Friday, June 19, 2015

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तिर्ण

यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। भर्खरै सार्वजनिक भएको नतिजा अनुसार कुल ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। यसअघि ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए ।
१ लाख ९२ हजार २ सय २६७ जना पास भएका छन्।  जसमध्ये १०९०४३ (५३.९४%) जना केटा र ८३२२४ (४०.९६%)केटी पास भएका छन्। यस्तै एक्जाम्टेडतर्फ १८७७८ जना अर्थात १३.८ प्रतिशत पास भएका छन्। 
गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।
यस्तै प्राविधिकतर्फको नतिजा भने यसै साताभित्र हुने परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले बताए। गत वर्षबाट प्राविधिकतर्फ पनि एसएलसी परीक्षाको थालनी गरिएको हो। ग्रेडिङ मूल्याङ्कन प्रणाली लागू गरिने भएकोले साधारण र प्राविधिकको नतिजासँगै सार्वजनिक गर्न नसकिएको उनले बताए।
ग्रेडिङ प्रणाली अनुसार ए प्लस, ए, बी, सी, डी र ई उल्लेखित लब्धाङ्कपत्र दिइनेछ र परीक्षार्थीले अनुत्तीर्ण भनी उल्लेख नगरिएको लब्धाङ्कपत्र प्राप्त गर्नेछन्। यसका लागि ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका थिए।
परीक्षाको नतिजा कसरी हेर्ने?
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसएलसी परीक्षाको नतिजा थाहा पाउन मोबाइल र वेबसाइटबाट हेर्ने व्यवस्था मिलाइएको छ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई आफ्नो नतिजा हेर्न सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको हो।
इन्टरनेटको पहुँच नभएकाले मोबाइलमा एसएमएसबाट पनि परीक्षाफल थाहा पाउन सक्छन्। त्यसको लागि SLC टाइप गरेर एक स्पेस दिएपछि सिम्वोल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ।
यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि आफ्नो सिम्बोल नम्बर डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।
इन्टरनेट मार्फत हेर्नका लागि शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np,
शिक्षा विभागको वेवसाइट www.doe.gov.np,
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np,
 नेपाल टेलिकमको www.slc.ntc.net.np,
एनसेलको www.ncell.com.np मा पनि परीक्षाफल हेर्न सकिने छ।
स्रोत: सेतोपाटी 

Tuesday, August 12, 2014

हेरालु सोइसोइलामा मस्त, सुँगाले मकै झिरिप्प

यही सिजन हो यता हेरे नि मकैबारी उता हेरे नि मकैबारी हुन्थ्यो । तराईको वस्ती भएकाले  मकैबारीले छोपिएर परबाट त घरै देखिँदैन थिए । घोगामा दाना लाग्न थालेपछि केटाकेटीको ड्युटी नै हुन्थ्यो सुँगा धपाउने ।

बिहान उज्यालो हुँदा नहुँदै आमा (मामा घरको हजुरआमा) सुँगाले मकै सक्ने बेला भो नानी लौ झट्टै बारीमा पुगिहाल त भन्नुहुन्थ्यो । आँखा मिच्दै घरबाट निस्किएदेखि नै सुरु हुन्थ्यो मकैबारी । यसै त चारैतिर आफू जत्रा तीन मान्छे जोड्दा हुने जत्रा अग्ला मकै त्यहाँमाथि सर्प र लाबडकोसे (यसको बारेमा पछि लेख्नेछु) को डर, सायद घरबाट तानेर हिंडेको सास आफ्नो बारीको बाँसमा चढेपछि मात्रै छोडिन्थ्यो होला ।

अनि सुरु गर्यो भाका हाली हाली एउटै अक्षर हा हा हा हा हा हा हा ! सुँगा पनि कम्तिका बाठा होइनन् । कोही १२÷१५ देखि पचासौंको संख्यामा आउँथे र झ्याप्प घोगा समातेर बसेपछि मान्छे त्यहीँ पुगेर नधपाएसम्म जाँदैन थिए । यस्ता सुँगा बस्नै दिन हुन्न थियो, सकिहाल्थे । अर्का चाहीँ लुसुलुसु लुसुलुसु कताबाट आएर एक्लै एक्लै खान्थे र अघाएर जान्थे ।

सुँगा हेर्न केटाकेटी भएका सबै घरकाले आ आफ्नो बारीमा हेरालु पठाएका हुन्थे । अनि त के चाहियो, एकछिन हा हा गर्यो, धेरैबेर कस्कोभन्दा कस्को बाँस, रुख धेरै हल्लियो भन्दै सोइसोइला खेल्यो । खुब रमाइलो हुन्थ्यो । त्यत्ति सोइसोइला पनि खेल्न नपाउने भए त बिहान बिहानै त्यत्रा डरलाई पार गरेर को जान्थ्यो सुँगा धपाउन ?
सोइसोइला खेल्दा खेल्दै कहिले त आमा, खाजा (उसिनेको, पोलेको, घ्यु चिनीमा भुटेको कलिलो मकै) लिएर फुत्त आइपुग्नुहुन्थ्यो । आइपुग्दा पुग्दै लुकेर मकै खाइरहेका २ ४ सुँगा धपाउन र काम राम्ररी नगरेकोमा सम्झाउन पनि भ्याउनु हुन्थ्यो । अनि निगुरमुण्टी लगाएर खोइ कहाँबाट आयो देख्दै देखिनँ भनेर आफ्नो बचाउ गर्दै खाजा खान सुरु हुन्थ्यो ।

ल अब चाहीँ राम्ररी धपाउनु है, यसो बारी पनि घुम्नु, बाँसमा मात्रै चढी नबस्नु भन्नुहुन्थ्यो । हुन्छ । आमाको अगाडी त भन्यो, अर्को मान्छेको सादर बिना भुईँमा बस्ने हिम्मत भए पो बारी घुम्नु । अनि फेरी उही तरिका, सोइसोइला खेल्दै हा हा गाउँदै । पछि मकै झुत्याउने बेला कुनै घोगाको आधा, कुनैको अलिकति मकै सुँगाले खाएको भेटिन्थ्यो । अनि देखिन्थ्यो  हेरालुको कामको परिपक्वता ।

लगभग डेढ दशकपछि आजकाल म आफ्नै डेक्सबाट पर्तिरको रुखमा बेलामौकामा बस्न आइपुग्ने सुँगाको दर्शन पाउँछु । छिमेकीले आफ्नो करेसाबारीमा गोडा तीसेक मकैका बोट हुर्काएका थिए, त्यतै ताकेर आएका होलान्, बरै । सानैमा सिकेको कुरा सुँगा देख्यो कि धपाउनु पर्छ भन्ने । अहिले पनि घरी घरी त फुत्किहाल्छ कि जस्तो लाग्छ लयबद्ध हा हा हा हा ।