Monday, November 18, 2013

खेलको जित हारले पार्टी बदलिन्थ्यो

स्कुल गएको दिन स्कुलबाट फर्किएपछि र स्कुल नगएको दिन बिहान ९ देखि साँझ ५–६ बजेसम्म केटाकेटी भएका घरको गाई बाख्रा चराउने जिम्मा केटाकेटीलाई नै हुन्थ्यो । सुनसरी जिल्लाको डुम्राहा गा.वि.स. ३, खोरियाका केटाकेटीको चरन बाली लागेको बेला सेरा खोला पारी र नलागेको बेला बाद (खेत)मा हुन्थ्यो । अहिले सम्झिँदा त्यो २०५१ को निर्वाचनको बेला रहेछ । गाईलाई धामीको घाट तारेर  बाख्रा वारी नै चराउँदै खेल्दै गथ्र्यौं । सामान्यतयाः खेलिने छोइ डुम (अहिले विश्लेषण गर्दा बाल मस्तिष्कमा जातीय छुवाछुतको बिजारोपण गर्न यो खेल सशक्त रहेको भान हुन्छ), आसपास (लुकामारी), तित्ति (घ्वाईँ), दश खोपी, गट्टी, डोरी (स्किपिङ्), चुंगी, पौडी छोडेर यतिबेला हाम्रो खेल बनेको थियो तानातानी (दुई समूह बनाई प्रत्येक समूहका सदस्यहरु एकको कम्मरमा अर्कोले समाएर दुबै एकले अर्को समूहको व्यक्तिलाई आफूपट्टी तान्ने खेल)  ।

यदाकदा अरु बेला पनि खेलिने यो खेलमा नयाँ चिज थपिएका थिए टिका र ब्याच । दिनभरी कुन्नी कता गएर आउने, बाबु, दाजु, काका, मामाहरुले ल्याउने विभिन्न रंग (रंग बिर्सिएँ) र चित्र भएका ति टिका र ब्याच हाम्रो खेलको पक्ष निर्धारक हुन्थे । एउटा हातको सिर्कनाले गाईबाख्रा धपाउँदै अर्को हातमा तिनै टिका र ब्याच मुठ्याएर घरबाट निस्किँदा मनमा कुत्कुती हुन्थ्यो, आज कोसँग धेरै होला ? अनि कोसँग रुखवाला होला, कोसँग सूर्यवाला होला ? आफूसँग भएको चित्र हुने साथीहरु बलियो बलियो परे हुने !

यस्तै यस्तै सोच्दै घरबाट निस्किएर सबैका जेरमा मिसिँदै घाटसम्म पुग्दा कोसँग कुन चित्र छ, लगभग थाहा भइसक्थ्यो । हेइट्, हुइट् गर्दै गाईका जेरलाई पानी पनि खान नदिई खोला तारेपछि आ आफ्ना टिका र ब्याच देखाउने कार्यक्रम हुन्थ्यो । त्यही भिडबाट कुन्नी कसले अथ्र्यायो कुन्नी, रुख भनेको कांग्रेस र सूर्य भनेको त एमाले पो अरे ! भन्न जानिराखेको रुख र सूर्य बदलिएर कांग्रेस र एमाले भएपछि नयाँ नाम सम्झिनै निक्कैबेर लाग्यो । नाम बिस्तारै याद हुँदै गयो तर खेल भने सुरु भइहाल्यो ।

आफूसँग सूर्य भएकाहरु एकातिर र रुख भएकाहरु अर्का तिर छुट्टियौं । आफूसँग केही नभएकाहरुलाई दुई मध्ये जसले सक्छ उसैले फकाएर, घुक्र्याएर, धम्क्याएर जसरी सकिन्छ उसरी आफूतिर लान्थे । कसैकसैसँग सायद अरु पनि चित्र हुन्थे क्यारे ! तर उनीहरुको संख्या कम हुने भएकाले कि नखेली बस्नुपर्थ्यो, कि खेल्न तयार समूहमध्ये एउटाको पक्षमा जानुपर्थ्यो । त्यसपछि सबैले आ आफ्नो पक्षको ब्याच छातीमा पर्नेगरी लुगामा खिप्ने र टिका निधारमा लगाउने गर्नुपर्थ्यो ।

यति गरिसकिएपछि भुईँमा लामो धर्का कोरिन्थ्यो अनि सुरु हुन्थ्यो तानातानी । यसरी तान्दा हार्ने पक्षको जति जनालाई तानेर कोरिएको धर्कोबाट आफू पट्टी पारिन्थ्यो, ती आफ्नो पार्टीका हुन्थे । यसरी तान्ने क्रममा झ्याली भएको भएर वा अर्को पक्षको फकाइमा लागेर आफ्नो समूहकाले पार्टी बदल्न पनि सक्थे । यसरी फकिएर पार्टी बदल्नेसँग पहिलो पार्टीकाहरु खुब रिसाउँथे । कति त बोल्दैन पनि थिए र आफ्नो पक्षका अरुलाई पनि ऊसँग नबोल्न उर्दी जारी हुन्थ्यो । उर्दीको विरुद्धमा कोही गएको थाहा पाएमा ऊ पनि समूहबाट बहिस्कृत हुन्थ्यो, ऊसँग पनि नबोल्न बाँकीलाई उर्दी जारी हुन्थ्यो । तानातानी खेल त्यतिखेरसम्म जारी रहँन्थ्यो जतिबेलासम्म दुईमध्ये एक पक्षमा एकजनासम्म पनि बाँकी हुन्थ्यो । यसरी तानिएर अर्को पार्टीबाट आएकालाई सबैभन्दा पछाडी राखिन्थ्यो, किनकि अगाडी राख्यो भने आफ्नो पहिलेको पार्टीलाई जिताउन उताबाट तान्नु साटो आफैं उतै तानिने कोशिस गर्छ भन्ने मान्यता राखिन्थ्यो ।

एक पटक जित हार भइसकेपछि फेरी पूर्ववत् रुपमै पार्टी गठन हुन्थ्यो र अघि हार्नेले अब कसरी जित्ने भन्ने रणनीति बनाउँथ्यो । यसरी दिनभरी यही खेल जारी रहँन्थ्यो । अन्त्यमा कुन पार्टीले कति पटक जित्यो ? कसले झेली गर्यो ? के गरेको भए के हुन्थ्यो ? कसको के कमजोरी रह्यो भन्ने विषयमा विवादसँगै समिक्षा गर्दै गाई बाख्रा लिएर घर फर्किन्थ्यौं ।

त्यसको केही दिनमा दिनभरी रेडियो नेपालले फलानो ठाउँमा फलानो पार्टीका उमेदवार फलानाको यति भोट, तिलानाको यति भोट भन्न थाल्थ्यो । बा, दाजु, काका, हजुरबाहरु घरमा रेडियो हुने एक्लाएक्लै र नहुने हुनेका घरमा भेला भएर रेडियोमा कान थापेर बस्थे । यसरी सुन्न पनि सकेसम्म आफ्नो पक्षको पार्टीमा भोट हाल्नेकै घरमा जान्थे । किनकि हामीलाई थाहा हुन्थ्यो नि त उनीहरुमध्ये कसका छोराछोरी (हाम्रा साथीहरु) का हातमा कुनकुन चित्र थियो । घरका आमा, काकीहरुलाई ति सप्पैलाई चिया र खाजा बनाएर खुवाउने, घाँस काट्ने, भान्सा, गाईबाख्रा, केटाकेटी सबैको चटारो थपिन्थ्यो ।

अरु नेताको त्यत्ति हेक्का छैन । चक्रप्रसाद बास्तोला, विजय गच्छेदार भनेको चाहीँ अझै पनि याद आउँछ । प्राय उनीहरुले नै जित्थे कि क्या हो ! रेडियोले फलाक्न छाडेपछि गाउँ एक पटक आँधी आउनु अघिको शुन्यता झैं शुन्य हुन्थ्यो । एक हुल गाउँलेको सासै बन्द भयो कि जस्तो हुन्थ्यो भने एक हुल त गावैं छोडेर कतै ठूलो सहरमा जाने तयारीमा पो छन् कि जस्तो हुन्थ्यो । हामी केटाकेटी भने ति टिका र ब्याच हराएर नसकिउञ्जेल खेल जारी राख्थ्यौं ।

Sunday, November 3, 2013

सम्धिनी

“हैन यो तरकारी पनि के विधि महंगो भाको भन्या !” अझैसम्म लगाइराखेको हेल्मेट दायाँ हातले टाउकोबाट उतार्दै अनि बाँया हातको तरकारीको झोला डाइनिङ् टेबलमा राख्दै मिनाले भनिन् ।

“एक जनाको मात्रै (सि............................)

“कुकरको सिट्ठीले केही बुझिनँ । के भन्दै हुनुहुन्थ्यो नि ?”

“ए..! यस्तो महंगीमा एकजनाको मात्रै कमाइ भएको भए बाँच्न नसकिने रहेछ भनेको के !”

सि..................................

“दुई सिट्ठी लागिसक्यो, के बसालेको हो ?”

“मुसुराको दाल”

“ए त्यसो भए अब ३ सिट्ठी जतिमा निकाले हुन्छ ।”

“था छ के था छ त्यत्ति जाबो त !”

“खुब थाहा भएरै होला भात पकाउन जान्ने केटी ब्या गर्नुपर्या !” एउटा आँखा झिम्क्याउँदै हँसिलो स्वरमै डायलग मारिन् ।

वास्तविकता हो पनि ।

सि..................................

(सिट्ठी रोकिने बित्तिकै) आफ्नो बचाउ गर्दै मैले नि डायलग मारें “त्यही त भात पकाउन जान्ने केटी भनेर ब्या गर्या त भात पकाउन सिकाउन जान्ने केटी पो फेला पारिएछ ।”

“ल ठिकै छ नि त, भोलिदेखि म भातै मात्रै पकाएर बस्छु, कमाउने धमाउने चाहीँ तपाईँको जिम्मा है त ?”

“अहँ म मेरी बुढीलाई घरभित्रका काममा सिमित गरेर असमझदार श्रीमान बन्दिनँ ।” भन्दै आफ्ना दुई हत्केलाले उनका दुई गाला च्यापें ।

उसले लाडिंदै “चेपारे !”

सि.........................

म दाल निकाल्न थालें ।

“खोइ तरकारी के छ ?” कुर्सीमा बस्दै भनिन् ।

“जे सुकै भए नि के मत्लव ? बेलुका काम सघाएर भ्याइनँ भन्नलाई ? तिम्रो काम गर जाऊ । म त बिहान भात पकाउँदिँन नि !”

“हाहाहा, ल हेर रोएको ! आज मेरो काम छैन के बुढा !

“त्यसो भए...” आलु, अदुवा र चक्कु उनीतिर सारिदिँदै, “लौ यो ताछ, म साग पखाल्छु ।”

“अनि बा आमा खोइ त ?”

“यसो हावा खान भनेर निस्किनुभाछ । ”

“अँध्यारोमा बा राम्ररी आँखा नि देख्नुहुन्न । किन पठाउनुभाको ?”

“बा आफैंले बुहारी आउन ढिलो हुन्छ तँ खाना पकाउँदै गर्, मलाई साथी सम्धिनी हुँदै हुनुहुन्छ भनेर जानुभाको हो ।”

“ए ए त्यसो भए त ठिकै छ । साँच्चि के, एउटा कुरा गर्न मन लागिराको थियो, भनुम् कि नभनुम् ।”
“के हो भनन ।”

“बा आमाको मिल्ति तपाईँलाई कस्तो लागेको छ ?”

“ए तिम्रो कुरा मैले बुझें । तिमीले सोचे जस्तै ४ दिन अघि मैले पनि सोचेको थिएँ ।”

उनी केही सोचमा डुबिन् ।

४ दिन अघि म अफिसबाट आउँदा बा आमा (सासूआमा) दुबैजना घरमा हुनुहुन्न थियो । ढोका पनि बन्द थिएन । मिना त अफिसबाट फर्किने बेलै भएको थिएन । त्यसैले म त उहाँहरु कतै गएको मौकामा चोर पो पसेछ कि क्या हो भनेर आत्तिँदै कोठा कोठा चहार्दै छतमा पुगें ।

छतमा त प्लास्टिकको गुन्द्रीमा बसेर आमा बालाई टाउकोमा तेल मालिस गरिदिँदै हुनुहुँदो रहेछ ।
मलाई देख्ने बित्तिकै आमा झस्किनुभयो ।

“साह्रै टाउको दुख्यो, तिमीहरु काममा गएका मान्छेलाई के बोलाउनु भन्दैथिएँ, सम्धिनीज्यूले म खाली त थिएँ नि के गरुँ त खै भन्नुभयो । त्यही भएर मैले नै कर गरेर तेल लगाउन लगाको ।” बाले हत्त न पत्त स्पष्टिकरण दिनुभयो ।

के भन्ने के नभन्ने मैले सोच्नै सकिनँ ।

“ज्वाइँ नारान, सम्धिज्यूलाई गाह्रो भाको देखेर मैले त केही सोच्नै भ्याइनँ”, आकासतिर फर्किएर दुई हात जोडेर, “हे भगवान मलाई पाप नलागोस् ।”

“हैन आमा ठिकै छ नि, हजुरले के नै गर्नुभएको छ र पाप लाग्न ।” मलाई यही भन्न आएछ ।

मौनता भंग गर्दै मिना बोलिन्, “आमालाई यहाँ राखेर हामीले केही गल्ति त गरेका छैनौं नि ?”

“के गल्ति गरेका छौं र ? हामीले उहाँलाई नल्याएर अरु उपाय नै पो के थियो र भनन । त्यो पनि उहाँको स्वास्थ्यले साथ दिउञ्जेल र गरेर खान सकुञ्जेल त कहाँ कर गरेर पनि ल्याउन सक्यौं र ?”

“त्यही त ! मै एउटी गर्भे टुहुरीको मुख हेरे बाँच्नुभएकी उहाँलाई यो अवस्थामा पनि एक्लै छोड्नु त पापै बोक्नु होला भनेर ल्याको ।”

“अनि के चाहीँ बिग्य्रो त ?” मैले आफ्नो पनि मनमा रहेको धुक्चुकलाई दबाउँदै प्रश्न गरें ।

“बिग्रिन त केही बिग्रेको छैन, तर पनि अरुले देखे के भन्लान् भन्ने डर कता कता मनमा लागिरहन्छ र नि !”

मलाई पनि उनलाई चित्त बुझ्ने गरी दिने जवाफ ठ्याक्क आउँदै आएन । “अरु उपाय केही छ त तिमी नै भन त !”

“के उपाय हुनु ? बैंसमै बिधवा भएर जीवनसाथीको साथ र माया बिर्सिसक्नु भएकी मेरी आमा अनि अथाह माया गर्ने जीवन संगीनी गुमाएर जीवनको सुर गुमाउनु भएका तपाईँका बामा यो मिलनले ल्याएको थोरै भए पनि खुसी देख्दा मनै आनन्दित हुन्छ, फेरी समाजको रीति, परम्परा भन्नेहरुले प्याच्च केही भनिदेलान् कि भन्ने डर लाग्छ ।”

अब टोलाउने पालो मेरो । उनी धाराप्रवाह बोलिरहिन्,

“३ महिनासम्मको बिरामीबाट उठेको दिन पनि उतै घर जाने भनेर गन्गन् गरिरहँनुभएको थियो ।  यहाँ भए दिउँसो दुबैजना अफिस गए नि बिहान बेलुका त तातो, न्यायो गर्न सकिन्छ भनेर पोको पारेर लिएर आएँ ।
तपाईँलाई याद छ, सुरुका २ महिना जति त सम्धीका अघि बस्नु, दोहोरो बोल्नु हुँदैन भनेर जतिखेर पनि टाउको ढाकिरहँनुहुन्थ्यो । बा भान्सामा भए आफू कोठामा, बा बार्दलीमा भए आफू छतमा भागीभागी हिँड्नुहुन्थ्यो ।

आमाको त्यो अस्पट देखेर त आमालाई सजायँ नै पो कटाउँदैछु कि क्या हो भन्ने लागेर संभावित विकल्पहरु पनि नसोचेको होइन । अर्की एउटी बहिनी वा भाइ नै मात्रै भइदिएको भए पनि हुन्थ्यो । तर काका मामाकामा भने राख्नु ठिक नलागेरै लगिनँ ।

यो विषयका कत्ति कुरा त तपाईँलाई के तनाव दिनु भनेर भनेकी पनि छैन ।”

“त्यही त, तिमीले नभन्दैमा मलाई थाहा हुन्न नि ! जे होस् आमालाई यहीँ राख्ने, बिस्तारै सहज हुँदै जान्छ भन्ने निष्कर्षमा पुगेको थिएँ म त । जसरी मेरो बाको ममाथि आश्रित हुने हक छ, त्यसैगरी तिम्रो आमाको तिमीमाथि, अनि विकल्प किन सोचिरहँनुपर्यो र ?”

“त्यो त मानें बाबा । आमाले असहज मानेको कुरामा पो विकल्पको कुरा सोचेको नि । अब त्यो परिस्थिति पनि छैन, त्यो त ढुक्क भो तर जोरीपारीसँग पो डर लाग्दैछ, के गर्ने होला ?”

“अमममममम् बा आमालाई यसो समय दिनुपर्ने बेलाका नातिनातिना विदेश लागिहाले, हामी दुबैलाई दौडादौडी नगरी व्यवहार चल्दैन, के गर्ने त ?”

“फेरी एउटा कुरा के, भेडा भेडासँग बाख्रा बाख्रासँग भनेजस्तो बुढाबुढीको कुरा बुढाबुढीले नै सुन्ने बुझ्ने हुँदोरेछ कि क्या हो । हिजो म अफिसबाट फर्किँदा बा आमा आ–आफ्ना विगत, आ–आफ्ना जीवनसाथीका बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । ति कुरा सुन्ने चाख, धैर्यता अब विस्तारै उहाँहरुको उमेरमा पुग्ने बेला भएका हामीलाई त हुन्न, केटाकेटीलाई कहाँ हुन्छ र ?”

“त्यो त हो, मलाई नै कत्ति एउटै कुरा गन्गन् गरिरा होला भनेर झर्को लाग्छ ।”

मुल ढोका च्वाइइँ गरेर करायो ।

बा आमा आउनुभए जस्तो छ, मिनाका आँखा ढोका तिर सोझिए ।

“लौ लौ लौ सम्धिनीज्यूलाई दम बढो, झट्टै ओखती द्याओ ।” भन्दै दाहिने हातले लट्ठि टेक्दै देब्रे हातले आमालाई अंगालो मारेर आउनु भएका बाले आत्तिँदै आमालाई कुर्सीमा राख्नुभयो । मिनाले हत्त न पत्त इन्हेलर ल्याएर आमाको मुखमा फुस्फुस् पारिदिने बित्तिकै आमाको स्याँस्याँ कम भयो ।

एकछिनको मौनता पछि, “आज सम्धीज्यू नहुनु भएको भए म त बाटैमा स्याँस्याँ गर्दै मर्थें होला ।”

आमाको कुराले एकचोटी पैतालादेखि टुप्पीसम्म सिरिङ् गर्यो । मिनाको अनुहारमा पनि त्यस्तै अनुभूतिको प्रतिकृया देखिँदै थियो । हामी केही बोल्न सकेनौं, केवल एक अर्कालाई हेरिमात्रै रह्यौं । एकछिन् अघिको जोरीपारीको प्रसंग कहाँ हरायो पनि थाहा भएन ।