Tuesday, January 30, 2018

त्रिशूली गल्छीको क्षमता घटाउने प्रयत्न

२०७४/१०/१६
आर्थिक अभियान दैनिक

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको परियोजना विकासकर्ता सिद्धकाली पावर लिमिटेडले अघि बढाएको त्रिशूली गल्छी जलविद्युत् आयोजनाको क्षमता घटाउन लागिएको छ । ७५ मेगावाट (मेवा)मा निर्माण गर्ने सम्पूर्ण प्रक्रिया सकिएको उक्त आयोजनाको क्षमता २८ मेवामा झार्न खोजिएको हो ।

सिद्धकालीले ७५ मेवाको आयोजना विकास गर्न जेनेरेशन लाइसेन्स प्राप्त गर्नुका साथै विद्युत् खरीद सम्झौता (पीपीए)समेत गरिसकेको छ । तर, उक्त क्षमतामा आयोजना बनाउन आवश्यक लगानी जुटाउन समस्या रहेकाले क्षमता घटाउन खोजिएको अपिका प्रबन्ध निर्देशक एवम् सिद्धकालीका प्रवर्द्धकमध्ये एक सञ्जीव न्यौपानेले जानकारी दिए ।

परियोजनाको कुल लागत रू. १६ अर्ब रहेको छ । ‘लागतको ७० प्रतिशत बैङ्क ऋण जुटाउन गाह्रो परिरहेको छ,’ उनले भने, ‘जसले गर्दा खर्चै कम लाग्ने मोडलमा आयोजना विकास गर्ने सोचमा अघि बढ्न खोजेको हो ।’ नेपाली बैङ्कहरूका लागि ७५ मेवाको आयोजना विकास गर्न ऋण प्रवाह गर्नु कठिन रहेको अनुभव न्यौपानेले सुनाए । ‘हुन त ८०–९० मेवाका आयोजना पनि विकास हुन थालेका छन्, तर त्यसमा भएका विदेशी पार्टनरका कारण पनि सजिलो भएको छ,’ उनले भने, ‘नेपाली बैङ्कबाट यति क्षमताको आयोजना जुटाउनु सजिलो रहेनछ ।’ यो आयोजना पूर्णरूपमा स्वदेशी लगानीमा अघि बढाउन लागिएको हो ।

हालै प्रस्तावित क्षमताको आयोजना निर्माणका लागि १८ मिटर अग्लो बाँध र त्यसैको तलपट्टि पावरहाउस रहने मोडल अपनाइने भएको छ । यसमा इनबिल्ट इण्टेक र पावरहाउस त्यहीँ रहँदा टनेलसँग सम्बन्धित विष्फोटक पदार्थको झमेलादेखि निर्माण लागत पनि घट्न जाने न्यौपाने बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरण र भएको विकास विभागले अनुमति दिए त्रिशूली गल्छी २८ मेवामा निर्माण हुनेछ । तर, यदि भएको निकायहरूको अनुमति नपाए ७५ मेवामै आयोजना विकास गर्ने सिद्धकालीको योजना रहेको छ । ‘त्यसो भएमा वैदेशिक लगानी ल्याउने विकल्पमा जानेछौं,’ न्यौपानेले भने ।

१ अर्ब १३ करोड पूँजी भएको अपिले त्रिशूली गल्छी आयोजनाको विकासका लागि भनेर १ः२ का दरले हकप्रद शेयर निकाल्न गत असारमा धितोपत्र बोर्डमा निवेदन दिएको छ । तर, प्रक्रिया अझै टुङ्गिएको छैन । शेयर जारी गर्न अनुमति पाए शेयरबाट रू. २ अर्ब २६ करोड सङ्कलन हुनेछ ।

तर, यही बीचमा शेयरबाट आउने रकम सोलार परियोजना विकासमा समेत लगाउने योजनामा अपि पुगेको छ । रू. १ अर्ब २६ करोड सोलार आयोजनामा लगानी गर्ने र बाँकी रहेको रू. १ अर्ब त्रिशूली गल्छीमा लगाउने अपिको योजना रहेको छ ।

यो आयोजना काठमाडौंबाट नजीकको आयोजना हुने कारणले राजधानीको विद्युत् माग परिपूर्ति गर्न विशेष सहयोगी हुने आशा गरिएको छ । यो आयोजनाको विकासले उक्त क्षेत्रको पर्यटकीय एवम् व्यापारिक गतिविधि वृद्धिको प्रचुर सम्भावना बोकेको छ ।

Monday, January 30, 2017

शिवपुरी बाबाको महापरिनिर्वाण भण्डारा–२०७३

हरेक वर्ष झैं यो वर्ष पनि शिवपुरी बाबाको महापरिनिर्वाणका दिन बाबाको समाधिस्थल ध्रुवस्थली काठमाडौंमा भण्डारा (निःशुल्क भोजन कार्यक्रम) सञ्चालन भएको छ । करीब दुईसयको सङ्ख्यामा जोगी, सन्यासी तथा साधु, साध्वीहरुले भण्डारामा भाग लिएका छन् । बाबाको जीवनकालबाटै चलेको जोगीहरुलाई भोजन गराउने यो प्रचलन उहाँलाई प्रेम गर्ने, श्रद्धा गर्नेहरुले उहाँलको भौतिक अनुपस्थितिमा समेत कायम राखेका छन् । भण्डारा हरेक वर्ष बाबाको जन्मदिन (२७ सेप्टेम्बर), महापरिनिर्वाणका दिन (३० जनवरी), शिवरात्री र गुरू पूर्णिमाका दिन सञ्चालन हुने गर्दछ । भण्डाराका लागि बाबाका शुभेच्छुकहरुले स्वेच्छाले रकम दान दिने प्रचलन रहेको छ । भण्डाराका दिन जोगी, सन्यासी, साधु, साध्वीका अलावा सभाधिस्थलमा पुग्ने जो कोहीलाई पनि स–प्रेम भोजन गरेर मात्र विदा गर्ने गरिन्छ ।

शिवपुरी बाबा
भण्डारामा सहभागी हुन पशुपती क्षेत्रबाट ध्रुवस्थली उक्लिंदै गरेका साधु, साध्वी

भोजन तयार गर्दै स्वयंसेवकहरु

भोजनमा सहभागी हुँदै जोगी, साधु, साध्वीहरु

स्वेच्छीक दान तथा तथा भण्डारामा सहभागी हुन पुगेका सर्वसाधारण

                                               भण्डारामा सहभागी हुन पुगेका ओशो सन्यासीहरु

 शिवपुरी बाबाले लामो समय बिताउनु भएको शिवपुरी राष्ट्रिय निकुञ्ज नजिक पाँच वर्षसम्म रुखको टोड्कामा तपस्या गर्नुभएका टोड्के बाबा । उहाँ शिवपुरी बाबा सम्बन्धी हरेक कार्यहरुमा सहभागी हुँदै आउनु भएको छ ।

शिवपुरी बाबा प्राङ्गणमा चहलपहल