Sunday, December 25, 2016

विद्युत् उत्पादनमा निजीक्षेत्र सक्रिय :असारभित्र १७८ मेगावाट थप

विद्युत् उत्पादनमा निजीक्षेत्र सक्रिय :असारभित्र १७८ मेगावाट थप
मङ्सिर १३, काठमाडौं । निजीक्षेत्रले आगामी असार महीनाभित्र करीब १ सय ७८ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार विभिन्न २४ ओटा जलविद्युत् उत्पादकले गरी १ सय ७७ दशमलव ८२१ मेगावाट विद्युत् उत्पादन गर्दैछन् । इप्पानमा आबद्ध र आबद्ध नभएका आयोजनाहरूबाट गरी उक्त विद्युत् उत्पादन हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार विभागको तथ्याङ्कअनुसार हाल निजीक्षेत्रका १ सय २८ आयोजनाहरू निर्माणाधीन छन् । उक्त आयोजनाबाट कुल २ हजार ३ सय ४३ दशमलव ३६८ मेगावाट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणकै तथ्याङ्कअनुसार हालसम्म निजीक्षेत्रले कुल ३ सय २४ दशमलव ४४६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । प्राधिकरण र निजीक्षेत्रको गरी हाल कुल विद्युत् उत्पादन करीब ८ सय मेगावाट रहेको छ ।
२०७३ वैशाखको भूकम्पले देशका विभिन्न आयोजनामा पुर्‍याएको क्षतिका कारण करीब १ सय २० मेगावाट विद्युत् उत्पादनमा कमी आएको थियो । त्यसमध्ये आयोजनाको पुनर्निर्माणपछि ८० मेगावाट पुनः उत्पादन हुन थालिसकेको इप्पानका महासचिव कुमार पाण्डेले बताए ।
‘बनिरहेका आयोजना समयमै सकिने हो भने तथ्याङ्कअनुसार नै विद्युत् उत्पादन हुन्छ,’ उनले भने, ‘तर कतिपय आयोजनाको काम आशातीत रूपमा अघि नबढेको पाइएकाले यति नै आउँछ भनी सुनिश्चित गर्नसक्ने अवस्थाचाहिँ छैन ।’
विशेष गरी साना र मझौला आयोजनाको प्रवर्द्धन गरिरहेको निजीक्षेत्रले तुलनात्मक रूपमा छोटो अवधिमै आयोजना सम्पन्न गर्दै आएका छन् । आयोजनाको अनुमतिपत्र (लाइसेन्स) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)का क्रममा लाग्ने समयका कारण हुने ढिलाइमा पनि अब कमी आउने भएको छ । विगतमा यी दुवै काम विद्युत् विकास विभाग हुँदै ऊर्जा मन्त्रालयबाट गरिने हुँदा ४/५ महीनादेखि २ वर्षसम्म पनि लाग्ने गरेको जलविद्युत् आयोजनाका प्रवद्र्धकहरू बताउँछन् । ‘अहिले परिवर्तन भएको व्यवस्थाले प्रशासनिक झमेला निक्कै छोट्टिएको छ,’ दैलेखस्थित द्वारीखोला जलविद्युत् आयोजनाका सञ्चालक पुष्कल ढुङ्गेलले अभियानलाई भने ।
Source: http://www.abhiyan.com.np/new/Articles/view/88836

No comments:

Post a Comment