Sunday, December 25, 2016

चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, विद्युत् चोर्नेको सङ्ख्या १ लाखभन्दा बढी


मङ्सिर ७, काठमाडौं । विद्युत् चुहावट नियन्त्रणका लागि नेपाल विद्युत् प्राधिकरणले कारबाही तथा नगद असुली अघि बढाएको छ । प्राधिकरणले आफ्ना ८ ओटै क्षेत्रीय कार्यालयबाट उक्त कार्य अघि बढाएको हो ।
विद्युत् चोरीमा प्रयोग भएका हुकिङ हटाउने, हुकिङ गर्दै गर्दा फेला परेकालाई पक्राउ गर्ने, कारबाही गर्ने तथा जरीवाना तिराउने जस्ता कार्य प्राधिकरणले गरिरहेको छ । त्यसैगरी मिटरबाट गरिएको चोरीको पनि कारबाही र रकम असुली गर्ने काम भइरहेको अनुगमन विभाग प्रमुख तारानाथ शर्माले बताए । प्राधिकरणको केन्द्रका साथै क्षेत्रीय कार्यालयहरूबाट खटिएका कर्मचारी र स्थानीय प्रहरीको सहकार्यमा चोरी नियन्त्रण गर्ने काम भइरहेको छ ।
यसक्रममा सबैभन्दा बढी हुकिङ जनकपुर क्षेत्रमा पाइएको छ । सो क्षेत्रबाट मात्र ४ हजार ६ सय २० ओटा हुकिङ कात्तिक महीनामा हटाइएको छ । उक्त महीनामा देशभरबाट ७ हजार ९ सय ६ ओटा हुकिङ हटाइएका हुन् । हुकिङ गर्ने २ सय ९८ जनालाई पक्राउ गरिएको र हुकिङ गरी विद्युत् चोर्ने १ लाख ४ सय २१ जनालाई कारबाही गरिएको छ । हुकिङ गरेबापत गरिएको जरीवानाबाट १ करोड २ लाख ७ हजार ५ सय ५८ रुपैयाँ प्राधिकरणले असुली गरेको छ ।
प्राधिकरणका अनुसार मिटरबाट विद्युत् चोरी भने विराटनगर क्षेत्रमा बढी भेटिएको छ । मिटरबाट विद्युत् चोरी ८ ओटै क्षेत्रमा गरी ५ सय ४० ग्राहकले गरेको पाइएकोमा विराटनगर क्षेत्रबाट मात्रै २ सय ५४ ले चोरी गरेको फेला परेको छ । मिटरबाट विद्युत् चोरी गर्नेहरूबाट प्राधिकरणले कात्तिक महीनामा कुल २१ लाख १५ हजार ९ सय ६२ रुपैयाँ असुल उपर गरेको छ ।
कारबाही र जरीवानाको प्रक्रियासँगै समस्याको कारणको अन्त्य गर्न पनि प्राधिकरण लागिपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘कतिपय ठाउँमा विगतमा ग्राहकले मागेको बेलामा प्राधिकरणले मिटर दिन नसक्दा पनि विद्युत् चोरी भएका छन्,’ उनले भने, ‘अब हामीसँग पर्याप्त मिटर छन्, आवश्यक ठाउँहरूमा वितरण गरेपछि हुकिङमार्फत हुने चोरी धेरै हदसम्म नियन्त्रण हुनेछ ।’
हुकिङ गर्न नमिल्ने कण्डक्टरको प्रयोग, हुकिङ गर्नेको लाइन महीनौंसम्म काटिदिने, हुकिङ हुने क्षेत्रमा बढी समय लोडशेडिङ गर्ने जस्ता कार्यहरूद्वारा पनि चोरी नियन्त्रण गर्ने योजना रहेको प्राधिकरणका अनुगमन विभाग प्रमुख शर्माले बताए ।

No comments:

Post a Comment