Tuesday, December 27, 2016

जलविद्युत् उत्पादन कम्पनी : कोखाजोर आयोजना पहिलो चरणमा

पुस ११, काठमाडौं । कोखाजोर जलविद्युत् आयोजना ऊर्जा मन्त्रालय अन्तर्गतको जलविद्युत् उत्पादन कम्पनीद्वारा निर्माण हुने पहिलो चरणको आयोजनामा पर्ने सम्भावना रहेको छ । आयोजनाको सम्भाव्यता अध्ययनका लागि आइतवार सिन्धुली पुगेका ऊर्जामन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।
सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने कोखाजोर खोलामा उक्त जलाशययुक्त आयोजना निर्माण हुने सम्भाव्यता पहिचान भएको छ । सो आयोजनाको विद्यत् उत्पादन क्षमता १ सय ११ दशमलव ५ मेगावाट हुने बताइएको छ । आयोजना छिटोभन्दा छिटो निर्माण गर्न सिन्धुलीका स्थानीय बासिन्दाले पनि सरकारलाई दबाब दिँदै आएका छन् । मङ्सिरको पहिलो साता सिन्धुलीको मरिणखोलामा निर्मित पक्की पुल उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीसमक्ष पनि उनीहरूले उक्त आयोजना निर्माणको माग राखेका थिए ।  
सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एशियामा जलस्रोत तथा जलविद्युत् विकाससम्बन्धी पाँचौं अन्तरराष्ट्रिय सम्मेलनले नेपालमा ५० भन्दा बढी ठूला तथा पम्पड स्टोरेज आयोजनाको सम्भाव्यता रहेको पहिचान गरेको थियो । त्यसमा नेपालमा निर्मित, निर्माणाधीन, अध्ययन सम्पन्न साथै अध्ययन हुन बाँकीलगायत आयोजना समेटिएका छन् । कोखाजोर पनि तिनैमध्येको एक जलविद्युत् आयोजना हो ।
 
मन्त्रालयद्वारा निर्मित जलविद्युत् कम्पनीमा हालसम्म प्रमुख कार्यकारी अधिकृतको नियुक्ति मात्र सकिएको छ । जलस्रोत क्षेत्रसँग सम्बद्ध मोहनराज पन्त सो पदमा नियुक्त भएका छन् । अन्य पदका कर्मचारी नियुक्तिदेखि अन्य धेरै कामसमेत बाँकी नै छन् । सञ्चालक समितिले पहिलो चरणमा निर्माण गर्ने आयोजनाको छनोट गरेपछि कम्पनीको काम अघि बढ्ने ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थ बताउँछन् । ‘कम्पनीले सम्भाव्यता पहिचान मात्र गरिएका वा केही चरणका काम सकिएका आयोजना पहिलो चरणमा अघि बढाउँछ, अहिल्यै भन्न सकिँदैन,’ उनले भने ।
विद्युत् उत्पादनदेखि वितरणसम्मको एकाधिकार प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणले कुलेखानीपछि जलाशययुक्त आयोजना निर्माण गर्न सकेको छैन । आफै आयोजना निर्माण गर्नेभन्दा पनि सहायक कम्पनीद्वारा गराउनेमा प्राधिकरणको ध्यान बढी केन्द्रित छ ।
प्राधिकरणको क्षमतालाई चुस्त बनाउन जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाई अलग्याउनु पर्ने प्रस्ताव निकै अघिदेखि नै आउने गरेको थियो । विवाद र लामो समयको गतिरोधपछि हालै ऊर्जा मन्त्रालयले विद्युत् उत्पादन र प्रसारण कम्पनी स्थापना गरेको हो ।
यसबाट द्रुत गतिमा जलविद्युत् उत्पादन कार्यलाई अघि बढाइने ऊर्जामन्त्री शर्माले बताउँदै आएका छन् । मन्त्रालयले जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेपछि प्राधिकरण आफैले पनि सोही प्रकृतिको कम्पनी स्थापना गरेको छ । यसले गर्दा प्राधिकरणले अघि बढाउने भनिएका बूढीगण्डकी, उत्तरगङ्गा, नलसिंहगाड, नौमुरेजस्ता जलाशययुक्त ठूला आयोजना प्राधिकरणकै कम्पनीले अघि बढाउने हो कि ऊर्जा मन्त्रालयको कम्पनीले अझैसम्म टुङ्गो लागेको छैन ।
Source: http://www.abhiyan.com.np/new/Articles/view/90404

No comments:

Post a Comment