Saturday, December 24, 2016

लोडशेडिङमुक्त अभियानमा प्राधिकरणको प्रयास : भारतबाट थप बिजुली ल्याइँदै

लोडशेडिङमुक्त अभियानमा प्राधिकरणको प्रयास : भारतबाट थप बिजुली ल्याइँदै
पुस ९, काठमाडौं । देशलाई लोडशेडिङमुक्त गर्ने अभियानस्वरूप नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गर्ने भएको छ । दुई चरणमा भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने गरी बिहीवार पूरक विद्युत् व्यापार सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का कार्यकारी निर्देशक अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार पुस १७ गतेदेखि ४० मेगावाट र आवश्यक परे माघ १८ देखि जेठ १८ गतेसम्म अर्को ४० गरी कुल ८० मेगावाट विद्युत् आयात हुनेछ ।
उक्त विद्युत् नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनमध्येको मुजफ्फरपुर–ढल्केवर प्रशारण लाइनबाट ल्याइने भएको हो । हाल सोही प्रसारण लाइनबाट नेपालले ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । नेपालले थप विद्युत् पनि हालकै मूल्य अर्थात् ५ रुपैयाँ ७५ पैसामै प्राप्त गर्ने भएको छ । मुजफ्फरपुर सबस्टेशनमा रहेको १०० एभीएको ट्रान्सफर्मरले नधान्ने भएपछि थप विद्युत् प्रसारका लागि हालै भारतकै पावर ग्रीड कर्पोरेशनले १०० एमभीएकै अर्को ट्रान्सफर्मर जडान गरिसकेको छ ।
पहिलो चरणमा ल्याइने थप ४० मेगावाट विद्युत् हेटौंडा सबस्टेशनमा जोडिने भएको छ । हाल काठमाडौंमा थप बिजुली ल्याउन प्रशारण लाइनले नधान्ने भएका कारण उक्त बिजुली हेटौंडाबाटै त्यसभन्दा पूर्वको क्षेत्रमा वितरण हुनेछ । ‘यसो गर्दा पश्चिम र राजधानी नजीकका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौंबाट उक्त क्षेत्रमा नपठाउँदा पनि हुन्छ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘यसको मतलब भारतबाट ल्याइने विद्युत् काठमाडौं आएसरह नै हुनेभयो ।’
हाल ढल्केवरबाट काठमाडौं विद्युत् ल्याउने प्रसारण लाइनमध्ये ढल्केवर–खिम्ती–लामोसाँघु–भक्तपुर–काठमाडौं प्रसारण लाइनको काम भइरहेको छ ।
काम सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट भारतबाट ल्याइएकोमध्ये ९० मेगावाट विद्युत् काठमाडौं ल्याउने योजना रहेको प्रवक्ता अधिकारीले बताए ।
ऊर्जा सचिवको भारत भ्रमण सकारात्मक
हालै ऊर्जा सचिव अनुपकुमार उपाध्यायद्वारा भएको भारत भ्रमण सकारात्मक भएको छ । भ्रमणका क्रममा अचिव उपाध्याय र भारतको विद्युत् मन्त्रालयका सचिव पीके पुजारीबीच छलफल भएको थियो । छलफल नेपाल–भारत ऊर्जा विकास तथा व्यापार एवम् पूर्वाधार निर्माणका विषयमा केन्द्रित रहेको भ्रमण दलका सदस्य नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अधिकारीले बताए । ‘ऊर्जाक्षेत्रमा भारत सरकारले नेपाललाई सकेसम्मको सहयोग गर्ने वचन भारतका विद्युत् मन्त्रालयका सचिवले व्यक्त गर्नुभयो,’ अधिकारीले भने, ‘त्यसैगरी भारतले नेपालको ऊर्जाक्षेत्रको विकासमा पुर्‍याएको योगदानप्रति नेपालका ऊर्जा सचिवले आभार व्यक्त गर्नुभयो ।’
भविष्यमा वर्षात्का समयमा नेपालले स्वदेशमा खपत गरी बढी भएको विद्युत् भारतको नोडल एजेन्सीमार्फत बेच्न सक्ने विषयमा पनि छलफल भएको प्राधिकरणका प्रवक्ता अधिकारीले बताए ।
सचिव उपाध्याय ‘दक्षिण एशिया ऊर्जा÷विद्युत् बजार अभिवृद्धिका लागि एकीकृत प्रयास’ विषयक भारतमा आयोजित सम्मेलनमा भाग लिन त्यहाँ पुगेका थिए । सचिव उपाध्यायले प्रमुख अतिथिका हैसियतमा विद्युत् व्यापार तथा समग्र ऊर्जाक्षेत्रको विकासका सम्बन्धमा मुख्य वक्ताका रूपमा मन्तव्य व्यक्त गरेका थिए ।
विद्युत् आपूर्ति फिगर पोहोर नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् माग प्रक्षेपणको करीब १२५ मेगावाट कम विद्युत्ले धान्ने सम्भावना देखिएको छ । प्राधिकरणले यो हिउँदमा १ हजार ४ सय ७५ मेगावाट विद्युत् माग हुने प्रक्षेपण गरेको थियो । तर, अहिलेको विद्युत् मागको अवस्था हेर्दा पिक आवरमा पनि १ हजार ३ सय ५० मेगावाटभन्दा नबढ्ने सम्भावना रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
हाल प्रतिदिन पिक आवर विद्युत् माग १ हजार २ सय ६० देखि १ हजार ३ सय २० मेगावाटको बीचमा रहेको छ ।
Source: http://www.abhiyan.com.np/new/Articles/view/90298

No comments:

Post a Comment