Saturday, January 7, 2017

ऊर्जामन्त्रीको ध्यान अब उपत्यकाबाहिर, चुहावट नभए लोडशेडिङ हुँदैन

पुस २३, काठमाडौं । काठमाडौं उपत्यका र आसपासको क्षेत्रलाई विगत २ महीनादेखि लोडशेडिङमुक्त बनाएका ऊर्जामन्त्री जनार्दन शर्माको ध्यान अब उपत्यका बाहिरतिर बढ्न थालेको छ । सोहीअनुरूप गएको २ सातादेखि पोखरा बजारका साथै लेखनाथ नगरपालिका लोडशेडिङमुक्त छ ।
अबको चरणमा चितवनलाई पनि लोडशेडिङमुक्त गर्ने मन्त्री शर्माले चितवनमा शुक्रवार आयोजित एक कार्यक्रममा उद्घोष गरेका छन् । त्यसमा विद्युत् चुहावट नियन्त्रणमा स्थानीयको सहयोग आवश्यक रहेको उनले बताए । अभियानको शुरू उपत्यकाका साथै यस आसपासका क्षेत्रबाट गरे पनि पूरै देशलाई लोडशेडिङमुक्त गर्ने आफ्नो योजना रहेको मन्त्री शर्माले बताउँदै आएका छन् ।
ऊर्जामन्त्रीको ध्यान अब उपत्यकाबाहिर
उपत्यकालाई शून्य लोडशेडिङको अवस्थामा पुर्‍याएसँगै उपत्यकाबाहिरका क्षेत्रमा पनि दैनिक न्यूनतम आधादेखि अधिकतम २ घण्टा मात्रै लोडशेडिङ छ । यो अवस्था पनि क्रमशः अन्त्य गर्दै जाने मन्त्री शर्माले बताएका छन् । एकै पटक सबै क्षेत्रको लोडशेडिङ अन्त्य गर्न पूर्वाधारलगायत कारणले तत्काल सम्भव नरहेको उनको भनाइ रहेको छ ।
विद्युत् खरीदविक्रीका लागि तयार
मन्त्री शर्मा विद्युत् लिन र दिन दुवै हिसाबले तयार अवस्थामा रहेको देखिन्छ ।
उनले सुक्खायामको विद्युत् मागलार्इ  परिपूर्ति  गर्ने  उद्देश्यले भारतसँग थप ८० मेगावाट विद्युत् खरीद गर्ने सम्झौता गरेका छन् । त्यसमध्ये ४० मेगावाट यसै महीनाको १७ गतेदेखि आइसकेको छ भने थप ४० मेगावाट माघ १७ गतेदेखि आउनेछ । थोरैभन्दा थोरै परिमाणको विद्युत् पनि यदि कोही बेच्न तयार छ भने आफू (ऊर्जा मन्त्रालय/नेपाल विद्युत् प्राधिकरण) किन्न तयार रहेको उनले बताउँदै आएका छन् । ‘सोलार, विण्ड, चिनी मिल क–कसले बेच्न तयार हुनुहुन्छ, हामी सब किन्न तयार छौं, ’ गत मङग्लवार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री शर्माले भनेका थिए । सोही कार्यक्रममा उनले यदि उद्योग व्यवसायीले नयाँ उद्यागे खोल्ने र विद्यतु  माग गर्ने हो भने आफू दिन पनि तयार रहेको बताएका थिए । यही अभिव्यक्ति उनले शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा पनि व्यक्त गरेका छन् ।
वीरगञ्जका उद्योगी व्यापारीलाई सम्बोधन गर्दै ‘तपाईंहरूको  विद्यतु माग कति हो ? त्यसको तथ्याङ्क उपलब्ध गराउनुहोस्, एक वर्षभित्र तपाइईंहरूको मागअनुसार विद्यतु  उपलब्ध गराउनेछु,’ उनले भने ।
उक्त क्षेत्रमा भइरहेको विद्युत् चोरी र हुकिङ नियन्त्रणमा उद्योगीहरू कडाइका साथ प्रस्तुत भए त्यसबाट बच्ने विद्युत्को व्यवस्थापन गरी वीरगञ्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युत्भार कटौतीमुक्त गर्न सकिने मन्त्री शर्माले बताएका छन् ।

No comments:

Post a Comment