमा प्रयोग गर्ने वातावरण मिलाउन सके एकातिर त्यस्ता निकायले लाखौं लगानी गरेर कन्सल्ट्याण्ट खटाउनु पर्ने आर्थिक बोझ कम हुन्छ भने अर्कोतिर कलेजको थेसिस तयार गर्दा पैसा पनि कमाइने भएपछि थेसिस किन्नेको संख्या घटी मैदानमा निस्किएर अनुसन्धान गर्ने क्रमको विकास हुन्छ । यस विषयमा त्रिविसँगै सम्बन्धित सरकारी तथा गैरसरकारी निकायले पनि सोच्ने हो कि ?

यी त भए पठनपाठनसँग सम्बन्धित कुरा । अब परिक्षा प्रणालीका बारेमा कुरा गरौं ।

सुँगा रटाए जस्तो पढाएर भेडाबाख्रा थुने जस्तो तीन वा चार घण्टा एउटा कोठामा थुनेर सिमित प्रश्नहरु दिएर “हगे हग, मुते काट्छु” भन्ने उखान झैं तरिका अपनाएर गरिने मूल्यांकनको नतिजालाई नै उक्त तहको सफलताको प्रमाण मान्ने प्रणाली अहिलेको सन्दर्भमा उपयुक्त छैन ।

यो प्रणाली गुरुकुलीय पण्डितीय पठनपाठन पद्दतीकालागि हो भने ठिक छ, जहाँ उस्को काम नै घोक्ने र पेशा नै ओकल्ने (पुरेत्याईँ, पण्डित्याईँ) बाहेक केही हुँदैन । तर अहिलेको शिक्षाका विषयहरुले निर्धारण गर्ने पेशा ओकल्ने खालका ( पुरेत्याईँ, पण्डित्याईँ) नभई किताबका मार्गदर्शन पछ्याउँदै हिंड्ने, लड्ने, उठ्ने र होसियारी पूर्वक हिंड्नु पर्ने खालका हुने भएका कारणले परिक्षण प्रणाली नै परिवर्तन गर्नुपर्दछ ।

होइन भने पनि थोरै प्रतिशत सैद्धान्तिक परिक्षण र धेरै प्रतिशत व्यवहारिक दक्षताको मूल्यांकन हुनेगरी परिक्षण गर्नुपर्दछ । जसकालागि पठनपाठन व्यवहारिक रुपमा दक्ष बनाउने गरी नै हुनुपर्दछ ।

परिक्षा पनि नुन, बालुवा र मट्टितेल एउटै ट्रकमा ल्याएर घोप्ट्याए जस्तो एकैचोटी पढेर सबैको एकैचोटी परिक्षा लिनु साटो एक एक वटाको सेमेस्टर पद्धतिबाट परिक्षा लिए एउटा विषयको प्रसंग अर्को विषयमा गनाउँदैन र एउटा विषयको ओसले अर्को विषय पग्लिँदैन ।

पश्चिमले आफ्ना भाषा, संस्कृतिलाई सर्वोपरि बनाएर नव उपनिवेशवाद लादिरहेको प्रसंग पढाइने समाजशास्त्र विषयको परिक्षामा तयार गरिने प्रश्नपत्र अंग्रेजीमा मात्र छापिनुले एकातर्फ ज्ञानदाता आफैंले सिकाइ एकातिर व्यवहार अर्कोतिर गर्न सिकाइरहेको छ भने गाह्रा शब्द र घुमाउरा प्रश्न संरचना नेपाली माध्यमबाट आएका र नेपालीमै पढ्ने लेख्ने विद्यार्थीका लागि अनुत्तिर्ण बनाउने एउटा कारक हो ।

 त्यसैले अंग्रेजीसँगै नेपालीमा पनि प्रश्न छाप्नु आवश्यक छ । होइन, यो तहमा आइपुगेका विद्यार्थीले अंग्रेजीमा नै बुझेर जवाफ लेख्नुपर्छ भन्ने हो भने नव उपनिवेशका पहिलो तहका दास विश्वविद्यालयको विद्वत जमात नै रहेछ भनेर बुझ्दा हुने भो ।

समाजशास्त्र÷मानवशास्त्र सैद्धान्तिक विषय भएकाले प्रश्नले खोजे जस्तो जवाफ पूर्ण रुपमा विद्यार्थीले दिन नसक्दा धेरै नम्बर नआउनु स्वाभाविक होला तर एउटा कलेजका एक ब्याचका सबै विद्यार्थीको नम्बर दुई शुन्यान्तभित्र पर्नेगरी आउनु, पुनः हेरनबाट उत्तिर्ण हुनु जस्ता कुराले कपी जाँच र नम्बर दिने सवालमा भइरहेको लापरवाहीलाई प्रष्ट्याउने भएकाले घरमा कपी जाँच्ने व्यवस्थाको अन्त्य गरी हरेक जिल्लामा निश्चित जाँचक संख्यालाई पायक पर्नेगरी सिसिटिभिको व्यवस्था सहित स्थान तोकेर परिक्षण गरिनु पर्ने ।

सैद्धान्तिक विषयमा राम्रो नम्बर नआउनुको एक कारण लेख्ने विद्यार्थीको जवाफमा झल्किएको दृष्टिकोण र जाँच्ने मान्छेको दृष्टिकोण नमिल्नु पनि एक मानवीय प्रवृत्तिले निम्त्याउने समस्या हो । यसको नियन्त्रणका लागि दुई वा तीन तहको परिक्षणपछि मात्रै अन्तिम नम्बर जोड्ने व्यवस्था गरिनुपर्ने ।

प्रतिदिन, प्रति जाँचक निश्चित संख्याको मात्रै कपी जाँच्न पाउने व्यवस्था हुनुपर्ने । पैसा कमाउने लोभमा जति पनि जाँच्ने वा हतारमा छिट्टै सक्ने अवस्थाले नतिजामा प्रभाव पार्दछ ।

यसका साथै विद्यार्थी राजनीति कलेज र विद्यालय सुधारका पक्षमा लक्षित हुनु साटो राजनीतिक दलहरुकालागि फौज जुटाउने काममा बढी लक्षित भएका कारण पनि विश्वविद्यालय र शिक्षा प्रणालीभित्रका कमी कमजोरी सुधार हुन नसकेको हुँदा विद्यार्थी संगठनहरु पनि यस तर्फ सचेत हुनुपर्छ ।

हुन त त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र÷मानवशास्त्र विभागको स्थापना भएकै पनि जम्माजम्मी ३१ वर्ष भयो । यसबीचमा डा. चैतन्य मिश्र, डा. पदमलाल देबकोटा, डा. ओम गुरुङ्, डा. कृष्ण भट्टचन, डा. रामबहादुर क्षेत्री र फणीन्द्रेश्वर पौड्याल जस्ता यस विषयका थालनीकर्ताहरुको समूह साथै त्यसपछि पनि देश विदेशबाट शिक्षा हासिल गरी सेवारत विज्ञ एवं प्राध्यापकहरुले यो विषयलाई यति चाँडै यो अवस्थासम्म ल्याइ पुर्याउन खेलेको भूमिका अतिनै राम्रो र सरहानीय छ ।

 माथि नै पनि  उल्लेख गरिसकिएको छ कि सम्भव हुनेसम्मका कुरा लागू गर्ने प्रयास गरियोस् भनेर ।

समग्रमा, समयानुकुल र व्यवहारिक शिक्षाले मात्रै उपयुक्त प्रतिफल दिनसक्छ अन्यथा डिग्रीको प्रमाणपत्र  सिरानीमुनी राखेर शिक्षित युवा खाडिको तातो घाममा विदेशीको गुलाम बन्न जानुपर्ने अवस्था निर्माण हुँदै जाने र यसले विस्तारै युवामा शिक्षाप्रति नै अलगाव बढ्दै जाने स्थिति निम्त्याउनेछ ।

Please watch my song and provide your valuable comments. To watch, please click in below blue box.


Monday, May 14, 2012

गजल


नजर फेरिँदै जान्छन् समय बित्दै जाँदा 
सफर फेरिँदै जान्छन् समय बित्दै जाँदा 

नभन्नु म यस्तै रहन्छु सधैंभरी नै 
रहर फेरिँदै जान्छन् समय बित्दै जाँदा 

अर्काकाँ त खोलो पस्या हो नि भनेर नहाँस्नु 
बगर फेरिँदै जान्छन् समय बित्दै जाँदा 

एक वसन्तमै जुनी कहाँ सकिन्छ र ?
लहर फेरिँदै जान्छन् समय बित्दै जाँदा

अस्ति हजुर, हिजो तपाईँ, आज तिमी, भोलि तँ
कदर फेरिँदै जान्छन् समय बित्दै जाँदा

Friday, May 4, 2012

ति आँखा


थाहा छैन कहिलेदेखि चिन्छु म
ति तिम्रा आँखाहरुलाई
केही खोजिरहे जस्तो
कसैलाई सोधिरहे जस्तो
समुन्द्र जस्तो गम्भिर
त्यही गम्भिरताभित्र फेरी बाल चाचलता
रिसाएको भावमा होस् वा खुसाएको
म ति आँखामा ठूलो रहस्य देखिरहेछु
मलाई कुनै अपेक्षा छैन तिमीसँग
कामना छैन कसैसँग
छ त केवल तिम्रा आँखाका गहिराइ चिहाउने मन
जादू छ या मोहनी वा छ कि कतै सम्मोहन
म लैला जुलियट मुना कोही होइन
र म तिम्रो बयान पनि गरिरहेकी छैन
भ्रममा नपर
म मेरो मन हर्ने तर तिमीमा गएर बसेका
ति आँखाको वास्तविकता व्यक्त गरिरहेछु
तिमीले ति आँखालाई के दिएका छौ र
ति आँखाले तिमीलाई त्यती दिएका छन्
मिल्ने भए ति आँखा उपहार माग्थें
मेरो जिन्दगीकै बहुमूल्य उपहार
सक्छौ भने ति आँखामा
काला चस्माको पर्दा नहाल्नु
ति आँखालाई आफ्नो खोजसम्म पुग्न दिनु
आखिर तिमीलाई आँखाले जति सुन्दरता दिएको छ
त्यसको एक छेऊ पनि दिँदैनन् ति चस्माले
केही गरी मभन्दा अघि तिमी गयौ भने ति आँखा मलाई दिएर जानू
म कसैमा दृष्टि दिएर ति आँखाको रहस्य खोजिरहने छु
पत्ता लगाउने कोशिस गर्नेछु
योभन्दा अघि कहिले देखेकी थिएँ मैले ति आँखा

Tuesday, May 1, 2012

Soul mate


तिमीले ओढेको आकाशको एक छेऊ मैले ओढेकी छु भने,
तिमीले टेकेको जमिनको एक कुनामा म उभिएकी छु भने,
भन तिमी र म कहाँ टाढा छौं  ?
अहँ लाग्दैन तिमी एकरत्ति पनि टाढा छौ ।
तिम्रा शब्दशब्दमा म तिमीलाई भेटिरहेछु  ।
हावाका डाकमा म तिमीलाई सुनिरहेछु  ।
तिमी मौन हुँदा पनि मसम्म तिम्रो अन्तरआत्माको ध्वनी आइपुग्छ ।
न हिजो न आज हामी टाढा थिएनौं र छैनौं पनि  ।
बरु तिमीसँग गुनासो छ मेरो, किन नचिने जस्तो गरेको  ?
ध्यान दृष्टिले हेर त हामी कहिलेदेखि सँगै छौं  ?

Wednesday, April 25, 2012

मेरा बा


सब भुल मोक्ष गर्ने कुण्ड हुन् मेरा बा 
विशाल अनि शान्त समुन्द्र हुन् मेरा बा 
चाहे धर्ती फाटोस् चाहे आकाशले थिचोस् 
व्यवहारका घट्टले जति सुकै पिसोस् 
न बोली हड्बडाउँछ न खुट्टा लर्बराउँछन् 
म हेर्या हेर्यै हुन्छु अखण्ड हुन् मेरा बा 
१३ बैशाख २०६९ बिहान

Tuesday, April 24, 2012

मिडियाकै लैंगिक पुर्वाग्रही व्यवहार


पत्रकार भन्ने बित्तिकै सामान्यतयाः समाजमा भएका घटनाको यथार्थ चित्र प्रस्तुत गर्ने र आम मानिसलाई जानकारी गराउने पेशाधारी भनेर चिनिन्छ र पत्रकार भनेको सचेत र न्याय दाताका रुपमा पनि बुझिन्छ । तर त्यही पत्रकारका मसी र आवाज न्यायमुखी र समानताको पक्षधर चाहीँ छन् कि छ्रैनन् जाँच्नु जरुरी भइसकेको छ ।
पत्रकारको काम ट्वाल्ल परेर हेर्दा जे देखिन्छ त्यसलाई खर्खर्ती लेख्नु मात्र होइन, त्यसका आन्तरिक, बाह्य अनि दायाँ बायाँका पक्षलाई पनि केलाएर हेर्नु पर्दछ र पत्रकारितामा प्रयोग हुने एउटा शब्द ‘सन्तुलन’ गर्नु पर्दछ । सन्तुलन आरोपी र आरोपित, पीडक र पीडितमा मात्र होइन एक पक्षभित्र पनि गर्नु आवश्यक छ, जस्तो कि लैंगिक सवालमा ।
पत्रकारहरु र संचारमाध्यमहरु लैंगिक सवालमा उदार हुँदाहुँदै पनि कहाँ असंवेदनशिल र असन्तुलित भइरहेका छन्् प्रष्ट्याउनु नै यस लेखको उद्देश्य हो ।घटना सन् २०१० को मध्य तिर सुनसरी जिल्लामा भएको हो । ससुरा र बुहारीबीचको यौन सम्बन्धको कुरा लुकाउन दुबै मिलेर पाँच वर्षकी आफ्नै सन्तानको हत्या गरेका थिए । कुरा यहि हो । समाचार बन्यो । बन्नु पनि पथ्र्यो । किनकी त्यहाँ दुईवटा अपराध भएका थिए, एक सामाजिक अपराध र दोस्रो ज्यान मार्ने अपराध । अनि दुबै अपराधमा दुबै जना संलग्न थिए । समाचार बनाउने र सम्पादन गर्नेहरुले पनि यस कुराको महशुस गरेका थिए होलान् । तर समाचार प्रकाशित भयो ‘ससूरासँगको यौन सम्बन्धको कुरा लुकाउन आफ्नै छोरीको हत्या’ जस्ता शीर्षक दिएर अनि समाचारको कुनै भागमा लेखिएको थियो ‘पती र देवर वैदेशिक रोजगारीमा गएपछि उनले ससुरा सँग सम्बन्ध बढाएकी थिइन्’ ।
नौ महिना गर्भमा राखेर, मृत्युको मुखमा पुगेर जन्माएकी आफ्नै सन्तान मार्ने आमा निर्दयी हो, कठोर, पापी र अपराधी हो तर नातिनी मार्न सघाउने, अझ केही पर्ने अवस्था भए राती नै भागेर भारत जाउँला भनेर बुहारीलाई उकास्ने र छोराहरु विदेश गएको मौकामा जवान बुहारीसँग सम्बन्ध बढाउने ससुरा पनि त कम दोषी हो र ? तर समाचार आयो एक पक्षिय रुपमा महिलालाई मात्र दोषी देखाएर । जहाँसम्म समाचार लेख्नेको सवाल छ, यो समाचार सोही स्थान वा सुनसरी जिल्लाभित्रै बसोबास गरी त्यहाँको समाज र परिवेशलाई बुझेको व्यक्तिले लेखेर पठाएको हुनुपर्छ । त्यसो हो भने त्यो घटना भएको परिवार ‘खत्वे’ अर्थात् मधेशी समुदायको पनि दलित जाति पर्दछ । यसरी हेर्दा र ससुरा बुहारीबीच बढेको सम्बन्धलाई केलाउने हो भने समाचारमा भनिए जस्तै पती नभएको बेला बुहारीले ससुरासँग सम्बन्ध बढाएको भन्ने उल्लेख हुनु कत्तिको सान्दर्भिक होला ? एक त मधेशी समुदायका पढेलेखेका, उच्च घरानाका वा सासू भइसकेका बाहेकका महिलाहरु अझै पनि टाटी बेरा (बाँसको हाँगा वा सेउलाले बनाएको पर्खालको रुपमा प्रयोग हुने) भित्र सीमित हुन्छन्, आफ्नै श्रीमानलाई समेत ठाडो शिर गरेर हेर्ने आँट गर्न नसक्ने अवस्थामा छन् । त्यसैगरी दलित जाति जसको अर्को विशेषता गरिबी पनि हुन्छ र त्यसभित्रका महिलाको आँट र हैसियत अझ तल हुन्छ ।
यो पाटोलाई छोडेर आम नेपाली महिलालाई नै हेर्ने र उनीहरुको यौन सम्बन्धको पाटोलाई केलाउने हो भने पनि आफ्नै श्रीमानसँगको सम्बन्धमा त अधिकांश महिला श्रीमानको इच्छामा र कतिपय अवस्थामा अनिच्छामा समेत सहभागी हुन बाध्य भएको, त्यसैगरी यो सम्बन्धका बारेमा आफ्नै श्रीमानसँग खुलेर कुरागर्न नसक्ने विभिन्न अनुसन्धानले देखाएका छन् । आम नेपाली महिलाको यो यथार्थ अनि खत्वे समुदायकी महिलाको सामाजिक अवस्थालाई ध्यान नदिई आफ्नो श्रीमान इतर त्यो पनि ससुरासँग सम्बन्ध बढाइन् भनी लेखिनु घटनाको सामाजिक परिवेश र यथार्थलाई नपहिल्याई आम मानिसहरुले झैं आँखा चिम्लेर महिलालाई दोषेको बाहेक अरु केही हुँदै होइन । 
आखिर पत्रकार जस्तो धेरै कुरा जानेका सबैले जान्ने बुझ्ने भनेर मानेका पेशाधारीले किन लेखे त समाचार त्यसरी ? यदि सही त्यही नै थियो भने बरु कहिले र कस्तो अवस्थाबाट ससुरालाई त्यस सम्बन्धका लागि कसरी राजी गराइन् त्यो पनि लेखेको भए लेख्नेलाई पनि चाख लाग्दो र समाचार पनि पुष्टियुक्त हुने थियो कि ?
अर्कोतिर नातिनी मार्ने कार्यमा बुहारी भन्दा बढी दोषी ससुरा छन् । किनकी मार्ने कार्यमा बुहारीको जत्तिकै भूमिका ससुराको पनि छ भने केही परे भागेर भारत जाउँला भनी उनले दिएको ढाडस त्यो अपराध गराउन थप सहयोगी बनेको छ । यसरी बुहारीसँग सम्बन्ध बढाएर सामाजिक अपराध गर्ने र नातिनीको ज्यान मार्ने, मार्न उत्प्रेरित गर्ने पुरुषको दोष लुकाएर एक पक्षिय समाचार लेख्ने व्यक्ति सामान्य मानिस भन्दा के आधारमा फरक भयो त ?
समाचार यसरी लेखिनुको पछाडिको कारणमा त्यो समाचार लेख्नेहरु महिला वा पुरुष जे भए पनि पुरुषवादी चिन्तन भएका हुनु पर्दछ । नत्र लैंगिक समानताको चिन्तन भएको व्यक्तिले लेखेको समाचार हुन्थ्यो भने घटना, घटनाको पृष्ठभूमि अनि सामाजिक परिवेश सबैलाई केलाएर लैंगिक असमानता नहुने गरी लेखिएको हुन्थ्यो । त्यसैगरी सम्पादन गर्ने ठाउँमा लैंगिक समानताको चिन्तन भएका व्यक्ति हुन्थे भने कि त आफ्नो समाचारदातालाई लैंगिक रुपमा समान गरेर, घटनाको यथार्थताका आधारमा लेखी समाचार पठाउन भन्थे कि यस्तो असन्तुलित समाचार प्रकाशन नै गराउँदैनन् थिए ।
यो त पत्रकार र पत्रकारीतामा विद्यमान पुरुषवादी चिन्तनको एउटा उदाहरण मात्र हो । यस्ता उदाहरण खोज्दै जाने हो भने प्रशस्तै भेटिन्छन् । पत्रकारितामै यसरी तलदेखि माथिसम्म पुरानै सोच र चिन्तनमा परिवर्तन, समानता र सन्तुलनको कुनै आवश्यकता महशुस छैन भने यस्तो पत्रकारिताबाट सुचित हुने आम पाठक कसरी सू—सुचित हुन सक्छन् ? अनि महिलालाई हेर्ने दृष्टिकोण, लगाइने वचन र गरिने व्यबहारमा कसरी आउँछ परिवर्तन ? साँच्चै समाज बदल्ने हो भने पत्रकार र पत्रकारिताको सोच र चिन्तनको दायरा फराकिलो र गहिरो बनाऊँ र त्यसैगरी गरौं सूचनाको संप्रेषण अनि हेर्दै जाऊँ समाज आफैं बदलिने छ ।

२०१० को डिसेम्बर तिरको नवयुवा मासिकमा प्रकाशित ।

Friday, April 20, 2012

पहाड



यी अजंगका पहाड उपत्यकाका पर्खाल मात्र होइन रहेछन्, 
शहरका हो हल्ला, रिस, इष्र्या, अहं, मोह सारा कुराका अग्निरेखा रहेछन् । 
यीनका अटलता मानवलाई दृढता सिकाइरहेछन्, 
यीनका विशालता मानवलाई विशाल सोच र हृदयकालागि आग्रह गरिरहेछन्, 
यीनका घना मानवलाई गहनता सिकाइरहेछन् । 
एकै पहाडका उच्च र खोंचमा परेका घाम र छायाँले, 
मानव जीवनका सुख र दुःखका अपरिहार्यता देखाइरहेछन् । 
हेर्ने आँखा भइदिए, सुनने कान भइदिए, बुझ्ने मन भइदिए,
पहाडले धेरै धेरै कुरा सिकाइरहेछन् ।

२०६९ बैशाख ३
चीसापानी सिन्धुपाल्चोक र नुवाकोटको सिमाना
कि्रयटिभ जर्नी समूहको पहिलो यात्रामा रचित

Tuesday, April 17, 2012

गजल


         
आऊ कृष्ण आज फेरी वृन्दावनको खेल खेलौं ।
अब म पास अनि तिमी चाहीँ फेल खेलौं ।

डाकेकीछु गोपीहरु रात्री भोज गर्नलाई
तिमी हेरी बस है त म छुक्छुक् रेल खेलौं ।

घरी तिम्रो छातीमा शीर घरी अर्कै अंगालोमा
म पनि त एक फेर मायाको जाल झेल खेलौं ।

हैन हावापानी सधैं तिमी तिरै कहाँ बग्छ
म नि राधे राधे भन्दै उर्लिनेको भेल खेलौं ।

मस्ती गयौै्र मलाई र्वाई युगले आज थुकीरहेछ
कि त मेटाऊ लागेको दाग कि दुबैको मेल खेलौं ।

            दुर्गा लामिछाने
        १४ मार्च २०१२
        राती १२ः ५४

Friday, March 30, 2012

गजल

अग्राख त होइन मुटु आरा चलाउन
रेटी रेटी नखोज यो ज्यानै ढलाउन

कमलो छ कमलो मन बिरुवाको मुना
भाँचिएर गयो भने गारो पलाउन

कठोर छु पीडा सहन्छु जति भने पनि
एकै वचन काफी हुन्छ मन गलाउन

कहाँ दुख्छु कहाँ रुन्छु तिमीलाई था छ
जानी जानी नखोज भो दिल जलाउन

२०६६.२.२ मध्यरात
लगन काठमाण्डौं

गजल

जुन दिन डोलीमा अन्मिएर आउँछु
छोड पत्र साथैमा लिएर आउँछु

तिम्रै इशारामा नाच्न अनि बाँच्न
नसोच्नु त्यहाँ बेचिएर आउँछु

नठान्नु बाँधुँला सिक्री र पाउजुले
कहाँ तिमीमै अल्भिmएर आउँछु

पाल्ने आश्वासन लिएर नआउनु
पूरापूर आफैं जिएर आउँछु

काठमाण्डौं

गजल

यस्तै हुन्छ थाहा भए म माया लाउने थिइनँ
कति सुखी हुन्थ्यो यो मन् म दुःख पाउने थिइनँ

कहिले गीत कला भयो, भाग्य कोर्ने गला भयो
गीतको असर थाहा भए उस्को गीत गाउने थिइनँ

आफ्नो अनुकुल कुरो मोड्नेसँग केही चलेन
वचन पासा थाहा भए मरे नि मुख खाल्ने थिइनँ

२०६६.२.२ मध्यरात
लगन काठमाण्डौं

गजल

नबजाऊ बाँसुरी त्यो तान्छ मलाई
होस् सारा उडाएर लान्छ मलाई

लाग्छ पूर्व जन्मसँग छ कि त नाता
नत्र किन यति प्यारो मान्छ मलाई

कोही आए जस्तो लाग्छ, केही पाए जस्तो
र्स्पर्शले चारैतिर बान्छ मलाई

बैरागीको एकोहोरो मधुर धुन्ले
अनउठो तरंग दी जान्छ मलाई

२०६६.२.२ मध्यरात
लगन काठमाण्डौं

गजल

आफ्नो खर्च क्षति पूर्ति भराउन आउँछन्
बिहे भन्दै छोरा बिक्रि गराउन आउँछन्

ज्ञान गुण हेरिंदैन आजकाल यहाँ
धन रुप हेरी मन् पराउन आउँछन्

पर्ख बाबा सोच्न देऊ भनी बिन्ती गर्दा
आफ्ना अर्का सबै नै कराउन आउँछन्

रात दिन आफूले थेग्न नसके पछि
छोरो साह्रै असल ठराउन आउँछन्

इच्छा त्रि्रा सारा पूरा गराउँछु भन्दै
भाको मेधा क्षमता मराउन आउँछन्

२०६६/२/३ बिहान
लगन काठमाण्डौं

Tuesday, March 27, 2012

'पूर्व सभासद्......वसन्तपुर दरबार परिसरमा भिख माग्दै'


साभारः आफ्नै पुरानो ब्लगबाट ।

केहि दिन अघि एक टेलिभिजनले देखाएको भक्तपुरकी कान्छीमायामाथिको जघन्य अपराधले फेरी एकचोटी मेरो मन हल्लाएको छ । जतिजती दिनहरू बित्दैछन, समाज आधुनिक र सभ्य भनिने ढङ्गले विकसित हुँदैछ । त्यत्तिनै दूर्दिन बढ्दो छ वृद्धवृद्धाको । यो कुराले सानैदेखि मेरो मन छुन्थ्यो र अलिखित अध्ययन गरिरहन्थें ।

पछिल्लो समयमा काठमाडौँको वसन्तपुर दरवार परिसरमा वटुवा र चिनेजानेका मान्छेहरूसँग गफ गर्दै र दयावानहरूले दिएका २/४ रुपैयाँ जम्मा पारेर उसिनेको साग खादैँ बस्ने एक वृद्ध आमाका बारेमा अध्ययन गर्न म तीन चोटीसम्म त्यहाँ पुगें । उहाँ बाटोमा हिड्ने मान्छेले आत्मियताका साथ सोध्दा आफ्ना सबै कुरा भन्नुहुन्छ तर मिडियासँग बोल्न चाहनुहुन्न । कारण आफ्नी श्रीमती र छोराछोरीसहित आफ्नो घरमा सुख साथ बसेको छोराले सुन्यो भने र वरपरकाले थाहा पाए भने छोरालाई नराम्रो हुन्छ रे । त्यही छोरा, जसको बाबु बितेपछि तिनै आमाले दुःख गरेर पढाएकी थिइन् । पहाडमा दुःख भयो भनेर काठमाडौँ ल्याई आफूले अर्काको भाँडा माझेर पढाएकी थिइन र इलेक्ट्रिसियन बनाएकी थिइन् । हो, त्यही छोरा १२ वर्षदेखि आमाको खोजखबर बिना बसेको छ । अझ बाबु मर्ने बित्तिकै उमेर पुगेपछि भोगचलन गर्न मिल्नेगरी तिनै आमाले उसको नाममा गरिदिएको पहाडको जायजेथा पनि आफूखुसी बेचबिखन गरिसकेको छ ।

यता पचहत्तर कटेकी आमा एक भारी थाङ्ना-मुङ्ना र केही भाँडाकुँडासहित ठाउँर्सर्दै काल पर्खिंदै छिन् । हामी कहाँ एउटा भनाइ छ "साना छउञ्जेल मर्लान् भन्ने पीर, ठूला भएपछि मार्लान् भन्ने पीर" वास्तवमै यो उखान यथार्थ बनेको छ । भक्तपुरकी कान्छीमाया र वसन्तपुरकी ती आमा त यो समाजका प्रतिनिधि वृद्धवृद्धा मात्र हुन् । कोही फालिएका होलान्, कोही त्यागिएका होलान् र कोही घरभित्रै हेपिएका होलान् । चाहे जे होस्, ममता र अनुभवका खानी वृद्धवृद्धाको अवस्था साँच्चैनै नाजुक बनिरहेको छ । हामी आज बालक, युवा, महिला, दलित, जनजाति, मधेसी, पहाडी, थारू जे जति वर्ग र समुदायका नाममा आवाज उठाइरहेका छौं ति सबै आवश्यक त छन् नै साथमा यी सबैको साझा भविष्य भनेको बुढेसकाल नै हो । तर यसतर्फभने कसैको ध्यान जान सकेको छैन ।

देश संविधान निर्माणको क्रममा छ । सबै क्षेत्र, वर्ग र समुदायका भावनालाई समेट्ने संविधान निर्माणका लागि भनेर सभासद्हरू गाउँ-गाउँ पनि पुगेका छन् । यसका अलावा विभिन्न सङ्घसंस्थाले पनि आ आ-आफ्नो सम्बन्धित क्षेत्रका सुझावहरू समेटी एकमुष्ट रूपमा पनि दिइनै रहेका छन् र यो क्रममा हाम्रा सभासद् ज्यूहरूलाई प्रश्न गर्न चाहन्छु तपाईंहरू सोध्नु मात्र हुन्छ कि बुझ्नु पनि हुन्छ ? सुन्नु मात्र हुन्छ कि देख्नु पनि हुन्छ ? के सुझाव सङ्कलन टोली हरेक जसो मन्दिरका बाहिर आशामुखी बनेर माग्न र पशुपती, देवघाट जस्ता वृद्धाश्रममा बस्न बाध्य पारिएका वृद्ध वृद्धासम्म गइरहेको छ ? के आजका उनीहरूका र भोलीका आफ्नै नियतिलाई सुधार्न संविधानमा लेखिने केही बुँदा तयार भएका छन् - हामी कहाँ एक अर्को भनाइ छ "उँधी माया" । जब आफ्ना सन्तान जन्मन्छन् तब मान्छे उनैमा आफ्नो आश, गाँस र सास भर्दै जान्छन् । आफूले जीवनभर रगत पसिना बगाएर जोडेको सम्पत्ति बाँडी दिन्छन् । नदिउन पनि कसरी - जब हाम्रो कानुनले नै बाबु आमाले छोराछोरीलाई आफ्नो क्षमताले भ्याउनेसम्मको सेवा सुविधा नदिए जन्म र कर्म दिने बाबुआमाका विरुद्ध मुद्दा हालेर पनि अङ्श पाउने अधिकार दिएको छ भने । अनि त्यहि कानुनले आफ्नो क्षमता अनुसार बाबुआमालाई लालनपालन नगर्ने सन्तानलाई कुनै सजायँको व्यवस्था चाँही गरेको छ कि छैन ? यदि त्यस्तो व्यवस्था नै गरे पनि उँधी मायामा बगेका वसन्तपुर दरबार परिसरमा भेटिनु भएकी आमा जस्ता वृद्धवृद्धाले कानुनी बाटो अपनाउलान् ? नअपनाएको खण्डमा उनीहरूको जिम्मा कस्ले लिइदिन्छ ?

यस्ता विषयमा हिजोदेखि आजसम्मका सरकार, सडकमा उत्रेर चक्काजाम नगरेसम्म थाहा पाउँदैनन्, आवाज उठाउने भनेका अधिकारवादी सङ्घसंस्था पैसामुखी छन्, भने वृद्धवृद्धाका यी विषयमा चर्चा कस्ले चलाई दिन्छ ? यदि यस्तै पारा हो भने सधैं सन्तानकै सुख र खुसी चाहने अग्रज पुस्ताले भ्याए आफ्ना लागि र नभ्याए आफ्ना निष्ठुरी सन्तानकै लागि भए पनि सडकमै उत्रिनु पर्ने बेला भएको छ ।

किनकी तपाईं हामीले हाम्रा प्रतिनिधि बनाएर ठाउँमा पुर्याएकाहरू आफ्नो सुख सुविधा र सत्ता बाहेक अरु सोच्नेवाला छैनन् । हुन त उनीहरू सबैकै बुढेसकाल पनि कृष्णप्रसाद भट्टराइको झैं सुरक्षित त कहाँ छ र ? यदि अब बन्ने संविधानमा वृद्धावस्थाको सुरक्षाका लागि विशेष व्यवस्था गराउन सकिएन र त्यहि अनुसार कार्यान्वयनमा अघि बढिएन भने जनताका त कुरा छोडौं आजका छ सय एक सभासद् मध्ये कतिका सहारा विहिन बुढेसकालका कथा यिनै सञ्चार माध्यमले लेख्नु, सुनाउनु र देखाउनु पर्नेछ । र शीर्षक हुनेछ 'पूर्व सभासद् .........वसन्तपुर दरबार परिसरमा भिख माग्दै'