पुस १९, काठमाडौं । उद्योगी/व्यवसायीले नयाँ उद्योग स्थापना गरे आफूले विद्युत् उपलब्ध गराउने ऊर्जामन्त्री जनार्दन शर्माले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)सँगको अन्तरक्रियाका क्रममा मङ्गलवार मन्त्री शर्माले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । हाललाई आयात गरेर भए पनि दिने र पछिका लागि आफ्नै उत्पादनले विद्युत् दिन सकिने मन्त्री शर्माको भनाइ थियो । ‘यदि आज उद्योग शुरू गर्ने भन्नुहुन्छ भने त्यसको संरचनालगायत तयार हुन पनि एक–डेढ वर्ष लाग्छ,’ उनले भने, ‘त्यतिबेलासम्ममा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूबाट र अन्य उपाय अपनाएर भए पनि विद्युत् दिन्छु ।’
उद्योगीले थप उद्योग खोल्ने योजनासहित १ हजार मेगावाट विद्युत् मागे पनि दिन आफू तयार रहेको मन्त्री शर्माले स्पष्ट पारे । चलिरहेको अवस्थामा सुधार ल्याउन आफूले मान्छेको व्यवस्थापन गरेको र त्यसैको परिणामस्वरूप प्राविधिक पक्षहरूमा सुधार ल्याई विद्युत् व्यवस्थापन सम्भव भएको उनले बताए । ‘काम गर्छु भन्नलाई पहिलो कुरा विश्वास गर्ने आधार दिन सक्नुपर्थ्यो, जुन भइसकेको छ,’ मन्त्री शर्माले उद्योगीहरूलाई इङ्गित गर्दै भने, ‘राष्ट्रका खम्बामध्ये तपाईंहरू पनि एक हुनुहुन्छ, आउनहोस् सहकार्य गरेर अघि बढौं ।’ अब विद्युत्को माग तथा आपूर्ति दुबै पक्षको व्यवस्थापन समृद्धिलाई आधार मानेर गरिनेमा मन्त्री शर्माले जोड दिए ।
हाल उद्योगलाई बेलुकामा ८ः३० पछि विद्युत् दिए पनि उद्योगीले राति ११ बजेपछि मात्रै प्रयोग गरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । साँझमा पिक आवर प्राइस पर्ने भएकाले उनीहरूले यसो गर्ने गरेको आफूले पाएको उनले जानकारी दिए । हाल साँझ ४ घण्टा उद्योगको विद्युत् कटौती गरिएको छ । ‘हामीलाई विस्तारै बेलुकाभन्दा पनि बिहानको पिक आवरको डिमाण्ड पूरा गर्न गाह्रो पर्ने अवस्था आउँदै छ,’ उद्योगीसमक्ष घिसिङले अनुरोध गरे, ‘अबको एक–डेढ महीनापछि बिहानको पिक आवरमा उद्योगहरू ५० प्रतिशत मात्र क्षमतामा चलाइदिनु भए लोडशेडिङ गर्नुपर्ने अवस्था आउने थिएन ।’ उद्योगबाट हुने ऊर्जा ह्रास घटाई विद्युत् व्यवस्थापनमा सहयोग गर्न पनि घिसिङले आग्रह गरे । त्यसका लागि विद्युतीय उपकरणहरूको स्तरोन्नति आवश्यक रहेको उनले स्पष्ट पारे ।
एफएनसीसीआईका पूर्वअध्यक्ष कुशकुमार जोशीले विद्युतीय उपकरण खरीदका लागि प्राधिकरणले सधैं अन्तरराष्ट्रिय बिडिङ खोल्ने गरेको आरोप लगाए । आफूले ट्रान्सफर्मर उत्पादन गरे पनि देशभित्रको उत्पादनलाई प्राधिकरणले प्राथमिकतामा नराखेको उनको गुनासो थियो ।
समग्रमा ४ घण्टा विद्युत् कटौती भए पनि विगतका तुलनामा राम्रोसँग विद्युत् पाइरहेकोमा उद्योगीहरूले मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी निर्देशकलाई धन्यवाद दिएका थिए ।
औद्योगिक क्षेत्रलाई लाभ
- आयोजनाको प्रकृतिअनुसार विद्युत् खरीद दर निर्धारण ।
- उद्योगलाई विद्युत् दिनेसम्बन्धमा गरेको घोषणा कार्यान्वयन ।
- गतवर्षको १०/१२ घण्टा दैनिक लोडशेडिङ अहिले ४ घण्टा मात्रै ।
- लोडशेडिङ घटेका कारण उद्योगको क्षमता उपयोग वृद्धि ।
- डिजेल खपत कम हुँदा उत्पादन लागतमा कमी ।
- वार्षिक व्यापारघाटामा २० अर्ब सुधार ।
- आयोजनाको प्रकृतिअनुसार विद्युत् खरीद दर निर्धारण ।
- उद्योगलाई विद्युत् दिनेसम्बन्धमा गरेको घोषणा कार्यान्वयन ।
- गतवर्षको १०/१२ घण्टा दैनिक लोडशेडिङ अहिले ४ घण्टा मात्रै ।
- लोडशेडिङ घटेका कारण उद्योगको क्षमता उपयोग वृद्धि ।
- डिजेल खपत कम हुँदा उत्पादन लागतमा कमी ।
- वार्षिक व्यापारघाटामा २० अर्ब सुधार ।
सुधारका लागि सुझाव
- चुहावट ५० प्रतिशत घटाउन आवश्यक कदम ।
- ऊर्जामा निजी तथा विदेशी लगानी आकर्षण ।
- विद्युत् आपूर्ति भए खपत थप वृद्धि हुने ।
- स्वदेशी विद्युतीय उपकरण प्रयोगलाई प्रोत्साहन ।
- राति तथा वर्षायाममा उद्योगलाई कम दरमा बिजुली ।
- चुहावट ५० प्रतिशत घटाउन आवश्यक कदम ।
- ऊर्जामा निजी तथा विदेशी लगानी आकर्षण ।
- विद्युत् आपूर्ति भए खपत थप वृद्धि हुने ।
- स्वदेशी विद्युतीय उपकरण प्रयोगलाई प्रोत्साहन ।
- राति तथा वर्षायाममा उद्योगलाई कम दरमा बिजुली ।
Source: http://www.abhiyan.com.np/new/Articles/view/90867