Wednesday, April 25, 2012

मेरा बा


सब भुल मोक्ष गर्ने कुण्ड हुन् मेरा बा 
विशाल अनि शान्त समुन्द्र हुन् मेरा बा 
चाहे धर्ती फाटोस् चाहे आकाशले थिचोस् 
व्यवहारका घट्टले जति सुकै पिसोस् 
न बोली हड्बडाउँछ न खुट्टा लर्बराउँछन् 
म हेर्या हेर्यै हुन्छु अखण्ड हुन् मेरा बा 
१३ बैशाख २०६९ बिहान

Tuesday, April 24, 2012

मिडियाकै लैंगिक पुर्वाग्रही व्यवहार


पत्रकार भन्ने बित्तिकै सामान्यतयाः समाजमा भएका घटनाको यथार्थ चित्र प्रस्तुत गर्ने र आम मानिसलाई जानकारी गराउने पेशाधारी भनेर चिनिन्छ र पत्रकार भनेको सचेत र न्याय दाताका रुपमा पनि बुझिन्छ । तर त्यही पत्रकारका मसी र आवाज न्यायमुखी र समानताको पक्षधर चाहीँ छन् कि छ्रैनन् जाँच्नु जरुरी भइसकेको छ ।
पत्रकारको काम ट्वाल्ल परेर हेर्दा जे देखिन्छ त्यसलाई खर्खर्ती लेख्नु मात्र होइन, त्यसका आन्तरिक, बाह्य अनि दायाँ बायाँका पक्षलाई पनि केलाएर हेर्नु पर्दछ र पत्रकारितामा प्रयोग हुने एउटा शब्द ‘सन्तुलन’ गर्नु पर्दछ । सन्तुलन आरोपी र आरोपित, पीडक र पीडितमा मात्र होइन एक पक्षभित्र पनि गर्नु आवश्यक छ, जस्तो कि लैंगिक सवालमा ।
पत्रकारहरु र संचारमाध्यमहरु लैंगिक सवालमा उदार हुँदाहुँदै पनि कहाँ असंवेदनशिल र असन्तुलित भइरहेका छन्् प्रष्ट्याउनु नै यस लेखको उद्देश्य हो ।घटना सन् २०१० को मध्य तिर सुनसरी जिल्लामा भएको हो । ससुरा र बुहारीबीचको यौन सम्बन्धको कुरा लुकाउन दुबै मिलेर पाँच वर्षकी आफ्नै सन्तानको हत्या गरेका थिए । कुरा यहि हो । समाचार बन्यो । बन्नु पनि पथ्र्यो । किनकी त्यहाँ दुईवटा अपराध भएका थिए, एक सामाजिक अपराध र दोस्रो ज्यान मार्ने अपराध । अनि दुबै अपराधमा दुबै जना संलग्न थिए । समाचार बनाउने र सम्पादन गर्नेहरुले पनि यस कुराको महशुस गरेका थिए होलान् । तर समाचार प्रकाशित भयो ‘ससूरासँगको यौन सम्बन्धको कुरा लुकाउन आफ्नै छोरीको हत्या’ जस्ता शीर्षक दिएर अनि समाचारको कुनै भागमा लेखिएको थियो ‘पती र देवर वैदेशिक रोजगारीमा गएपछि उनले ससुरा सँग सम्बन्ध बढाएकी थिइन्’ ।
नौ महिना गर्भमा राखेर, मृत्युको मुखमा पुगेर जन्माएकी आफ्नै सन्तान मार्ने आमा निर्दयी हो, कठोर, पापी र अपराधी हो तर नातिनी मार्न सघाउने, अझ केही पर्ने अवस्था भए राती नै भागेर भारत जाउँला भनेर बुहारीलाई उकास्ने र छोराहरु विदेश गएको मौकामा जवान बुहारीसँग सम्बन्ध बढाउने ससुरा पनि त कम दोषी हो र ? तर समाचार आयो एक पक्षिय रुपमा महिलालाई मात्र दोषी देखाएर । जहाँसम्म समाचार लेख्नेको सवाल छ, यो समाचार सोही स्थान वा सुनसरी जिल्लाभित्रै बसोबास गरी त्यहाँको समाज र परिवेशलाई बुझेको व्यक्तिले लेखेर पठाएको हुनुपर्छ । त्यसो हो भने त्यो घटना भएको परिवार ‘खत्वे’ अर्थात् मधेशी समुदायको पनि दलित जाति पर्दछ । यसरी हेर्दा र ससुरा बुहारीबीच बढेको सम्बन्धलाई केलाउने हो भने समाचारमा भनिए जस्तै पती नभएको बेला बुहारीले ससुरासँग सम्बन्ध बढाएको भन्ने उल्लेख हुनु कत्तिको सान्दर्भिक होला ? एक त मधेशी समुदायका पढेलेखेका, उच्च घरानाका वा सासू भइसकेका बाहेकका महिलाहरु अझै पनि टाटी बेरा (बाँसको हाँगा वा सेउलाले बनाएको पर्खालको रुपमा प्रयोग हुने) भित्र सीमित हुन्छन्, आफ्नै श्रीमानलाई समेत ठाडो शिर गरेर हेर्ने आँट गर्न नसक्ने अवस्थामा छन् । त्यसैगरी दलित जाति जसको अर्को विशेषता गरिबी पनि हुन्छ र त्यसभित्रका महिलाको आँट र हैसियत अझ तल हुन्छ ।
यो पाटोलाई छोडेर आम नेपाली महिलालाई नै हेर्ने र उनीहरुको यौन सम्बन्धको पाटोलाई केलाउने हो भने पनि आफ्नै श्रीमानसँगको सम्बन्धमा त अधिकांश महिला श्रीमानको इच्छामा र कतिपय अवस्थामा अनिच्छामा समेत सहभागी हुन बाध्य भएको, त्यसैगरी यो सम्बन्धका बारेमा आफ्नै श्रीमानसँग खुलेर कुरागर्न नसक्ने विभिन्न अनुसन्धानले देखाएका छन् । आम नेपाली महिलाको यो यथार्थ अनि खत्वे समुदायकी महिलाको सामाजिक अवस्थालाई ध्यान नदिई आफ्नो श्रीमान इतर त्यो पनि ससुरासँग सम्बन्ध बढाइन् भनी लेखिनु घटनाको सामाजिक परिवेश र यथार्थलाई नपहिल्याई आम मानिसहरुले झैं आँखा चिम्लेर महिलालाई दोषेको बाहेक अरु केही हुँदै होइन । 
आखिर पत्रकार जस्तो धेरै कुरा जानेका सबैले जान्ने बुझ्ने भनेर मानेका पेशाधारीले किन लेखे त समाचार त्यसरी ? यदि सही त्यही नै थियो भने बरु कहिले र कस्तो अवस्थाबाट ससुरालाई त्यस सम्बन्धका लागि कसरी राजी गराइन् त्यो पनि लेखेको भए लेख्नेलाई पनि चाख लाग्दो र समाचार पनि पुष्टियुक्त हुने थियो कि ?
अर्कोतिर नातिनी मार्ने कार्यमा बुहारी भन्दा बढी दोषी ससुरा छन् । किनकी मार्ने कार्यमा बुहारीको जत्तिकै भूमिका ससुराको पनि छ भने केही परे भागेर भारत जाउँला भनी उनले दिएको ढाडस त्यो अपराध गराउन थप सहयोगी बनेको छ । यसरी बुहारीसँग सम्बन्ध बढाएर सामाजिक अपराध गर्ने र नातिनीको ज्यान मार्ने, मार्न उत्प्रेरित गर्ने पुरुषको दोष लुकाएर एक पक्षिय समाचार लेख्ने व्यक्ति सामान्य मानिस भन्दा के आधारमा फरक भयो त ?
समाचार यसरी लेखिनुको पछाडिको कारणमा त्यो समाचार लेख्नेहरु महिला वा पुरुष जे भए पनि पुरुषवादी चिन्तन भएका हुनु पर्दछ । नत्र लैंगिक समानताको चिन्तन भएको व्यक्तिले लेखेको समाचार हुन्थ्यो भने घटना, घटनाको पृष्ठभूमि अनि सामाजिक परिवेश सबैलाई केलाएर लैंगिक असमानता नहुने गरी लेखिएको हुन्थ्यो । त्यसैगरी सम्पादन गर्ने ठाउँमा लैंगिक समानताको चिन्तन भएका व्यक्ति हुन्थे भने कि त आफ्नो समाचारदातालाई लैंगिक रुपमा समान गरेर, घटनाको यथार्थताका आधारमा लेखी समाचार पठाउन भन्थे कि यस्तो असन्तुलित समाचार प्रकाशन नै गराउँदैनन् थिए ।
यो त पत्रकार र पत्रकारीतामा विद्यमान पुरुषवादी चिन्तनको एउटा उदाहरण मात्र हो । यस्ता उदाहरण खोज्दै जाने हो भने प्रशस्तै भेटिन्छन् । पत्रकारितामै यसरी तलदेखि माथिसम्म पुरानै सोच र चिन्तनमा परिवर्तन, समानता र सन्तुलनको कुनै आवश्यकता महशुस छैन भने यस्तो पत्रकारिताबाट सुचित हुने आम पाठक कसरी सू—सुचित हुन सक्छन् ? अनि महिलालाई हेर्ने दृष्टिकोण, लगाइने वचन र गरिने व्यबहारमा कसरी आउँछ परिवर्तन ? साँच्चै समाज बदल्ने हो भने पत्रकार र पत्रकारिताको सोच र चिन्तनको दायरा फराकिलो र गहिरो बनाऊँ र त्यसैगरी गरौं सूचनाको संप्रेषण अनि हेर्दै जाऊँ समाज आफैं बदलिने छ ।

२०१० को डिसेम्बर तिरको नवयुवा मासिकमा प्रकाशित ।

Friday, April 20, 2012

पहाड



यी अजंगका पहाड उपत्यकाका पर्खाल मात्र होइन रहेछन्, 
शहरका हो हल्ला, रिस, इष्र्या, अहं, मोह सारा कुराका अग्निरेखा रहेछन् । 
यीनका अटलता मानवलाई दृढता सिकाइरहेछन्, 
यीनका विशालता मानवलाई विशाल सोच र हृदयकालागि आग्रह गरिरहेछन्, 
यीनका घना मानवलाई गहनता सिकाइरहेछन् । 
एकै पहाडका उच्च र खोंचमा परेका घाम र छायाँले, 
मानव जीवनका सुख र दुःखका अपरिहार्यता देखाइरहेछन् । 
हेर्ने आँखा भइदिए, सुनने कान भइदिए, बुझ्ने मन भइदिए,
पहाडले धेरै धेरै कुरा सिकाइरहेछन् ।

२०६९ बैशाख ३
चीसापानी सिन्धुपाल्चोक र नुवाकोटको सिमाना
कि्रयटिभ जर्नी समूहको पहिलो यात्रामा रचित

Tuesday, April 17, 2012

गजल


         
आऊ कृष्ण आज फेरी वृन्दावनको खेल खेलौं ।
अब म पास अनि तिमी चाहीँ फेल खेलौं ।

डाकेकीछु गोपीहरु रात्री भोज गर्नलाई
तिमी हेरी बस है त म छुक्छुक् रेल खेलौं ।

घरी तिम्रो छातीमा शीर घरी अर्कै अंगालोमा
म पनि त एक फेर मायाको जाल झेल खेलौं ।

हैन हावापानी सधैं तिमी तिरै कहाँ बग्छ
म नि राधे राधे भन्दै उर्लिनेको भेल खेलौं ।

मस्ती गयौै्र मलाई र्वाई युगले आज थुकीरहेछ
कि त मेटाऊ लागेको दाग कि दुबैको मेल खेलौं ।

            दुर्गा लामिछाने
        १४ मार्च २०१२
        राती १२ः ५४