Saturday, January 7, 2017

चुचुराको यात्रा


म,
उ...त्यो प...रको चुचुरो ताकेर हिंडेको मान्छे
मेरा पाइला जहाँ जहाँ भए पनि
मैले चुनेको गन्तब्य हो, त्यो चुचुरो
अनेक मुल बाटा, गल्ली अनि भीर हुँदै
म केवल हिंडिरहेछु, त्यो चुचुरो भेट्न ।

हिंड्दै जाँदा, एउटा चौबाटोबाट
म, यो बाटो समातेर अघि बढें,
मेरो गन्तब्यको त्यही चुचुरो भेट्न ।

यहाँ आइपुगेपछि
यहाँ भेटिएकाहरुले भने,
यो बाटोको आसपास पुस्तौंदेखि बसेकाले भने,
यो बाटो भएर त्यो चुचुरो पुग्न सकिन्न ।

त्यो चुचुरोमा पुग्न त मैले अर्कै बाटो भएर जानुपथ्र्यो ।
चौबाटोबाट चुचुराको बाटो समात्नु पथ्र्यो ।
उनीहरुमध्ये केहीले मलाई विकल्प दिए,
त्यो चुचुरो बिर्सिदिने ।
अनि केहीले विकल्प दिए,
फर्किएर चौबाटो पुगी, अर्को बाटो समात्ने ।

चुचुरोमा त मलाई पुग्नु नै छ ।
तर मलाई यहाँबाट फर्किनु छैन ।
कता कता सुनेकी छु,
कि, यो बाटो पनि चुचुरोमा पुग्छ रे ।
यसो भन्नेहरु थोरै छन् ।
र पनि मेरो मनले भन्दैछ,
उनीहरुलाई विश्वास गर्न ।

म फर्किन चाहँन्न चौबाटो तिर,
कमसे कम अहिलेलाई ।

हुनसक्छ,
यही बाटोले चुचुरोमा पुर्याउने भरोसा बढ्न थालेकोछ ।
हुनसक्छ, यहाँबाट फर्किने आँट छैन ।
हुनसक्छ, बाटोमा भीर हुनसक्छ,
हुनसक्छ, बाटोमा काँडा हुनसक्छ
हुनसक्छ, विशाल नदी हुनसक्छ ।

अगाडी जेजे भए पनि
मेरा आँखाबाट त्यो चुचुरो नछेलिएसम्म
मेरो हृदयबाट चुचुराको सपना नमेटिएसम्म
मेरो यात्रा जारी रहनेछ,
अब यही बाटो भएर ।

माँ प्रेमरुपा
२०७३/०९/२४

No comments:

Post a Comment