Saturday, December 24, 2016

व्यावसायिकताको खुड्किलो

व्यावसायिकताको खुड्किलो
समयको परिवर्तनसँगै नेपालको शिक्षाको पाठ्यक्रम र पाठ्य विधिमा पनि परिवर्तन आएको छ । अब नेपालमा पढेका विद्यार्थीले नेपालमै मात्रै बिक्ने पढाइ पढेर नहुने समय आएको छ । अन्तरराष्ट्रिय मापदण्डका पाठ्यक्रम तथा शैक्षिक कार्यक्रमले नेपाली विद्यार्थीको अवसरको क्षितिज पनि फराकिलो बनाउँदै लगेको छ । वार्षिक शिक्षण प्रणाली बदलिएर सेमेष्टर तथा ट्राइमेष्टर प्रणालीमा जाने क्रम बढ्दो छ । पढाउने शिक्षक (फ्याकल्टिज) पनि देश–विदेश दुवैतिर अध्ययन गरेका, लामो शिक्षण अनुभव भएका र विदेशी (गेष्ट लेक्चरर/प्रोफेसर)समेत हुने अभ्यास बढ्दै गएको छ ।
कुनै बेला माष्टर्स इन कमर्श (एमकम)का नामले पढाइ हुने स्नातकोत्तर तहको पढाइपछि माष्टर्स अफ बिजनेश स्टडिज (एमबीएस)का नामले चिनिन थाल्यो । वार्षिक क्यालेण्डरअनुसार पढाइ तथा परीक्षा हुने एमबीएस स्नातकोत्तर तहको व्यवस्थापनको अन्तरराष्ट्रिय शिक्षण पद्धतिको समान हुन सकेन, जसले गर्दा नै आफूहरूले सेमेष्टर प्रणालीको एमबीएस शिक्षण शुरू गरेको काठमाडौं विश्वविद्यालय (केयू)को व्यवस्थापन सङ्काय कुशोमका डीन डा. सुवास केसी बताउँछन् । केयू नै नेपालमा एमबीएको शिक्षण शुरू गर्ने विश्वविद्यालय हो । एमबीएले व्यवस्थापनमा अन्तरराष्ट्रिय गुणस्तरको जनशक्ति उत्पादन गरिरहेको उनको भनाइ छ ।
एमबीए नै किन ?
यो विषय सञ्चालन गर्नुको उद्देश्य आजका संस्थाहरूको जनशक्ति आवश्यकता पूरा गर्नु मात्र नभई विद्यार्थीमा आफ्नै व्यवसाय तथा संस्था विकास गर्ने क्षमता प्रदान गर्नु रहेको टीयूको धारणा रहेको छ ।
अहिलेको देशको आवश्यकता व्यवस्थापनको जनशक्ति भएका कारण पनि एमबीएको अध्ययन महत्त्वपूर्ण बन्दै गएको एमबीए पढाइ सञ्चालन गर्ने कलेजका प्रतिनिधिहरू बताउँछन् । एमबीएस र एमबीए दुवै व्यवस्थापनमा स्नातकोत्तर तहकै पढाइ हो । तर, पछिल्लो समयमा कलेजहरूले एमबीएसभन्दा पनि एमबीएलाई बढी जोड दिन थालेका छन् । यसो गर्नुको कारणबारे उनीहरू एमबीए पढ्दा विषयगत गहिराइ बढी हुने र देशको बढ्दो आर्थिक गतिविधिमा अवसर पाउने धेरै राम्रो अवसर हुने धारणा राख्छन् ।
एमबीएका विशेषता
- व्यावसायिक तथा गैरव्यावसायिक क्षेत्रका लागि योग्य दक्ष व्यवस्थापक बन्न सकिन्छ ।
- आफ्नै व्यवसाय सञ्चालन गर्ने शीप विकास हुन्छ ।
- जोखीम मूल्याङ्कन गरी प्रतिस्पर्धात्मक बजारमा चुनौती सामना गर्ने क्षमताको विकास हुन्छ ।
- समाजप्रति उत्तरदायी भई उत्कृष्ट नतीजाका लागि शीप तथा ज्ञान लगाउन सक्ने भइन्छ ।
एमबीएभित्र पनि विविधता
एमबीए भन्नाले सामान्यतया बिजनेश एडमिनिष्ट्रेशनको स्नातकोत्तर तह बुझिन्छ । तर, बजारको आवश्यकतासँगै एमबीएमा पनि विषयगत विविधता आउने क्रम बढ्दो छ । एमबीए (आईटी), एमबीए (फाइनान्स), एमबीए (मार्केटिङ), एमबीए (अकाउण्टेन्सी), एमबीए (एचआर), एमबीए (प्रोजेक्ट म्यानेजमेण्ट)जस्ता विविधता कलेजहरूले प्रदान गर्न थालेका छन् । व्यवस्थापनमा पनि क्षेत्रगत विशेषज्ञताका लागि यस्ता विषयको माग र शैक्षिक कार्यक्रम बढ्दै गएका हुन् । एमबीए कार्यक्रमले फ्रेश विद्यार्थीलाई मात्र नभई व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकाहरूलाई पनि समेटिरहेको छ ।
ईएमबीए (एक्जुकेटिभ) त्यसैका लागि लक्षित कार्यक्रम हो । ईएमबीए व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको स्तरवृद्धिका लागि सञ्चालित विषय हो । अहिले यस्तो शिक्षाको माग कर्पोरेट क्षेत्रबाट बढी मात्रामा आउन थालेको छ ।
कलेज छान्दा ध्यान दिनुपर्ने पक्ष
एमबीए कलेजहरूको सङ्ख्या बढ्ने क्रमले कलेजहरूबीच विद्यार्थी आकर्षित गर्न विभिन्न तरीकाका प्रतिस्पर्धा बढ्दो छ । कसैले टिचर (फ्याकल्टिज) राम्रो भएको दाबी गर्छन् त कसैले उत्तीर्ण प्रतिशत राम्रो छ भन्छन् । त्यस्तै, कसैले छात्रवृत्ति त कसैले जब प्लेसमेण्टको अवसर रहेको देखाउँछन् । वास्तवमा एउटा उत्कृष्ट कलेजको उत्कृष्टताको आधार भनेका पनि यिनै कुरा हुन् । त्यसैले, ठूलो रकम (४ लाख रुपैयाँभन्दा बढी) लगानी हुने र उमेरको सबैभन्दा स्वर्ण समय खर्चिइने तहको पढाइका लागि शैक्षिक संस्था छान्दा निकै ध्यान दिनुपर्छ । कलेज बढेअनुसारको पढाउने विशेषज्ञ फ्याकल्टिज पाउन कठिन छ । ‘हेल्मेट टिचर’का भरमा धेरै कलेज चल्ने हुँदा विद्यार्थीले शिक्षकसँग चाहेको बेला समय लिएर सोध्ने पनि अवस्था छैन । विद्यार्थीले कलेजको बाहिरी आकर्षणभन्दा पनि कस्तो प्रोडक्ट दिइरहेको छ, त्यो हेर्नुपर्ने शिक्षासम्बन्धी ज्ञाताहरू बताउँछन् । एमबीए कलेज छनोटमा विद्यार्थीले निम्न विषयमा ध्यान दिनुपर्छ :
- एमबीए पढ्नुको उद्देश्य
- बजारमा आफूले पढ्न चाहेको विषयको प्रभाव
- आवश्यक बजेट/खर्च
- विश्वविद्यालय (देशभित्र/बाहिर)बाट कलेजले लिएको सम्बन्धनबारे जानकारी
- चार–पाँचओटा कलेजको विगतको नतीजा, शिक्षण तालिका, फ्याकल्टिज, जब प्लसमेण्टजस्ता पक्ष
- कलेजबारे अन्य विस्तृत जानकारी
चुनौती र अवसर
अहिले एमबीए सबैले पढ्न चाहेको तथा सबैलाई पढ्न सुझाव आउने विषयमा पर्छ । यो विषयको लक्षित अवसर क्षेत्र भनेको व्यवस्थापन हो । हरेक वर्ष एमबीएका कार्यक्रम थप्ने कलेजको बढ्दो सङ्ख्याका साथै सोअनुसार गुणस्तरीय फ्याकल्टिजको अपर्याप्तता यो विषयका विद्यार्थीका लागि प्रमुख चुनौती हो । त्यसबाहेक उत्पादित जनशक्तिअनुसार देशमा उद्योग व्यवसायको वृद्धि÷विकास नहुनु अर्को चुनौती हो । यसले उच्च प्रतिस्पर्धाको वातावरण सृजना गरी विश्व बजारमा एमबीएका उत्पादनले पाउने तलब स्केलभन्दा निकै कममा काम गर्नुपर्ने बाध्यता निम्त्याउँछ ।
अवसरका दृष्टिले हेर्दा यो अन्तरराष्ट्रिय मान्यताप्राप्त पढाइ भएका कारण कोर्स सकेका विद्यार्थीले नेपाली बजारमा मात्र सीमित भएर बस्नु पर्दैन । त्यस्तै, एमबीए जागीरे जन्माउने मात्र नभई उद्यमी जन्माउने शिक्षा पनि भएका कारण यो विषय पढ्नेहरूले कुशल व्यवस्थापनका साथ आफ्नै व्यवसाय सञ्चालन गर्न पनि सक्छन् ।
Source: http://www.abhiyan.com.np/new/Articles/view/90221

No comments:

Post a Comment