Monday, January 2, 2017

थप आयात ४० मेवा विद्युत् राष्ट्रिय प्रसारणमा, अहिल्यै काठमाडौं भने आइ नपुग्ने

थप आयातको ४० मेवा विद्युत् राष्ट्रिय प्रसारणमा

पुस १७, काठमाडौं  । शनिवार रातिदेखि भारतबाट आयात गरिएको थप ४० मेगावाट नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट उक्त परिमाणको थप विद्युत् आयात गरिएको हो । यसअघि ८० मेगावाट विद्युत् उक्त प्रसारण लाइनबाट आइरहेको थियो ।
यसै महीनाको ७ गते प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)बीच भारतमा भएको पूरक विद्युत् व्यापार सम्झौताअनुरूप उक्त विद्युत् ल्याइएको हो । सुक्खायाममा हाम्रा नदीहरूको प्रवाह घट्न गई विद्युत् उत्पादनमा आउने कमीलाई परिपूर्ति गर्न विद्युत् थप आयात गर्नु परेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘सुक्खायाम बढ्दै जाँदा पर्ने थप आवश्यकतालाई ध्यान दिई फेब्रुअरी १ (माघ १७) देखि अर्को ४० मेगावाट थप आयात गर्ने सम्झौता पनि भइसकेको छ,’ उनले भने, ‘थप आयातका लागि भारतको मुजफ्फरपुर सबस्टेशनमा थप १ सय एमभीएको ट्रान्सफर्मर जडान गरिएको छ ।’ थपिएको विद्युत्का लागि पनि नेपालले भारतलाई साबिककै मूल्य (५ रुपैयाँ ६० पैसा) प्रतियुनिट तिर्नुपर्नेछ । अघिल्लो वर्ष नेपालले भारतबाट ३ सय ४७ मेगावाटसम्म विद्युत् आयात गरेको थियो । यो वर्ष चारओटा अन्तरदेशीय प्रसारण लाइनमार्फत थप २ सय २० मेगावाट विद्युत् आयात गर्ने प्राधिकरणको योजना छ ।
यसअन्तर्गत कटैया–कुशाहा र रक्सौल–परवानीपुरबाट ५०/५० मेगावाट साथै टनकपुर–महेन्द्रनगरबाट ४० मेगावाट थप विद्युत् आयात गरिनेछ । यसका लागि प्रसारण लाइनको काम धमाधम भइरहेको छ ।
देशलाई विद्युत्भार कटौतीको मारबाट जोगाउन आयात बढाउनु परेको प्रवक्ता अधिकारीले बताए । हाल काठमाडौं उपत्यका र आसपासका जिल्ला लोडशेडिङमुक्त छन् भने देशभर पनि लोडशेडिङ अत्यधिक मात्रामा कटौती गरिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
हाल हेटौंडासम्म मात्र
प्रसारण लाइनको अभावका कारण भारतबाट आयात गरिएको ४० मेगावाट विद्युत् हेटौंडासम्म मात्र आइपुगेको छ । हाल ढल्केवर–खिम्ती प्रसारण लाइनको काम नसकिएका कारण उक्त विद्युत् हेटौंडामै रोकिएको हो । प्रसारण लाइनको अवलोकन गर्न यसै महीनाको १० गते पुगेका ऊर्जामन्त्री जनार्दन शर्माले छिटो काम सक्न निर्देशन दिएका थिए ।
‘हाइटेन्सन लाइनअन्तर्गत सिन्धुलीगढी नजीकको एउटा टावर सार्नुपर्ने अवस्थामा रहेछ,’ अवलोकन टोलीका सदस्य किरणराज तिमल्सिनाले भने, ‘त्यसलाई उपयुक्त स्थानमा सारी छिटो काम सक्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’ हाललाई भारतबाट ल्याइएको बिजुली ढल्केवरदेखि हेटौंडासम्ममा खपत हुन्छ । अत्यावश्यक परेका बेला लहानतर्फ पनि दिने व्यवस्था गरिएको छ । ‘अब राष्ट्रिय प्रसारण हुँदै काठमाडौं आइपुगेको विद्युत् ढल्केवर–हेटौंडा क्षेत्रमा पठाउनु पर्दैन,’ प्राधिकरणको भारप्रेषण केन्द्रका निर्देशक विष्णुप्रसाद श्रेष्ठले भने, ‘जसले गर्दा पुस महीनाभरीलाई लोडशेडिङको मार टरेको छ ।’

No comments:

Post a Comment