Thursday, May 26, 2016

सीए: रोजगारीको ग्यारेण्टी भएको शिक्षा

आर्थिक अभियानमा २०७३-०२-१३ मा प्रकाशित   
दुर्गा लामिछाने
शैक्षिक बेरोजगारीले आक्रान्त पारेको वर्तमान परिप्रेक्ष्यमा चार्टर्ड एकाउण्टेण्ट (सीए)को पढाइ ‘जब ग्यारेण्टेड’ शिक्षाको रूपमा लिइन्छ ।   पढ्दापढ्दै एकाउण्ट विषयका विद्यार्थीलाई ट्युशन पढाउन सकिने, तेस्रो तहमा पुगेपछि पढाइसँगै गर्नुपर्ने विभिन्न कम्पनी तथा संस्थाहरूको लेखा परीक्षणबाट कमाइ हुने र सीए पास भएपछि लाइसेन्ससहित काम गर्न तथा फर्म खोल्न पाइनेजस्ता अवसर यसका आकर्षण हुन् ।
आर्थिक कारोबारको लेखा राख्ने कार्यका लागि सीएभन्दा माथिको तह नहुनु, बजारको मागअनुसार जनशक्ति अभाव रहनुले चार्टर्ड एकाउण्टेण्टको आय पनि राम्रो छ । अर्थ बजारका गतिविधि बढेसँगै वास्तविक रूपमा हरेक सङ्घसंस्थाका आर्थिक हिसाबकिताब राख्न सक्ने सीएको ठूलो माग तथा राम्रो आय भएकै कारण पछिल्ला वर्षहरूमा प्लस टू सकेका विद्यार्थी तथा अभिभावकको रोजाइमा सीए कोर्स अगाडि आउन थालेको छ ।
आजसम्म संसारभर कहीँ पनि विश्वविद्यालय शिक्षामा समावेश नगरिएको सीए कोर्स विद्यार्थीले स्वाध्ययन गरी वा सीए कोर्स सञ्चालित इन्ष्टिच्युटमा पढेर पूरा गर्न सक्छन् । हरेक देशमा झैं नेपालमा पनि चार्टर्ड एकाउण्टेन्सी ऐनमा आधारित भई स्थापना हुने स्वायत्त निकायअन्तर्गत यसको पढाइको बन्दोबस्त भएको छ । नेपालमा चार्टर्ड एकाउण्टेण्ट ऐन २०५३ अनुसार सोही वर्ष स्थापित नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाअन्तर्गत यसको अध्ययन–अध्यापन र नियमनको काम भइरहेको छ ।
यसबाहेक नेपालले भारतीय बोर्डअन्तर्गत पढाइ हुने सीएलाई पनि मान्यता दिएको छ । हाल बजारमा विभिन्न इन्ष्टिच्युटहरूले सीए कोर्स पढाइरहेका छन्, जसमा अधिकांशले नेपाल र भारत दुवै बोर्डका कोर्स पढाइरहेका छन् । विस्तारै विद्यार्थीको आकर्षण नेपाल बोर्डकै पढाइमा बढ्दै गएको छ ।  त्यसो हुनुको मुख्य कारण भारतीय बोर्डअन्तर्गत पढ्ने विद्यार्थीले भर्ना उता गरेर पहिलो र दोस्रो तह नेपालमै बसेर पढ्न पाए पनि तेस्रो अर्थात् तीनवर्षे कोर्सका लागि भने उतै गएर बस्नुपर्ने बाध्यता हो ।
जुन देशको बोर्डअन्तर्गतको सीए कोर्स पढ्यो सोही देशका सङ्घ, संस्थाका आर्थिक हिसाबकिताब उसकै देशको कानून तथा ट्याक्स प्रणालीअनुसार भए/नभएको सम्बन्धित संस्थामै गएर अध्ययन गर्नुपर्ने भएका कारण भारतीय बोर्डबाट पढ्ने विद्यार्थी यो तहको अध्ययनका लागि भारतमै जानुपर्ने हुन्छ । साथै, एकाउण्टेन्सी कानून र ट्याक्स प्रणाली उताको हुने कारणले त्यहाँको बोर्डबाट सीए पढ्नेले सीएको लाइसेन्स पाइसकेपछि पनि नेपालमा काम गर्न यहाँको एकाउण्टेन्सी कानून र ट्याक्स प्रणालीको छुट्टै परीक्षा पनि पाससमेत गर्नुपर्ने हुन्छ ।
नेपाल तथा भारतका बोर्डअन्तर्गत चल्ने सीए कोर्सलाई यसरी नामकरण तथा विभाजन गरिएको छ :
नेपाल बोर्ड    तह    अवधि    भारत बोर्ड
क्याप १    पहिलो   ६ महीना  सीपीटी
क्याप २    दोस्रो     ९ महीना  आईपीसीई
क्याप ३    तेस्रो      ३ वर्ष     सीए फाइनल
सीएको पढाइ
विद्यार्थीको रोजाइका कारण सीए पढाउने अधिकांश इन्ष्टिच्युटले नेपाल र भारत दुवै बोर्डका सीए कोर्स सञ्चालन गरिरहेका छन् । सीएको कोर्समा परीक्षाका आधारमा तहअनुसार फरकफरक महीना पारी वर्षको दुईपटक भर्ना लिइन्छ ।नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले प्लस टू पास गरेका जतिसुकै प्रतिशत ल्याएका विद्यार्थीका लागि पनि सीएको पढाइ खुला गरेका कारण इन्ष्टिच्युटहरूले पनि सोही नियम कार्यान्वयन गरेका छन् ।
तर, केही इन्ष्टिच्युटले भने विद्यार्थीले प्लस टूमा ल्याएको प्रतिशतका आधारमा उसले सीए पढ्न उपयुक्त हुने वा नहुने भन्ने ढङ्गबाट परामर्श दिने गरेका छन् । पहिलो तह लेखा, कानून, अर्थशास्त्र, वित्त तथा व्यवस्थापन र तथ्याङ्क शास्त्रका आधारभूत विषय पढाइ हुने भएका कारण व्यवस्थापन सङ्कायमा प्लस टू गरेर आएका विद्यार्थीका लागि यो तुलनात्मक रूपमा सजिलो हुन्छ । अन्य सङ्कायबाट आएका विद्यार्थीले पनि केही बढी मेहनत गरे राम्रै प्रतिशतसहित पास गर्न सक्छन् । इन्ष्टिच्युटहरूको पछिल्लो वर्षको तथ्याङ्क हेर्दा ८० देखि ९० प्लस प्रतिशत विद्यार्थीले यो तह उत्तीर्ण गरेको पाइन्छ । दोस्रो तहमा कोर्सको गहनता निक्कै बढी हुन्छ ।
यस तहमा विशिष्ट ढङ्गले लेखा राख्नेदेखि अडिट, कर्पोरेट तथा अन्य कानून, इन्कम ट्याक्स र भ्याट, आर्थिक व्यवस्थापनजस्ता कुरा पढाइ हुन्छ । ९ महीनाको छोटो समयमा यो तह पढ्नुपर्छ, तर सम्झिनुपर्ने कुरा धेरै हुन्छन् । यस तहमा सबै इन्ष्टिच्युटको नतीजा औसतमा हेर्दा १५ प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण भएका छन् । ३ वर्षको अवधिभर चल्ने विशिष्ट आर्थिक प्रतिवेदन÷व्यवस्थापन, कानूनलगायत आर्थिक गतिविधिसम्बन्धी विशिष्ट ज्ञान हासिल गर्दै संस्थागत रूपमा व्यावहारिक अभ्यासमा जोड दिइने तेस्रो तहको नतीजा अति न्यून छ । यसमा अध्ययनका साथै सम्बन्धित कम्पनी, सङ्घसंस्थामै गएर उनीहरूको आर्थिक क्रियाकलापको अडिट गर्दै प्राप्त ज्ञानका आधारमा अघि बढ्ने कोर्स हुन्छ ।
दक्ष शिक्षकको उपलब्धता
नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाका अनुसार हालसम्म १ हजार जनाभन्दा बढी नेपालीले चार्टर्ड एकाउण्टेण्ट पास गरिसकेका छन् । त्यसमध्ये करीब ७ सयजना नेपालमै कार्यरत छन् । उनीहरू विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुका साथै पढाउने काममा पनि संलग्न रहेका कारण दक्ष शिक्षकको अभाव भने छैन । सीए पढाइ हुने इन्ष्टिच्युटहरूको विषयगत शिक्षक पर्याप्त रहेको भन्ने कुराले पनि यसको थप पुष्टि गर्दछ ।
पाठ्यक्रम तथा पाठ्यसामग्री
चार्टर्ड एकाउण्टेण्टसम्बन्धी अन्तरराष्ट्रिय संस्था (आईफ्याक)द्वारा निर्धारित पाठ्यक्रम नै यहाँ पनि लागू हुन्छ । सोहीअनुसारका पाठ्यपुस्तक तथा पाठ्यसामग्री सम्बन्धित इन्ष्टिच्युटले प्रकाशन गरी अध्यापन गर्छन् । नेपालमा सीए कोर्स सञ्चालन भएका शुरुआती वर्षहरूमा पाठ्यपुस्तकको समस्या रहे पनि हाल यसमा खासै समस्या छैन । यसका पेपर डकुमेण्ट मात्र नभई आजभोलि इन्ष्टिच्युटहरूले अडियो, भिजुअल र अनलाइन डकुमेण्ट खुला गर्नुका साथै आफ्ना विद्यार्थीको क्लोज ग्रूपमा उपलब्ध गराउँदै आएका छन् ।
अन्य विषय र सीएको फरक
अन्य विषय पढ्दा कतिपटकमा पास गरेको ? कति नम्बर ल्याएको भन्ने कुराले फरक महŒव राख्छ, तर सीएमा पास भए मात्र पुग्छ । पास भएर एकपटक लाइसेन्स पाइसकेपछि निश्चित दस्तुर तिरेर लाइसेन्स नवीकरण गराउने काम मात्र बाँकी रहन्छ ।
पढाइ खर्च
कतिपय विषयको पढाइमा पूरै पैसा पहिल्यै तिर्नुपर्ने हुन्छ । तर, सीएमा हरेक तह पार गर्दा विद्यार्थीले सो तहसम्मको मात्रै शुल्क तिर्नुपर्ने व्यवस्थाले गर्दा केही गरी कसैले बीचैमा पढाइ छोड्ने भयो भने सबै पैसा खर्च भएको हुँदैन । नेपाली बोर्डअन्तर्गत पढ्ने विद्यार्थीले तीनै तहको भर्ना आईक्यानमा गर्नुपर्ने हुन्छ । तीनै तहको जोड्दा करीब रू. १ लाख आईक्यानलाई बुझाउनुपर्दछ । यसबाहेक इन्ष्टिच्युटको ट्युशन शुल्क लाग्ने गर्छ । यो शुल्क भने इन्ष्टिच्युटअनुसार फरक पर्न सक्छ । हाल बजारमा तीन तहको गरी ७५ हजारदेखि २ लाख रुपैयाँसम्म ट्युशन शुल्क चलेको छ ।
सीए पास हुन के गर्नुपर्छ ?
पहिलो कुरा त सीएको कोर्स धेरै पढ्नु र सम्झिनुपर्ने खालको भएकाले यसको पहिलो शर्त भनेकै विद्यार्थीले पढाइमा अधिकतम समय दिनुपर्छ । परीक्षाको मुखमा पुगेर पढ्ने बानीले यो कोर्समा धोका दिन सक्छ । त्यसैले, दैनिक तालिका नै बनाएर पढ्नुपर्छ । यो कोर्स अरूको करबल वा देखासिकीमा नभई आफ्नै रुचि र लगनशीलता भए मात्र पढ्न सकिन्छ र पास भइन्छ । सीएका लागि साढे ४ वर्ष मेहनत गरेर बाँकी जिन्दगीभर रोजगारी सुनिश्चित भई बस्न हिम्मत राख्ने विद्यार्थीले यो कोर्स कटाउन सक्छन् । आफै पनि सीए पास गरी इन्ष्टिच्युट सञ्चालन गरेर बस्नेहरू भन्छन्, ‘सीएको कोर्स नसकिउञ्जेल सामाजिक गतिविधि, विवाह, पारिवारिक जिम्मेवारी, सोसल मिडियाको प्रयोग, रमझमजस्ता कुरा थाती राख्दा नै राम्रो हुन्छ ।’ यो कोर्स पढ्दा एकपटकमा नकट्ला जस्तो लाग्नेबित्तिकै हिम्मत हार्ने बानीले पनि असफलताको सम्भावना बढाउँछ । सीए कोर्सको सबैभन्दा राम्रो पक्ष भनेकै पुनः परीक्षा दिन पाउने व्यवस्था र पुनः परीक्षा दिएर पास गरेको सङ्केत प्रमाणपत्रमा कतै उल्लेख नहुनु हो । अघिल्लो असफलताबाट पाठ सिकेर पुनः प्रयास गरी पास भएर बजारमा छाएका सीएहरू धेरै छन् । त्यसैले, धैर्य र लगनशीलता हुने विद्यार्थीले दोस्रो र तेस्रो प्रयासमा पनि पास गर्न सक्छन् ।
सीए कोर्सका राम्रा पक्ष
विषयको गहनताका साथै बजारमा सीएको मागका आधारमा हेर्ने हो भने सीए कोर्सका लागि लाग्ने लगानी एकदमै सस्तो हो । त्यो पनि उपाय नभएकाहरूका लागि कतिपय इन्ष्टिच्युटहरूले कमाएर फिर्ता गर्नुपर्ने वा नपर्ने हिसाबले लगानी गरिदिने प्रावधान पनि राखेका छन् । सीए उत्तीर्ण गर्ने विद्यार्थीले त आरामले रोजगारी पाइहाल्छन् र नहुनेले पनि व्यवस्थापनका विद्यार्थीलाई ट्युशन पढाउने, सङ्घसंस्थाका आर्थिक हिसाबकिताब राख्ने कार्यमा पनि भित्री रूपमा काम गन 

सीए शिक्षा अभियान 

आईक्यानका सीए नेपालबाहिर पनि

पुष्पेन्द्र सिंह
सहनिर्देशक
शिक्षा विभाग, आईक्यान












बजारको आवश्यकता र विद्यार्थीले सीए पढ्न भारत जानुपर्ने समस्याका कारण उठेको मागअनुरूप २०५३ सालमा नेपालमा चार्टर्ड एकाउण्टेण्ट ऐन २०५३ आएसँगै सोही साल नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान)को स्थापना भएको हो । यो नेपालको लेखा तथा लेखा व्यवसायको नियामक निकाय हो । यसले चार्टर्ड एकाउण्टेण्ट र चार्टर्ड एकाउण्टेण्ट पढाउने संस्थाहरूका लागि सहयोगी भूमिका खेल्ने र नियमन गर्ने गर्छ । आईक्यानले नियमसङ्गत नहुनेलाई कारबाही पनि गर्दछ । यो संस्था सीए कोर्सका लागि नेपाल बोर्ड पनि हो । यसले प्रतिवर्ष ४० देखि ५० जना सीए बजारमा ल्याउँदै आएको छ । आईक्यानअन्तर्गत अध्ययन गरी उत्तीर्ण हुने सीएको सङ्ख्या करीब ३ सय पुगेको छ । तीमध्ये धेरैजसो नेपालमै छन् भने केही विभिन्न देशमा काम गरिरहेका छन् । आईक्यानले आफ्नो बोर्डबाट सीए उत्पादन गर्नुका साथै भारतीय बोर्डबाट सीए उत्तीर्ण विद्यार्थीहरूलाई दुई पेपरको परीक्षा लिई नेपालमा काम गर्ने आधिकारिकता पनि प्रदान गर्दछ ।
भारतीय बोर्डबाट सीए हुनेहरूलाई नेपालमा काम गर्ने आधिकारिकता दिँदै आएको आईक्यानले आफ्नो बोर्डबाट पास भएकाहरूलाई पनि भारतमा आधिकारिकता दिन आग्रह गर्दै आएको छ । तर, यसप्रति उदासीन भारतीय बोर्ड आईसीएआईप्रति आईक्यान रुष्ट छ । त्यसैले, भविष्यमा भारतीय बोर्डबाट सीए पास गरेर आउनेहरूले नेपालमा आधिकारिकता नपाउने सम्भावना रहेको आईक्यानको शिक्षा विभागका सहनिर्देशक पुष्पेन्द्र सिंहले बताए । उनी भन्छन्, ‘अष्ट्रेलियाले बरु हाम्रा सीएले उता गएर चार पेपर दिएपछि काम गर्न पाउने व्यवस्थाको सम्झौता गरिसक्यो । तर, भारतले भने कहिल्यै पनि हामीलाई बराबरीको व्यवहार नै गरेन । त्यसो भएपछि हामीले पनि उसलाई सधैं छूट नदिन पनि सक्छौं ।’ अर्कोतर्फ सीए कक्षा सञ्चालन गर्दै आएका सबै इन्ष्टिच्युटहरूले पनि नियमअनुरूप आईक्यानको सम्बन्धन लिएका छैनन् । सीए कक्षा सञ्चालनमा रहेका धेरै इन्ष्टिच्युटको नाम प्रचारमा आए पनि हालसम्म उपत्यकामा ६ ओटा इन्ष्टिच्युट र उपत्यका बाहिर चारओटाले मात्र सम्बन्धन लिएर कोर्स सञ्चालन गरेका छन् । बाँकीलाई कारबाही गर्ने वा सम्बन्धनमा ल्याउने अधिकार आफूहरूलाई नभए पनि भोलिको दिनमा ऐन संशोधन गरी त्यो प्रावधान आए त्यस्ता इन्ष्टिच्युटलाई समस्या पर्न सक्ने पनि सहनिर्देशक सिंहले बताए ।
गरीब विद्यार्थीलाई छात्रवृत्ति
बालचन्द्र प्रवाह
अध्यक्ष, सीएआई प्रालि
नेपाल चार्टर्ड अकाउण्टेण्ट संस्था खुल्नुभन्दा १ वर्षअघि अर्थात् सन् १९९६ मा नै सीएआई प्रालीले भारतीय बोर्डअन्तर्गतको सीए सञ्चालन गरेको हो । पुतलीसडकमा अवस्थित यस इन्ष्टिच्युटले हाल नेपाल र भारत दुवै बोर्डअन्तर्गतका सीए कक्षा सञ्चालन गर्दै आएको छ । यहाँ पर्याप्त पाठ्यवस्तु र पुस्तकालयको व्यवस्था रहेको छ । यहाँबाट पढेकाहरू सीए भई आज देशका थुप्रै प्रतिष्ठित संस्थामा कार्यरत रहेका छन् । उनीहरूकै रेफरेन्सका आधारमा पनि धेरै विद्यार्थी आउने गरेको सीएआईको अनुभव छ । दक्ष, अनुभवी शिक्षकहरूद्वारा पढाइ हुने यस इन्ष्टिच्युटले विशेषतः ग्रामीण क्षेत्रका र गरीब तथा जेहेनदार विद्यार्थीको सहभागितालाई जोड दिई निश्चित सङ्ख्यामा छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । यसो गर्नुको मुख्य उद्देश्य ग्रामीण क्षेत्रबाट प्रतिनिधित्व गर्ने विद्यार्थी सीए भयो र ठाउँमा पुग्यो भने देशको आर्थिक विकासमा योगदान पुग्ने मान्यता सीएआईका अध्यक्ष बालचन्द्र प्रवाहको छ ।
अन्य इन्ष्टिच्युटमा पढेका विद्यार्थीका लागि पनि परिपूरक कक्षा
मेघराज अर्याल
अध्यक्ष, गुरुकुल सीए
बागबजारमा रहेको गुरुकुल सीए २०७२ माघमा खुलेको हो । यो व्यावसायिक तथा अनुभवी सीएहरूद्वारा सञ्चालित इन्ष्टिच्युट हो । नेपाल र भारत दुवै बोर्डअन्तर्गतका सीए कोर्स पढाइ हुने यस इन्ष्टिच्युटमा सीएको दोस्रो तहका एक ब्याच पढाइ सकिएर अहिले पहिलो तहका लागि भर्ना खुला छ । दक्ष शिक्षकद्वारा सञ्चालित भएकैले गुरुकुल नामकरण गरिएको यस इन्ष्टिच्युटमा विद्यार्थीका समस्या पहिचान गरी सोहीअनुसार पढाइन्छ । यसको आफ्नै पाठ्यपुस्तक तथा शैक्षिक सामग्री छन् । यहाँ नियमित रूपमा परीक्षा लिइनुका साथै उत्कृष्ट हुने र आर्थिक समस्या भएका विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ, जसमा एक तहमा उत्कृष्ट हुनेलाई अर्को तहमा शतप्रतिशत छूट दिने गरिन्छ ।
विगतमा विभिन्न फ्याकल्टीबाट आएर पनि सीए उत्तीर्ण गरेका तथा औसत विद्यार्थी भईकन पनि सीए पास गरेका शिक्षक गुरुकुलमा आउने सबै खालका विद्यार्थीका प्रेरणा हुन्, जसले गर्दा प्लस टूमा पास मात्रै भएका वा जुनसुकै फ्याकल्टीबाट आएका विद्यार्थीलाई पनि प्रोत्साहन गरिन्छ । पढ्ने क्रममा विद्यार्थीले कुनै कुरा नबुझे तथा अप्ठ्यारो लागे सहज रूपमा कुरा राख्न पाउने व्यवस्था छ । त्यसैगरी नियमित परीक्षाको नतीजा हेरी कुन विद्यार्थीलाई केमा समस्या छ, सोहीअनुसारका थप कक्षा निःशुल्क रूपमा सञ्चालन पनि गरिन्छन् । यहाँ सीएको तेस्रो तहका विद्यार्थीलाई पनि उनीहरूको आर्टिकलशिपको समयलाई अप्ठ्यारो नपर्ने गरी कक्षाहरू सञ्चालन गरिन्छन्, जुन आगामी अगष्टबाट शुरू हुने गुरुकुलका अध्यक्ष मेघराज अर्याल बताउँछन् ।
उनी भन्छन्, ‘सामान्यतया सीएका तेस्रो तहका विद्यार्थीहरूले आर्टिकलशिप गर्दै घरमै बसेर पढ्छन् । यस्तो बेला आएका अप्ठ्याराहरू हाम्रो जनशक्तिले सुल्झाउन मद्दत गर्न सकोस् भनेर हामीले यो व्यवस्था गरेका छौं ।’ अन्य इन्ष्टिच्युटमा पढेका, तर कुनै कुरा नबुझेका विद्यार्थीका लागि भनेर गुरुकुलले आवश्यकताअनुसारका कक्षा पनि सञ्चालन गर्ने गरेको छ, जसबाट उसले विद्यार्थीको राम्रो उपस्थितिका साथै प्रभावकारी नतीजा पनि हात पारेको छ ।
कलेजको वातावरणमा सञ्चालित
अनुज महत
संयोजक
चैतन्य इन्ष्टिच्युट अफ म्यानेजमेण्ट
विगत ४ वर्षअघि स्थापना भएको चैतन्य इन्ष्टिच्युट अफ म्यानेजमेण्ट बानेश्वर–शङ्खमूल रोडमा रहेको छ । यहाँ नेपाल र भारत दुवै बोर्डका सीए कोर्सहरू पढाइ हुने गर्दछन् । कोर्सबाहेक रोजगारीका क्रममा आवश्यक पर्ने बिजनेश राइटिङ स्किल पनि यहाँ उपलब्ध छ । आफूलाई सीए कलेज भन्न रुचाउने चैतन्यका विशेषताहरूमा ड्रेसकोड, विद्यार्थीको प्रगति तथा कमजोरीका सम्बन्धमा अभिभावकलाई राखेर अन्तरक्रिया गर्ने, कक्षाको सीसीटीभी मोनिटरिङ गरी नआएका विद्यार्थीलाई तथा उसका अभिभावकलाई फोन गरेर सोध्नेलगायत छन् ।
यस संस्थामा आफ्नै पाठ्यक्रम, पुस्तकालय तथा विद्यार्थीले नबुझेका कुरा सोध्न अनुभवी शिक्षकहरू उपलब्ध छन् । प्रतिशतका आधारमा नभई सीए बनेरै छोड्छु भन्ने सपना भएका, समय तथा पैसाको मूल्य बुझेका र मेहनती विद्यार्थी सीए पढ्न आऊन् भन्ने आफूहरूको चाहना भएको चैतन्यका अनुसन्धान तथा शैक्षिक संयोजक अनुज महत बताउँछन् ।
यी स्वभाव विद्यार्थीमा कत्तिको छ भन्ने पत्ता लगाउन भर्ना लिनुअघि नै काउन्सिलिङ गर्ने र बीचबीचमा वर्तमान समयका मोटिभेशनल व्यक्तिका कक्षा सञ्चालन गर्ने व्यवस्था यो इन्ष्टिच्युटले गरेको छ । यहाँ हरेक आइतवार साप्ताहिक परीक्षा, छात्रवृत्ति परीक्षा तथा आकस्मिक परीक्षाहरू पनि लिने गरिन्छ । चैतन्यले मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा सीए पढ्न इच्छुक विद्यार्थीहरूलाई काउन्सिलिङ कार्यक्रम राख्ने गरेको छ । नेपालमै काम गरिरहेका र दक्ष तथा अनुभवी शिक्षकहरू यहाँ उपलब्ध छन् । विद्यार्थीको सजिलोका लागि संस्थाले शिक्षण सामग्रीहरू वेबसाइट, फेसबूक, क्लोज ग्रूप, मोबाइल एसएमएस जस्ता माध्यमबाट उपलब्ध गराउँदै आएको छ । यसले भूकम्पपीडित विद्यार्थीलाई लक्षित गरी शुल्कमा २० प्रतिशत छूटको पनि व्यवस्था गरेको छ ।
खट्न सक्ने विद्यार्थीले मात्रै सीए पढ्न सक्छ
नवराज बुर्लाकोटी
संयोजक, प्राइम सीए
बानेश्वर–शङ्खमूल रोडमा पर्ने प्राइम सीएको स्थापना सन् २००४ मा भएको हो । यसले नेपाल र भारत दुवै बोर्डका सीए कोर्स पढाइरहेको छ । हरेक वर्ष राम्रो सङ्ख्यामा टपर विद्यार्थी निकालिरहेको प्राइमका संस्थापक अध्यक्ष नवराज बुर्लाकोटी प्लस टूमा ८० प्रतिशत कटाएका विद्यार्थीबाटै टपरहरू आउने बताउँछन् । पढाइमा खट्न सक्ने र मेहनत गरेर पास गर्छु भन्ने अठोट भएका विद्यार्थी मात्र यो विषयमा आउनुपर्ने सुझाव उनको छ ।
आईक्यानले जति प्रतिशत ल्याएका भए पनि पास भएका विद्यार्थीलाई सीए कोर्समा भर्ना हुन खुल्ला गरेकाले आफूहरूले पनि लिने गरेको बुर्लाकोटीले बताए । प्लस टूमा ७० प्रतिशतभन्दा माथि ल्याएकालाई यो पढाइमा सहज हुने, ६० देखि ७० प्रतिशतकोबीचमा ल्याएकालाई ५० प्रतिशत मात्रै सहजता हुने उनको ठम्याइ छ । ६० प्रतिशतभन्दा कम नम्बर ल्याएका विद्यार्थीले यो विषय नरोज्न प्राइमको सुझावसमेत छ ।
जतिसुकै गाह्रो कोर्स भए पनि कटाउन सक्छु भन्ने आत्मविश्वासी विद्यार्थी भए प्राइमले प्रोत्साहन पनि गर्ने गरेको छ । प्राइमले प्लस टूमा ७० प्रतिशत आएका विद्यार्थीलाई ५ प्रतिशत छूट र त्यसभन्दा माथि प्रत्येक १ प्रतिशत प्राप्ताङ्कमा थप १ प्रतिशत छूटको व्यवस्था गरेको छ । करीब ४ सयको हाराहारी सीट क्षमता रहेको यस इन्ष्टिच्युटमा विषयगत शिक्षकहरूको पर्याप्तता रहेको छ । विद्यार्थीलाई युजर नेम र पासवर्ड प्रदान गरी नोट तथा भिडियोका माध्यमले पढ्न सहयोग पुर्‍याउने योजना प्राइमले लिएको छ ।
सीएको परीक्षामा सर्वोत्कृष्ट नतीजा निकाल्न सफल
विजय पाठक
कार्यक्रम निर्देशक, सिमा
सन् २००४ मा सीए कोर्स शुरू गरेको सिमा एकेडेमिक्स प्रालिले नेपाल र भारत दुवै देशका सीए कोर्स पढाउँदै आएको छ । यो नेपाल चार्टर्ड  एकाउण्टेण्ट्स संस्था (आईक्यान)द्वारा सम्बन्धन प्राप्त संस्था हो । यहाँ नेपाल तथा भारतका बोर्डबाट सीए उत्तीर्ण गरेका दक्ष तथा अनुभवी शिक्षकहरू छन् । यसका आफ्नै पाठ्यक्रम र शैक्षिक सामग्री छन् । सिमाले पुस्तकालय र शिक्षकसँगको अन्तरक्रियाको सुविधा पनि दिँदै आएको छ ।  सीए पढ्नका लागि प्लस टूको पढाइ सकिएको हुनुपर्छ । तर, १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पनि सीए भर्ना हुन सक्ने व्यवस्था रहेको छ । त्यसैगरी प्लस टूमा यति नै प्रतिशत ल्याएको विद्यार्थीले मात्र भर्ना हुन पाउने भन्ने कुनै बन्देज राखिएको छैन । सिमाका कार्यक्रम निर्देशक विजय पाठक भन्छन्, ‘यदि विद्यार्थीमा म यो कोर्स पास गरेरै छोड्छु भन्ने प्रतिबद्धता छ भने ३५ प्रतिशत ल्याउनेले पनि सीए कोर्स पढ्न पाउँछन् ।’
मेहनतका साथ पढ्ने विद्यार्थीले एकै पटकमा पहिलो, दोस्रो र तेस्रो तह पार गरेका छन् । असफल भएकाहरूले पनि थप मेहनतका साथ परीक्षा दिएर कटाएका छन् । भारतीय बोर्डअन्तर्गत पढी नेपालबाट परीक्षा दिएका सिमामा पढेका विद्यार्थीले पनि टप गरेको रेकर्ड छ । सन् २०१४ र २०१५ मा नेपाल बोर्डबाट परीक्षा दिएकाहरू पनि टपमा आउन सफल भएका थिए । इच्छुक विद्यार्थीले पढ्न पाउने सीएको कोर्समा कुनै इण्ट्रान्स वा छनोटको प्रक्रिया छैन । कोर्स गाह्रो छ भन्ने हल्ला फैलिइरहेका बेला यसले विद्यार्थीलाई मोटिभेशनका साथै सीएको हरेक तहका विशेषता वास्तविक रूपबाट बुझाउने गर्दछ ।
नेपालमा आईक्यानको सम्बन्धन प्राप्त गरेपछि मात्र सीएका कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था आईक्यानले गरेको छ । तर, विना सम्बन्धन पनि सीए कोर्स चलाउन पाउनुपर्ने बहस उठिरहेको सम्बन्धमा विद्यार्थीहरूलाई भर्ना गर्नुभन्दा पहिला आईक्यानको सम्बन्धन प्राप्त संस्था हो कि होइन बुझेर मात्रै अगाडि बढ्नुपर्ने सल्लाह कार्यक्रम निर्देशक पाठकको रहेको छ ।
दुवै बोर्डमा टप गर्ने विद्यार्थी उत्पादन
दीपक पाण्डे
प्रबन्ध निर्देशक, एओसी
सन् २०११ मा स्थापना भएको सीए इन्ष्टिच्युट एकेडेमी अफ कमर्श रामशाहपथ (पुतलीसडक)मा रहेको छ । यसले नेपाल र भारत दुवै बोर्डका सीए कक्षाहरू सञ्चालन गर्दै आएको छ । अनुभवी विषयगत शिक्षकका साथै पर्याप्त पाठ्यसामग्री, पुस्तकालय र पुस्तक पसल समेतको व्यवस्था यो एकेडेमीमा रहेको छ । भारत बोर्डअन्तर्गत यहाँबाट पढेका एक विद्यार्थी पहिलो र दोस्रो तहमा अल इण्डिया फष्र्ट ¥याङ्कमा आउन सफल भएका छन् । त्यसैगरी सन् २०१५ को डिसेम्बर ब्याचका यहाँका एक विद्यार्थीले इण्डिया बोर्डअन्तर्गत सीए पढेका नेपालभरका विद्यार्थीमध्ये टप गरेका थिए ।
त्यसैगरी डिसेम्बर २०१५ कै नेपाल बोर्डअन्तर्गत पहिलो तहका उत्कृष्ट १० मध्ये पहिलो छोडेर क्रमशः सातजनाले यसै इन्ष्टिच्युटबाट टप गरेका थिए । एकेडेमी अफ कमर्श सातै दिन बिहान ६ बजेदेखि राति ८ बजेसम्म खुल्ने गर्छ । बिहानदेखि बेलुकासम्म बसेर पढ्ने विद्यार्थीको सुविधाका लागि भित्रै क्याण्टिनको पनि व्यवस्था गरिएको छ ।
यहाँ सीए पढ्न आउने विद्यार्थीलाई उसको सपना के हो, ऊ साँच्चै आफ्नै चाहनाले आएको हो वा कसैको करबल र देखासिकीमा आएको भन्ने कुराको निक्र्योल गरेर मात्रै भर्ना लिने गरिन्छ । विद्यार्थीलाई भेट वा फोन दुवै माध्यमले काउन्सिलिङ गर्ने गरिन्छ । सीए कोर्स गाह्रो छ, विद्यार्थीले बीचैबाट छोड्ने समस्या पनि छ । त्यसलाई कसरी समायोजन गर्नुभएको त भन्ने प्रश्नमा एकेडेमी अफ कमर्शका प्रबन्ध निर्देशक दीपक पाण्डे भन्छन्, ‘पहिलो तहमा त त्यस्तो छैन । दोस्रो तह गहन अध्ययन गर्नुपर्ने भएकाले एकै पटकमा पास नहुने पनि छन् । यस्तोमा फ्रष्टेशन हुने विद्यार्थीलाई म आफै पनि मनोसामाजिक परामर्शदाताको सल्लाहबमोजिम उनीहरूलाई काउन्सिलिङ गर्छु । यसपछि राम्रो नतीजासहित पास गरेका उदाहरणहरू पनि छन् ।’
यहाँका उत्पादन बेरोजगार बस्नुपरेको छैन
दीपेशकुमार थपलिया
प्रबन्ध निर्देशक, सीसीएमए
सीसीएमए सन् २००३ मा सिनीयर चार्टर्ड एकाउण्टेण्ट र प्रोफेशनल एक्सपर्टहरूको सामूहिक पहलमा शुरू भएको संस्था हो । पुतलीसडक, न्यूप्लाजामा रहेको यस संस्थाले नेपाल र भारत दुवै बोर्डअन्तर्गतका सीए कोर्स पढाउने गरेको छ । यो नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (आईक्यान)द्वारा सम्बन्धन प्राप्त संस्था हो । विभिन्न समयमा गरी दुवै बोर्डमा सीसीएमएको उत्कृष्ट नतीजा रहेको छ ।
यहाँका उत्पादनहरू नेपालमा बेरोजगार बस्नुपरेको छैन । उनीहरू राष्ट्र बैङ्क, कमर्शियल क्षेत्र, नेशनल÷मल्टिनेशनल कम्पनी, होटल र इन्स्योरेन्स कम्पनीहरूमा काम गरिरहेका छन् । यसबाहेक भारत, क्यानडा, अष्ट्रेलिया र खाडी मुलकुहरूमा पनि सीएकै काम गरिरहेका छन् ।
यस इन्ष्टिच्युटले समय सापेक्षित रूपमा कोर्सको अपडेट गर्ने गरेको छ । प्रत्येक व्यक्तिमा सम्भावना देख्ने यस संस्थासँग जुनसुकै फ्याकल्टीबाट आएका विद्यार्थी पनि पढेर सफल भएको अनुभव छ । ‘पहिले जस्तो धैर्य राखेर पढ्ने बानी अहिलेका विद्यार्थीमा कम छ,’ सीसीएमएका प्रबन्ध निर्देशक दीपेशकुमार थपलियाले भने, ‘नत्र भने प्लस टूमा जुन विषय पढेर आए पनि कडा मेहनत गर्न सक्ने विद्यार्थीले सीए पास गर्न सक्छन् ।’
यहाँ दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा आफ्नै पाठ्यपुस्तक पढाइ हुन्छ । पढाइसम्बन्धी बुझ्न आउने विद्यार्थीलाई सीए कोर्सबारे राम्ररी बुझाइन्छ । नेपालमा सीएको माग बढ्दो रहेका बेला राम्रो अवसर भए पनि जति मात्रामा विद्यार्थी यो कोर्समा आकर्षित हुनुपर्ने हो, त्यति नभएको निर्देशक थपलियाको अनुभव छ । यसले पार गरेको अवधि, जस्तोसुकै परिस्थितिमा पनि भइरहेको निरन्तरता, पाठ्यपुस्तकमा समयसापेक्ष हुने परिमार्जन, यसले ल्याइरहेको उत्कृष्ट नतीजा तथा आईक्यानद्वारा सम्बन्धन प्राप्त संस्था हुनुजस्ता विशेषताका कारण सीए पढ्ने विद्यार्थीका सीसीएमए नै उत्कृष्ट छनोट हुन सक्छ ।

http://www.abhiyan.com.np/new/Articles/view/79036
http://www.abhiyan.com.np/new/Articles/view/79035