Friday, July 12, 2019

कोरला नाका किन खुल्नुपर्छ ?

कोरला नाका किन खुल्नुपर्छ ?

२०७२ सालमा नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो । त्यसपछि नेपाल सरकारले भारतीय नाकाको विकल्प खोज्ने क्रममा चीनसँगको सीमामा कहाँ कहाँबाट नाका खोल्न सकिन्छ भन्ने अध्ययन गर्‍यो । चीनतर्फ सञ्चालनमा रहेको तातोपानी नाकापछिको प्राथमिकतामा उपल्लो मुस्ताङमा पर्ने कोरला नाकालाई ठहर गरियो । नाका खोल्ने सम्बन्धमा विभिन्न तहबाट चीनसँग भएका छलफलपछि गएको डेढ वर्षको अवधिमै चीनले नाकामा आफ्नोतर्फ आवश्यक संरचना निर्माण गरिसकेको छ । नेपालतर्फ भने नाकामा पर्ने २४ नम्बर पिलरको दायाँ/बायाँ दुवैतर्फ ५००/५०० मिटर जग्गा छुट्याएर भन्सारका एकीकृत संरचना विकास गर्ने भनिएको छ । यसका लागि भर्खरै जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ ।
यो नाका समथर ठाउँमा हुनुका साथै नाकाबाट प्रवेश हुने उपल्लो मुस्ताङ खासै पानी नपर्ने क्षेत्र भएकाले पारवहनका लागि जोमसोमसम्म बाढी/पहिरोको समस्या छैन । जोमसोमदेखि पोखरासम्म पनि बाटो विस्तार तथा सुदृढीकरण चलिरहेको छ । यसकारण जसरी ‘तातोपानी’ काठमाडौं र यस आसपासका क्षेत्रका लागि चीनसँगको प्रमुख व्यापारिक नाका बनेको छ, त्यसैगरी व्यवस्थित भन्सार प्रणाली विकास भए ‘कोरला’ पोखरालगायत त्यस आसपासका क्षेत्रको व्यापारिक नाका बन्न सक्छ ।
यसले अन्तरदेशीय व्यापारमा भारतमा मात्रै रहँदै आएको निर्भरता अन्त्य गर्न पनि ठूलो मद्दत पुर्‍याउँछ । यो नाकाको भ्रमण गरेर सम्भावना हेर्ने काम राजनीतिक नेतृत्वदेखि उच्च पदका कर्मचारीले समेत गरिससकेका छन् । नाका खोल्न आवश्यक पूर्वाधार विकासका लागि बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर सडकका लागि सरकारले बजेटसमेत छुट्याएर काम अघि बढिरहेको छ । उक्त सडक चालू आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको छ । तर नाकामै आवश्यक भन्सार संरचना निर्माण थालनी नभएकोप्रति सीमाक्षेत्र (उपल्लो मुस्ताङ)का बासिन्दाको चासो बढ्न थालेको छ । हरेक वर्षझैं जाडो छल्न काठमाडौं आइपुगेका उनीहरूमध्ये केही प्रतिनिधि पात्रका साथै भन्सार विभागका पूर्व महानिर्देशक तोयम रायमाझीसँग आर्थिक अभियान दैनिकले एक छलफल आयोजना गरेको थियो । प्रस्तुत छ, सोही छलफलमा सहभागीले राखेका भनाइको सार :
लोमान्थाङमा १ हजार रोपनी जग्गा व्यवस्था हुँदै छ
तोयम राया 
सहसचिव, अर्थ मन्त्रालय
पूर्व महानिर्देशक, भन्सार विभाग
मस्ताङ आफैमा फरक भौगोलिक तथा सांस्कृतिक पहिचान बोकेको ठाउँ हो । यो अपर मुस्ताङको कोरला नाका स्वीकृत नाका पनि हो । यो नाका सरकारको प्राथमिकतामा छ । चीन सरकारको तर्फबाट भवन निर्माण लगायत पूर्वाधार निर्माणका काम भएका छन् । हाम्रो तर्फबाट धेरै काम हुन बाँकी छन् । तर प्रक्रिया जारी नै छन् । गण्डकी प्रदेशको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको प्रदेश भएकाले यसलाई उत्तर–दक्षिण नाकाको रूपमा विकास गर्नुपर्ने सरकारको योजना देखिन्छ । किनभने नारायणीमा पानी जहाज ल्याउने योजना छ । तर त्यो (त्रिवेणी) नाका स्वीकृत भएको छैन । यो नाका खोल्न सरकारले भारतसँग पहल गरिरहेको छ ।
मुस्ताङको कुरा गर्दा पहिले भन्सार लोमान्थाङभन्दा ३ किलोमिटर तल थियो । अझ जाडो महीनामा त त्यो काम पनि जोमसोमबाट हुन्थ्यो । केही समयअघि नेपाल सरकारको टोली कोरला नाकामै पुगेर त्यहाँको स्थलगत अध्ययन गरी फर्केको छ । चीनतर्फ पूर्वाधार बनिरहको अवस्थामा हामीले पनि पूर्वाधार बनाउनुपर्ने हुन्छ । त्यो अध्ययनले हामीलाई त्यहाँ कम्तीमा पनि १ हजार रोपनी जग्गा चाहिने देख्यौं । हामीले त्यहाँ एकीकृत भन्सार पोस्ट बनाउनुपर्छ भनेका छौं । कामको प्रभावकारिता र राज्यको खर्चका हिसाबले पनि त्यो आवश्यक छ । दायाँ बायाँ ५–५ सय रोपनी जग्गा पनि प्राप्त गर्न सकिने अवस्था रह्यो । त्यो जग्गा एकातर्फ एकीकृत कार्यालयहरू र अर्कोतर्फ भन्सार यार्डका लागि प्रयोग गर्न सकिन्छ । सरकारले उक्त जग्गा भन्सार विभागको नाममा नापी गर्न नापी विभागलाई निर्देशन दिइसकेको छ । त्यो जग्गा एकीकृत भन्सार पोस्टको नाममा आएपछि अन्य काम क्रमशः शुरू हुँदै जानेछन् । कसले र कसरी बनाउने भन्ने विषयमा सरकारले निर्णय गर्छ । कालीगण्डकीदेखि समर भन्ने स्थानसम्म सडक असजिलो भए पनि कोरलासम्मै कच्ची बाटो पुगेको छ । गाडी पुग्न सक्छ । त्यसको स्तरोन्नति आवश्यक छ ।
लोमान्थाङ साँच्चै सुन्दर छ । चीनसँगको नाकाको हिसाबले यसले नेपालको व्यापारमा पार्ने प्रभाव एकातर्फ छँदै छ, अर्कोतर्फ पर्र्यटनका हिसाबले यसको बेग्लै महŒव छ । यो नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थानमध्येकै एक हो । हिमाली श्रृंखला मात्र नभएर फाँटहरू, शताब्दीऔं पुराना गुम्बा तथा त्यहाँको संस्कृति आफैमा पर्यटकीय प्रडक्ट हुन् । गत वर्षसम्म हामी महानिर्देशक स्तरको वार्ता भारतसँग मात्र थियो । अहिले बंगलादेशसँग भएको छ । अब हामी चीनसँग त्यही स्तरको वार्ताको तयारीमा छौं । आउने अप्रिल–मे महीनासम्म नेपाल र चीनको भन्सारबीच सम्झौता हुने कार्यक्रम छ । समग्रमा यो नाकाको विकास र विस्तारले नेपालको सीमा व्यापार तथा पर्यटनमा सकारात्मक प्रभाव पार्छ । कोरला नाका चीनको पनि चासोको नाका हो । जग्गाको काम सकिनेबित्तिकै अन्य काम अगाडि बढ्नेछन् ।
नाका खुले उत्तरपट्टिबाट आउने पर्यटक बढ्छन्
साम्टुक गुरुङ
स्थानीयवासी, उपल्लो मुस्ताङ
सन् १९९२ मा पर्यटन व्यवसायका लागि उपल्लो मुस्ताङ खुला भएपछि विदेशी पर्यटकका लागि उपल्लो मुस्ताङको लोमान्थाङसम्म घुम्न १० दिनको अनुमति लिनुपथ्र्यो । त्यससँगै जोडिएका तर गाविस मात्रै फरक रहेका नाम्गेल, छोसेर र छुनुसम्म पुग्न चाहने पर्यटकले थप ३ दिनको अनुमति लिनुपर्ने अवस्था थियो । यो नियम सन् २००५ सम्म रह्यो । पर्यटकले प्रतिदिनको हिसाबले निर्धारित दिनकै शुल्क बुझाउनुपथ्र्यो । यसकारण बढी खर्च लाग्ने भएपछि पर्यटकले सकेसम्म यात्राका लागि दिन घटाउँथे । यसको घाटा त्यो क्षेत्र देख्न नपाउँदा पर्यटकलाई र उनीहरूको चहलपहल कम हुँदा स्थानीय व्यवसायीलाई पनि थियो । त्यसैले मैले सन् २००३ देखि नै स्थानीय जनप्रतिनिधिदेखि मन्त्रालयसम्म कुरा गरेर १० दिनकै अनुमतिले उक्त क्षेत्र पनि घुम्न पाउने व्यवस्था लागू गराउन सफल भएँ । हुन त अहिले पनि पर्यटक उक्त क्षेत्र घुमेपछि फर्केर बस्ने लोमान्थाङमै हो । तर पनि पर्यटक त्यहाँसम्म पुग्दा स्थानीयवासीले पनि केही देख्छन्, सिक्छन्, पर्यटकले पनि त्यस क्षेत्रका गुफा, गुम्बा देखेर केही सिक्छन् । पर्यटककै चहलपहलले गर्दा अहिले उक्त क्षेत्रमा गुफा र गुम्बाहरू व्यवस्थित हुन थालेका छन् ।
चीनले अहिले आफ्ना नागरिकलाई देश–विदेश घुम्न प्रोत्साहन गरिरहेको छ । नाका खुल्ने हो भने उत्तरपट्टिबाट आउने पर्यटक बढ्छन् । यसपछि छोसेर, नाम्गेल हुँदै लोमान्थाङतिर आउँछन् । साथै उक्त क्षेत्रमा पर्यटकको संख्या र आर्थिक गतिविधि बढेर स्थानीयस्तरमा समृद्धि हासिल हुन सक्छ ।
देशले भन्सारबापत पाउने लाभ गुमाइरहेको छ
जिग्मे सिंघी पलबर विष्ट
पूर्वयुवराज, उपल्लो मुस्ताङ
पहिले पहिले कोरला नाका हुँदै नेपाल र तिब्बतबीच स्वतन्त्र आवत–जावतको व्यवस्था थियो । तिब्बतीहरू बुद्धधर्म पढ्न यही बाटो भएर नेपालका विभिन्न क्षेत्रका साथै भारतसम्म पुगेका र फर्किएको इतिहास पाइन्छ । साथै आठौं शताब्दीमा भारतबाट तिब्बतमा बुद्धधर्म प्रसारका लागि पद्मसम्भव (गुरु रिन्पोचे) यही बाटो हुँदै जानुभएको पनि सो क्षेत्रमा रहेका उहाँका तीर्थस्थलबाट थाहा पाउन सकिन्छ ।
पोखराको बाटो उपल्लो मुस्ताङसम्म नखुलुञ्जेल हामी (उपल्लो मुस्ताङवासी) व्यापारमा पूर्णतया चीनसँग निर्भर थियौं । त्यति मात्रै होइन, हिउँदमा उपल्लो मुस्ताङमा घाँसको अभाव हुने हुँदा त्यो मौसममा यताका पशु चरणका लागि उता लैजानसमेत छूट थियो । तर जब चीनसँगको नाका बन्द भयो (१९६० को खम्पा विद्रोहपछि), तब चीनसँग उपल्लो मुस्ताङको सम्बन्ध पूरै टुट्यो । धेरैपछि मेरो बुबा (जिग्मे दोर्जे पलबर विष्ट)ले चीनसँग अनुरोध गरेपछि वर्षको दुईपटक उपल्लो मुस्ताङी जनताका आवश्यकताका सामान आपूर्तिका लागि नाका पारि उनीहरूले तोकेको ठाउँमा मेला लगाउने व्यवस्था शुरू भएको हो ।
भन्सारको व्यवस्था गरी नाका नखुल्दा हाम्रा सुरक्षाकर्मीको सानो संख्या रहेको स्थान छलेर चीनबाट भेडा च्यांग्राका साथै कतिपय सामान अवैध रूपमा भित्रिरहेका छन् । यसले हाम्रो देशले भन्सारबापत पाउने लाभ गुमाइरहेको छ । साथै सोझो जहिल्यै हेपिने, सक्नेले जहिल्यै पेल्ने प्रवृत्तिको मारमा उपल्लो मुस्ताङी जनता परिरहनु परेको छ । त्यसैले चाँडै व्यवस्थित संरचनासहित नाका खुलाउन स्थानीय तहदेखि संघसम्मका जनप्रतिनिधिलाई भेटेर अनुरोध गरिरहेको छु ।
नाकाले धार्मिक पर्यटक भित्र्याउँछ
छेवाङ विष्ट
पर्यटन व्यवसायी, उपल्लो मुस्ताङ
२०७२ का दुईओटा ठूला घटना (भूकम्प र नाकाबन्दी)ले मुलुक उकुसमुकुस अवस्थामा रह्यो । यसले मुलुकको दक्षिणी नाकामा मात्रै आश्रित भएको नेपालको बाह्य बजार÷व्यापारमा ठूलो हलचल नै मच्यायो । फलस्वरूप बाह्य व्यापारका लागि निकै उपयुक्त मानिएका उत्तरी नाकाको चर्चा शुरू भयो । त्यसमध्ये पनि नेपालको ठूलो बजार हिस्सा ओगटेको चीन र त्यससँग जोडिने उपल्लो मुस्ताङको कोरला नाका सञ्चालनलाई प्रमुख प्राथमिकता दिइयो । यी घटना नै उत्तर दिशाका नाकाहरू खोल्ने विषयमा बलियो आधार बन्न पुगे ।
मुस्ताङको भविष्यसँग मात्रै नभई यो नाका मुलुककै आन्तरिक तथा बाह्य बजारका साथै पर्यटन क्षेत्रका लागि कोसेढुंगा बन्न सक्छ । नाका खोल्न प्रयास भइसकेपछि यहाँका जनता तथा व्यवसायी निकै उत्साहित भएका छन् । अहिले नाका खुल्छ भनिएको छ । सडक पनि बनेको छ, तर नेपालतर्फको काम भने कछुवाको गतिमा भइरहेको छ । अहिलेको चुनौती भनेको नेपालले पूर्वाधार निर्माणका क्रममा देखाएको ढिलासुस्ती नै हो । चीनसँग जोडिएको तातोपानी नाका दीर्घकालीन समाधान होइन । तातोपानी हुँदै आउने बाटोमा गइरहने पहिरोका कारण यसको उपयुक्त विकल्प कोरला नाका नै हो ।
मुस्ताङ धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य हो । मुक्तिनाथ, दामोदर कुण्ड र मानसरोवर तीनओटै तीर्थका लागि यो नाका उपयुक्त हुन्छ । यी धार्मिक स्थल हिन्दू र बौद्ध धर्मका आन्तरिक र बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हुन् । सन् १९९२ देखि मुस्ताङ भ्रमणका लागि खुला गरिएपछि विस्तारै–विस्तारै यो पर्यटकको गन्तव्य बन्न पुगेको छ । मुस्ताङमा आउने विदेशी पर्यटकका लागि ५ सय अमेरिकी डलर शुल्क लाग्छ । पैसा खर्च गर्न सक्ने पर्यटक यहाँ आउने गर्छन् । अहिले वार्षिक ४ हजारदेखि ५ हजार पर्यटक आइरहेका छन् ।
यसमध्ये फ्रेन्च बढी छन् । सन् १९९६ तिर फ्रेन्च मानवशास्त्री आएका थिए । उनले मुस्ताङका विषयमा पुस्तक निकालेका थिए । यस कारण पनि फ्रेन्च पर्यटक बढेको हुन सक्ने आकलन छ । साथै अन्य यूरोपेली पर्यटक पनि आउने क्रम बढेको छ । पछिल्लो समय म्युजिक भिडियोका साथै फिल्महरू मुस्ताङमा शुटिङ हुन थालेपछि यहाँ आन्तरिक पर्यटक बढेका छन् ।
नाका नखुलेसम्म सुरक्षा चुनौती महसूस भइरहेको छ
लोप्साङ छोम्पेल विष्ट ‘राजु’
अध्यक्ष, लो घेकर दामोदरकुण्ड गाउँपालिका, उपल्लो मुस्ताङ
भन्सारका लागि चीनले डेढ वर्षको समयमा भव्य भवन बनाइसकेको छ । तर हामीले चीनलाई भन्सार खोल्नुपर्‍यो मात्रै भनिरहेका छौं, जग्गा छुट्याएर संरचना निर्माण चाहिँ थालेका छैनौं ।
गत साल चीनका राजदूत लोमान्थाङ आउँदा हामीले नाका खोल्नुपर्ने विषय उठाएका थियौं । त्यतिबेला उहाँले हामीले हाम्रोतर्फ काम गरेको त सीमावासी भएकोले देखिरहनु नै भएको होला, तपाईंहरूले छिटो गर्न के गरिरहनु भएको छ भनेर सोध्नुभयो । हाम्रोमा जग्गा प्राप्ति, बजेट छुट्याउने जस्ता काममै समय धेरै लागिरहेको छ । त्यसैगरी जिम्मेवार निकायका लामो समयदेखि काम गरिरहेका कर्मचारी सरुवा हुने नयाँ मान्छेले बुझ्न समय लाग्ने कारण पनि समस्या छ ।
उपल्लो मुस्ताङवासीले नाका खुलाउन हामीजस्ता जनप्रतिनिधिले पहल गर्न सक्छ कि सक्दैन, कति चाँडो हुन्छ, नेपाल सरकारले लगानी गर्न सक्छ कि सक्दैन भन्ने हेरेर बसेका छन् । सडक नै नाकासम्म बनिसकेको हुँदा अब संरचना निर्माणमा कुनै बाधा छैन । यसमा नेपाल सरकारले बलियो संयन्त्र बनाएर काम गर्नु आवश्यक छ ।
नियमअनुसार नाकाबाट ३५ किलोमिटर यता र उता गर्न दुवैतर्फका स्थानीयवासीलाई छूट छ । तर हामी उता जानुप¥यो भने लोमान्थाङमा रहेको कार्यालयबाट पास लिएर जाँदा पनि उनीहरूलाई मन लागे जान दिन्छन्, मन नलागे दिँदैनन् । तर उनीहरू चाहिँ आफ्नै गाडी लिएर निर्बाध रूपमा लोमान्थाङसम्म आउने, हाम्रा सरकारी अधिकारी, सुरक्षाकर्मीलाई भेटेर जाने गर्छन् । दुईतर्फको समान व्यवहार नभइरहेका कारण व्यवस्थित रूपमा नाका नखुलेसम्म सुरक्षा चुनौती महसूस भइरहेको छ । नाका खुलेपछि दुवैतर्फ व्यवस्थित संयन्त्र हुन्छ, डर हुँदैन ।
नाकाबाट करीब ६ किलोमिटरको दूरीमा चीनको आर्मी क्याम्प र नाकाबाट निकै नजीक सशस्त्रको ब्यारेक छ । तर हाम्रोतर्फ भने सशस्त्रको क्याम्प नाका नजिक भए पनि आर्मी ब्यारेक चाहिँ २१ किलोमिटर टाढा बन्दै छ । उपल्लो मुस्ताङको मुटु भनेको लोमान्थाङ हो । संसारमै चर्चित भएकै कारण विदेशीहरू ५०० डलर तिरेर पनि लोमान्थाङ पुग्छन् । यस्तो अवस्थामा नाकाबाट टाढा आर्मी क्याम्प राख्दा सुरक्षामा समस्या हुने हो कि भन्ने चिन्ता छ ।
नाका खुल्दा फाइदै हुन्छ
रामबहादुर गुरुङ
होटल व्यवसायी, लोमान्थाङ
चीनतर्फको नाका (कोरला) खुल्दा हाम्रो पर्यटनमा असर पर्ने हो कि भन्ने एकखाले आशंका छ । तर यसले असर गर्दैन, बरु फाइदा हुन्छ । मुस्ताङमा अन्यत्र कतै नदेखिने प्राकृतिक भूबनोटका साथै आफ्नै पहिचान बोकेको संस्कृति छ । नाका खुल्ने, यस क्षेत्रको महŒव प्रचार–प्रसार गर्ने र भ्रमण शुल्क घटाउने भने विदेशी पर्यटकको आगमन धेरै बढ्छ । सरकारले समय सापेक्षित कदम चाल्दा समग्र राष्ट्रले नै फाइदा लिन सक्छ भन्ने उदाहरण उपल्लो मुस्ताङ हो । सन् १९९२ मा सरकारले उपल्लो मुस्ताङमा पर्यटन व्यवसायका लागि खुला गरेपछि १६ वर्षसम्म लोमान्थाङमा दुईओटा मात्र होटल थिए ।
उक्त क्षेत्रमा पर्यटकीय सम्भावना छैन भन्ने मानसिकताले पर्यटन व्यवसायमा स्थानीय बासिन्दाले लगानी गरेनन् । तर यथार्थ भने पर्यटकमा लगाइएको महँगो शुल्क रहेछ । जब सन् २००७ देखि प्रतिविदेशी पर्यटक प्रतिदिन ७० डलरबाट घटाएर ५० डलर कायम गरियो, तब पर्यटक ह्वात्तै बढे । यसपछि उनीहरूलाई सेवा दिन होटल पनि थपिँदै गए । हाल लोमान्थाङमा १७ ओटा होटल सञ्चालनमा छन् । पर्यटक बढ्दा स्वाभाविक रूपमा यहाँको आर्थिक गतिविधि पनि बढ्छ । यसले मुस्ताङका साथै देशको समृद्धिका लागि टेवा पुग्छ । हाल मुस्ताङबाट सबैभन्दा धेरै फाइदा लिने निकाय नेपाल सरकार हो । तर त्यसको लाभ स्थानीय क्षेत्रमा कति पुग्यो भन्ने कहीँ तथ्यांक छैन ।

Thursday, November 29, 2018

कहाँ पुग्दैनन् उनीहरू ! गाइड र भरियाका आफ्नै कथाव्यथा

दुर्गा लामिछाने

जीवनमा एक न एकपटक मानसरोवर पुग्नु नेपाल र भारतका साथै अब त विश्वभरका मानिसको पनि सपना हो । हिन्दू तथा बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिने मानसरोवर पुग्न सके मृत्युपछि सुगति हुने विश्वास गरिन्छ । जवानीमा नसके बुढेसकालमा मर्नैका लागि मात्र भए पनि पुग्न चाहनेहरू पनि छन् । त्यति हुँदा पनि सबैलाई एकै पटकको मानसरोवर यात्रा पनि नजुर्न सक्छ ।
तर, रमाइलो कुरा यस्तो कुनै विश्वास र प्रयासविनै भरियाको काम गर्ने सोलुका बुद्धिबहादुर मगर ५० पटक मानसरोवर पुगिसकेका छन् । २०५० सालदेखि हालसम्म उनी पर्यटकको भरिया बनेरै यतिका पटक मानसरोवर पुगेका हुन् । त्यहाँ जानेमा सबैभन्दा बढी भारतीय पर्यटक हुने उनको अनुभव छ । विदेशी पर्यटकसँगै मुस्ताङको लोमान्थाङ पुगेका उनी ६५ वर्षको उमेरसम्म यो पेशा गर्न सक्ने आशा गर्छन् ।
विगत ४ वर्षदेखि ट्रेकिङ रूटबारे गाइड गरिरहेका हस्तबहादुर गुरुङ ३६ वर्षका भए । योबीचमा उनीले लगभग नेपालका सबै ट्रेकिङ रूटहरू छिचोलिसकेका छन् । यो पेशामा उनको भाषागत ज्ञानको महत्त्वपूर्ण भूमिका छ । गाइडको काम गर्न जति धेरै भाषा जान्यो, उति राम्रो हुने उनको अनुभव छ । ४ कक्षासम्म मात्र पढेका उनी भाषाको ज्ञानकै कारण गाइडको काम गर्न पाइरहेका छन् । ‘पहिले त गरेँ नि, भरिया पनि भएँ, क्याम्प खडा गरेर बसेको ठाउँमा खाना पकाउने कूक पनि भएँ, क्लाइम्बिङ गाइडको पनि काम गरेँ,’ आफ्नो मेहनतले भएको प्रगतिमा सन्तुष्टि व्यक्त गर्दै उनी भन्छन्, ‘त्यही बीचमा फ्रेञ्च भाषाको कोर्स गरेर अलिअलि बोल्न सक्ने भएपछि गाइडको काम थालेको हुँ ।’ नेपालमा आउने पर्यटकमध्ये फ्रेञ्च पर्यटकको सङ्ख्या उल्लेख्य रहेकाले उनको पेशा सुरक्षित छ । त्यसमाथि आफूले लिएर हिँडेका पर्यटकलाई बाटो देखाउने मात्रै नभई डाइनिङ हलमा खाना लगिदिने, तातोचिसो पानीको व्यवस्था गरिदिने साथै उनीहरूको आवश्यकतामा घरको सदस्यझैं लागिपर्ने उनको गजबको बानी छ । नम्र स्वभावका उनमा आफूले पढेको छैन भन्ने कुरा मनमा गहिरो गरी गढेको कुराकानीका क्रममा बुझिन्छ, जुन कमी पूरा गर्न उनी पर्यटकलाई कसरी उत्कृष्ट सेवा दिने भन्नेमा तल्लीन भएका देखिन्छन् ।
आम्दानी र सुविधा
‘कम्पनीले प्रतिपर्यटक २ हजारदेखि २ हजार ५ सय डलर लिन्छ,’ गाइड गुरुङ भन्छन्, ‘त्यसबाट हामी गाइडले पाउने खाना र सुत्नका लागि समेत गरेर दिनको ३ हजार रुपैयाँ हो ।’ भरियाको काम गर्नेहरूले खाने बस्ने सुविधाबाहेक दिनको १ हजार ५ सय पाउँछन् ।
सुविधातर्फ भरिया होऊन् वा गाइड, घाइते भए उपचार र औषधि खर्च कम्पनीले नै बेहोर्छ । सम्बन्धित घटनास्थलबाट दुवैको सित्तैमा उद्धार गरिन्छ । ‘काममै भएको बेला मृत्यु भयो भने १५ लाख रुपैयाँ बीमाको पैसा परिवारले पाउने व्यवस्था छ,’ भरियाको काम गर्ने सार्की नेकोर (तामाङ) भन्छन् ।
भरियाका लागि होटलहरूले बस्ने खाने व्यवस्था अत्यन्त कम मूल्यमा गरेका हुन्छन् । होटलवालाहरू पनि चलाख छन्, खाना र वासका लागि पर्यटक र भरियालाई आफ्नो होटलमा ल्याउने गाइडलाई सित्तैमा खान–बस्न दिन्छन् । यो व्यवस्था लगभग सबैजसो ठाउँमा हुन्छ । तर, पनि यो क्षेत्रमा काम गर्ने गाइड वा भरिया, सबैले कमाएका सबै पैसा घर पुग्दैनन् । धेरैजसोको कमाइको ५० प्रतिशत पनि घर नपुग्ने उनीहरू नै बताउँछन् । ट्रेकिङमा हिँड्दा रक्सी खाने, तास खेल्ने गरेर धेरै पैसा सकिन्छन् । आफ्नो यस्तो बानी छाडेर पैसा जोगाउन तिर लाग्नुको साटो बरु आफै विदेशतिर लाग्ने सोचमा छन् केही ।
गर्व पनि छ पेशाप्रति
नेपालीहरू हजारौं र विदेशीहरू लाखौं रुपैयाँ खर्च गरेर पुग्ने ठाउँहरू गाइड र भरिया सित्तैमा पुग्छन् । ‘सित्तैमा मात्रै होइन उल्टै पैसा पनि पाइन्छ,’ उपल्लो मुस्ताङको समरबाट उकालो लागेपछि देरालीमा भारी बिसाएको बेला गोरखा लाप्राकका २० वर्षीय हरिमान गुरुङले भने । १२ कक्षा पार गरेका उनी पढाइ पनि अघि बढाउँदै सकेसम्म यसै क्षेत्रमा काम गर्ने सोचमा छन् । दिनभर भारी बोकेर वासमा पुगेपछि पनि गाइडसँगै लागेर पर्यटकको व्यवस्थापनको काममा सघाइरहेका देखिन्थे उनी । ‘एक दुईओटा भाषा सिकेर विस्तारै गाइडको काम गर्ने सोच छ,’ गिलिङमा एउटै होटलमा वास परेका बेला उनले आफ्नो योजना सुनाए ।
मौसमी पेशाको चुनौती र विदेश
भरियाको काम गर्ने रसुवाका २४ वर्षीय छिरिङ लामा कुवेत जाने तयारीमा छन् । उता भए कमाएको पैसा पठाइन्छ र बचत हुन्छ भन्ने उनको आशा छ । गरिरहेको पेशामा कमाइ राम्रो हुने हो भने पनि विदेश गइरहनु नपर्ने उनको धारणा छ । त्यसमाथि पर्यटन मौसमी पेशा भएका कारण यसबाट निरन्तर आम्दानी हुने अवस्था पनि छैन ।
तर, सोलुका बुद्धिबहादुर मगर भने भरिया पेशाको मौसमी चुनौती सामना गर्न वैकल्पिक पेशाका रूपमा वाल पेण्टिङ गर्छन् । पहिले केही वर्ष खाडी मुलुकमा काम गरेर आएका उनी काम गर्न खाडीभन्दा नेपाल धेरै राम्रो रहेको बताउँछन् ।
पहिले भारत तथा बङ्गलादेशमा काम गरेर फर्किएका भरियाको काम गर्ने रसुवाका ३२ वर्षीय मिङ्मा छिरिङ पनि अब नेपालमै बस्ने सोचमा छन् । ‘हिँड्न सकुञ्जेल यहीँ काम गर्छु,’ उनले निर्धक्कसाथ भने, ‘कमाइको करीब ७० प्रतिशत जोगिन्छ, यसबाटै यतै केही गर्ने तर विदेश चाहिँ जान्न ।’

Tuesday, November 6, 2018

रहस्यमय मुस्ताङ

मुस्ताङ (विशेषगरी उपल्लो) घुम्न आउने विदेशी पर्यटक उक्त क्षेत्रलाई रहस्यमय भूमि (मिष्टिक ल्याण्ड)का रूपमा व्याख्या गर्छन् । यहाँको भूगोल, रहनसहन, वेशभुषा, संस्कृति आदिका कारण यो क्षेत्र साँच्चै रहस्यमय छ । नेपालमा हिमाल उत्तरमा पर्छ । तर, यो जिल्लाको हिमाल उत्तरबाहेक बाँकी तीन दिशामा पर्छ ।
हिउँ पर्ने मौसममा पूरै उपल्लो मुस्ताङ हिउँले ढाकिन्छ । रूखविनाका नाङ्गा र अग्ला डाँडाहरूले बेग्लै भूगोलको कथा बताउँछन् । अझ, केही किलोमिटरपछि र एकै ठाउँबाट पनि फरक–फरक प्रकृतिका पहाडी संरचनाहरू देखिन्छन् । यस्तै अन्य केही विशेषताले यो क्षेत्र बाँकी दुनियाँबाट पृथक लाग्छ ।
बौद्ध संस्कृति
तिब्बती भाषा बोलिने यो क्षेत्रमा बुद्धधर्मको तिब्बती परम्परा र संस्कृति पाइन्छ । नेपालका अन्य भूभागमा एक गाउँ–एक मन्दिर भएझैं यो भेगमा एक गाउँमा कम्तीमा एक गुम्बा पाइन्छ । गुम्बामध्ये पनि धेरैमा रहस्यमय इतिहास भेटिन्छन् । माराङ गाउँमा पर्ने लोगेकार (घर) गुम्बा ८औं शताब्दीमा निर्मित तिब्बती बौद्ध परम्पराकै सबैभन्दा पुरानो गुम्बा मानिन्छ । पद्म सम्भव (गुरू रिन्पोचे)द्वारा बनाइएको यो गुम्बा तिब्बती बौद्ध संस्कृति मान्नेहरूका लागि ठूलो श्रद्धाको केन्द्र हो । यसको निर्माण भएपछि मात्रै तिब्बतकै पहिलो गुम्बा साम्येको निर्माण सम्भव भएको इतिहास चाखलाग्दो छ ।
जोमसोमको ठिनी गाउँमा रहेको कुछप तेरङ्गा, घमीमा रहेको सबैभन्दा लामो माने, एक–एकओटा मानव हात (पञ्जा मात्र) रहेका गिलिङ र चाराङका दुई गुम्बाका इतिहास पनि रहस्यमय छन् । रूखका नाममा भुइँमै टाँसिएका केही प्रजातिका काँडाहरू मात्र भेटिने उपल्लो मुस्ताङको लोमान्थाङमा १४औं शताब्दीमा निर्मित जाम्बा र थुब्चेन नामका दुई गुम्बामा प्रयोग भएका काठ अर्को आश्चर्य हुन् । यस्तो हिमाली मरूभूमिमा यी काठ कहाँबाट आए ? आश्चर्य ती त्यतिबेलाको स्थानीय काठ हुन्, स्थानीयका भनाइ छ । यतिका ठूला रूख हुने यस क्षेत्रमा आज जरासमेत नभेटिने गरी यहाँको भूगोलमा यस्तो परिवर्तन कसरी आयो होला त ?
जहाँ पानी, त्यहीँ कृषि र बस्ती
कृषिका लागि अनुपयुक्त लाग्ने जमिनमा पनि सिँचाइ मिलाइएको पहाडका फेदीहरूमा फापर, जौ, उवा, आलु, साग, काउली, बन्दाकोबीजस्ता केही अन्न र सागसब्जी फलाइएका भेटिन्छन् । खेतीयोग्य जमीनको एकापट्टि झुरूप्प पारेर बनाइएका घरहरू छन् । यी एकीकृत बस्तीको अवधारणाले बनेका प्रतीत हुन्छन् । यसरी बस्ती बस्नुको एउटा कारण सीमित क्षेत्रमा मात्रै बाली लाग्नु हो । अर्को कारणचाहिँ त्यहाँ चल्ने हावाबाट आफूलाई सुरक्षित राख्नु हो ।
मुस्ताङ जिल्ला अत्यधिक हावा चल्ने क्षेत्रमा पर्छ । बिहानको ११ बज्दा नबज्दै दक्षिण दिशाबाट उत्तरतर्फ वहन शुरू गर्ने हावा साँझ परिसक्दासम्म जोडतोडले चलिरहन्छ । झुरूप्प परेको बस्ती भएकाले हावाका कारण घरहरूमा पुग्ने क्षति रोक्न मद्दत पुगेको छ । र, यसरी बनेका यहाँका बस्तीभित्र प्रवेश गर्दा अर्कै संसारमा पुगेको अनुभूति हुन्छ । बस्तीभित्रै भेटिने गुम्बा तथा बाटो हिँड्दा दायाँ पारेर हिँड्न मिल्ने गरी दुईपट्टिको बाटोका बीचमा राखिएका माने र छोर्तेनले पर्यटकलाई अर्कै दुनियाँ पुगेको जस्तो लाग्छ । बस्तीभित्रै सयौंका सङ्ख्यामा हिँडिरहेका भेडा, च्याङ्ग्राका बथान तथा सामान बोकेर लम्किएका घोडाका लस्कर पनि यहाँका विशेषता हुन् ।
बेलैमा सोचौं
मुस्ताङलाई माटोको क्षेत्र र लोमान्थाङलाई माटोका पर्खालको शहर भनेर चिनिन्छ । काँचो माटोको इँटा वा ढुङ्गा अनि माटैको जोडाइले बनेका घर र पर्खाल मुस्ताङको मुख्य विशेषता हो । स्थानीय उपलब्धताका आधारमा परम्परागत रूपमा बनेका यस्ता संरचना पर्यटकहरूका लागि निकै आकर्षक पक्ष हुन् ।
पछिल्ला वर्षहरूमा यहाँ पानी बढी पर्न थालेको छ । पानीले माटोका यस्ता संरचनाहरू जोखीममा पर्न थालेका छन् । यसका कारण सक्षमहरूले क्रङ्क्रिटका संरचनाहरू निर्माण गर्न थालेका छन् । यो क्रम विशेषगरी लोमान्थाङमा तीव्र रूपमा अघि बढिरहेको छ । यसरी क्रङ्क्रिटका संरचना बनाउँदा कतै उक्त क्षेत्रको विशेषता नै मेटिने पो हो कि ? समयानुसार पनि चलिने विशेषता पनि नमेटिने गरी योजनाबद्ध रूपमै केही महत्त्वपूर्ण कदम चाल्नु अत्यन्त जरूरी छ ।

मुस्ताङमा पर्यटक पुग्नुको एक महत्त्वपूर्ण कारण त्यहाँको बौद्ध संस्कृति हो । सामान्यतया नेपालीहरूमा पुगेका ठाउँ सर्सर्ती हेरेर हिँड्ने चलन भए पनि विदेशीहरू देखेका हरेक कुराको भित्री रहस्यसम्म पुगेर जान्न चाहन्छन् । त्यसमा पनि पछिल्लो समयमा पश्चिममा बढ्दै गएको बुद्धधर्म र गुरू रिन्पोचेको प्रभावका कारण बौद्धमार्गी विदेशी पर्यटकका लागि त मुस्ताङ यात्रा, यात्रा मात्रै नभई तीर्थयात्रा पनि हो । बुद्धसँग सम्बन्धित विश्वका धेरै क्षेत्र घुमिसकेका र त्यहाँका गुम्बामा रहेका ससाना आकृति, सामग्री लगायतका बारेमा जानकारी लिएका विदेशी पर्यटक यहाँका गुम्बाका बारेमा पनि त्यसैगरी जानकारी लिन चाहँन्छन् । तीमध्ये कतिले यात्राबाट फर्किसकेपछि लेख लेख्ने, पुस्तक प्रकाशन गर्ने तथा कुनै विशेष सम्मेलनहरूमा वक्तव्य दिने पनि गर्छन् । यसर्थ उक्त क्षेत्रका गुम्बाहरूलाई जीवित राख्न कम्तीमा नियमित पूजा, अफरिङ गरिनुका साथै बुद्धधर्म र उक्त गुम्बाका बारेमा बताउन/बुझाउन सक्ने मानिसको व्यवस्था गरिनु आवश्यक छ ।
बेनी–जोमसोम–कोरला हाइवेका कारण लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । नेपालीहरूमा पदयात्राभन्दा गाडीयात्रा बढी रूचिकर भएका कारण आन्तरिक पर्यटनमा सकारात्मक भूमिका खेले पनि बाह्य पर्यटनमा भने यही हाइवेले असर पार्ने देखिएको छ । व्यवस्थित सडकहरूमा सुविधासम्पन्न गाडीमा यात्रा गरेर जीवन बिताएका विदेशी पर्यटक पृथक् जीवन बिताउन पदयात्रा (ट्रेकिङ)मा निस्कने हुन् । उनीहरू गाडीका आवाज र धूवाँधूलो मात्रै होइन, अनुहार पनि नदेखिने क्षेत्रमा केही दिन बिताउन चाहन्छन् । तर, उपल्लो मुस्ताङको पदयात्रा शुरू गरेको लगभग पूरै दिन (जोमसोमदेखि समरसम्म) र अर्को दिनको आधा (स्याङ्बोचेदेखि गिलिङसम्म) सडकै सडक हिँड्नुपर्ने बाध्यता छ । यसरी सडकबाट हिँड्दा गाडीले उडाउने धूलोले निकै दुःख दिन्छ । कुराकानीका क्रममा केही पर्यटकहरूले त सडकदेखि केही परै पर्ने गरी अर्को कुनै क्षेत्रबाट ट्रेकिङ ट्रेल नखोलिए आफूहरू पनि फेरी नआउने र अरूलाई पनि प्रोत्साहन नगर्ने बताए ।
पर्यटन विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा कम लागत पर्ने माध्यम हो । तर, हामीले देशको समृद्धिका लागि गरिरहेका विकासले यो क्षेत्रमा के कसरी असर पुर्‍याइरहेको छ भन्ने विषयमा सोच्न पर्यटकहरूको भनाइले बाध्य गराउँछ । सडक, विकासको आधार हो । तर, यसको निर्माणका क्रममा बहुपक्षीय रूपमा ध्यान दिन नसके देशले अपूरणीय क्षति भोग्नुपर्ने दिन आउनेछ ।
स्रोत : http://www.abhiyan.com.np/?p=290519

Saturday, July 21, 2018

मर्न छोडिदेऊ कसरी भन्नु ?

फेसबुकबाट सहयोगका लागि गरिएको आह्वानले काम गरेको थियो । अस्पतालमै पुगेर सहयोग राशी प्रदान गरेका तस्वीर र खबरहरू आउन थालेका थिए । म भने कहिले विदाको दिन आउला र केही साथीहरूका साथै आफ्नो सहयोग राशी पु¥याउला जाउँला भन्ने पर्खाइमा थिएँ । आफ्नो कामको तालिका व्यवस्थापन गर्दै जसै नेपाल मेडिकल कलेज पुगें, कतै डिस्चार्ज भएर पो गइसके कि भन्ने आशंका उब्जियो । प्रसुतीपछि राखिने वार्डको ढोकामा उभिएकी सुरक्षाकर्मीले १८ वर्षे प्रसुती रोजिना तामाङ यहीँ छिन् भन्ने थाहा पाएपछि ढुक्क भयो । उनी आफ्ना जुम्ल्याहा बच्चा राखिएको एनआईसियुमा रहिछिन् । डाक्टरको अनुमतीले मैले पनि प्रवेश पाएँ ।
डाक्टरको कुराबाट ३० हप्तामा जन्मिएका जुम्ल्याहामध्ये एउटाको प्लेटलेट १२ हजार र अर्कोको ७७ हजार रहेको र हुनुपर्ने २ लाख भन्ने जानकारी पाएँ । १२ हजार प्लेटलेट भएको बच्चाको नाक, मुखबाट रगत आइरहेको र जुनसुकै बेला शरीरको जुनसुकै भाग पनि फुटेर रगत बगी मृत्यु हुनसक्ने, यस्तो केसमा रगत दिएर भेण्टिलेटरमा राखे पनि बाँच्ने सम्भावना एक हजारमा एउटा हुने उनीहरू बताइरहेका थिए । हिजै रगत ल्याउन अह्राएको भए पनि रगत नल्याइदिएकाले बच्चा नीलो हुँदै गएको र अवस्था झनै जटिल बन्दै गएकोले उसलाई भेण्टिलेटरमा राखेर केही थप समय दुःख दिन चाहँनुहुन्छ कि बरू रहुञ्जेल आईसियुमा रहन्छ नरहे माया मार्ने भन्ने सवालसहित सही छापका लागि सुत्केरीलाई पत्र दिइएको रहेछ ।
जसै म पुगें र उनलाई सहयोग गर्न फेसबुकबाट आह्वान गरेको बताएँ, उनीहरू मेरो सहमती खोजे झैं मलाई बुझाउन थाले । केवल आमा र सायद बहिनीको सहारामा अस्पताल बसिरहेकी रोजिना के गर्ने नगर्ने अन्यौलमा थिइन् । कच्चा उमेर, आमा बन्ने परिपक्वता नआइसकेको मानसिकता, उनी बच्चा जन्मिएदेखि नै बरू चाँडै अस्पतालबाट उम्किएर घर जान खोजिरहेकी थिइन् ।
हिजो मात्रै पनि श्रीमानले फोन गरेर घर आइज भनेर धम्कि दिएकोले दुबै बच्चा डिस्चार्ज गरी उनीहरू हिँड्नै लागिसकेका रहेछन् । त्यो संवेदनशील अवस्थामा रहेका बच्चा अस्पतालको प्रकृया नसकिँसम्म दुई घण्टा आईसियु बाहिर रहेछन् । पछि के कारणले हो सोच परिवर्तन गरी अस्पतालमै बस्ने भनेपछि अस्पतालले पुनः भर्ना गरेर राखेछ । उनीहरूको यो लापरवाहीले पनि बच्चाहरू थप जोखिममा परेको भन्दै डाक्टरहरू आक्रोस व्यक्त गरिरहेका थिए ।
कुराको क्रममा बारबार अवस्था जटिल बन्दै गएको बच्चाको सम्बन्धमा निर्णय गर्न डाक्टरहरू भन्दै थिए । उनीहरू सुत्केरी र उनकी आमाबाट जवाफ खोजिरहेका थिए । सुत्केरी र उनकी आमा मबाट निर्णय सुन्न चाहिरहेका थिए । सायद यसले ‘म लागेको खर्च जुटाउँछु,’ भने बचाउँन पाए हुन्थ्यो भन्ने सोच्दै थिए वा हामीले सही गरिदिँदा यसले पो नराम्रो सोच्ने हो कि भन्ने सोच्दै थिए, उनीहरू नै जानुन् । डाक्टरको रिपोर्टले आश मार्नुपर्ने देखाउँछ, सास छउञ्जेल आश मार्नु पनि कसरी ? म केही बोल्नै सकिरहेकी थिइनँ । लगभग २ मिनेटसम्म कोही केही बोलेन, केवल सन्नाटा छायो त्यो कोठाभरी । ‘के म बच्चा हेर्न सक्छु ?’ बच्चाको स्थिति हेरेर केही सहज बनाइदिन सकिन्छ कि भन्ने आशले सन्नाटा तोड्दै मैले सोधें । डाक्टरहरूको अनुमती पाएपछि म भित्र गएँ । मुट्ठिमा अट्ने आकारका नानीका नाकबाट नि पाइप छिराइएको, नाडीमा सुइबाट पानीसँगै पोषण तत्व दिइएको छ, छातीको गतिले मात्रै जिवित रहेको थाहा हुन्छ ।
डाक्टरले भने जस्तै एउटा बच्चाको नाक र मुखबाट आएको रगत गालातिर लत्पतिएको र शरीर पूरै नीलो हुँदै गएको छ । तर पनि स्वास चलिरहेको अवस्थाको एउटा जीवन मर्नका लागि छोडिदेऊ कसरी भन्नु ?, मसँग वाक्य रहेन । सोचें, ‘यो मेरै बच्चा हुन्थ्यो भने म के निर्णय लिन्थें हुँला ?’ अनि डाक्टरहरूलाई पैसाकै मात्रै कारणले चाहीँ नछोड्नु होला, फेरी पनि फेसबुकबाट आह्वान गरेर जुटाउँला, यदि कारण पैसा होइन भने मेडिकल साइन्सको इथिक्सअनुसार गर्नुहोला भनेर अनि सुत्केरी र उनकी आमालाई पैसाको दुरुपयोग नगर्न भनेर निस्किएँ ।
(यो पोष्ट गर्नु केहीबेर अघि मात्रै जटिल अवस्थामा भएको बच्चा नरहेको खबर आयो)

Tuesday, January 30, 2018

त्रिशूली गल्छीको क्षमता घटाउने प्रयत्न

२०७४/१०/१६
आर्थिक अभियान दैनिक

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको परियोजना विकासकर्ता सिद्धकाली पावर लिमिटेडले अघि बढाएको त्रिशूली गल्छी जलविद्युत् आयोजनाको क्षमता घटाउन लागिएको छ । ७५ मेगावाट (मेवा)मा निर्माण गर्ने सम्पूर्ण प्रक्रिया सकिएको उक्त आयोजनाको क्षमता २८ मेवामा झार्न खोजिएको हो ।

सिद्धकालीले ७५ मेवाको आयोजना विकास गर्न जेनेरेशन लाइसेन्स प्राप्त गर्नुका साथै विद्युत् खरीद सम्झौता (पीपीए)समेत गरिसकेको छ । तर, उक्त क्षमतामा आयोजना बनाउन आवश्यक लगानी जुटाउन समस्या रहेकाले क्षमता घटाउन खोजिएको अपिका प्रबन्ध निर्देशक एवम् सिद्धकालीका प्रवर्द्धकमध्ये एक सञ्जीव न्यौपानेले जानकारी दिए ।

परियोजनाको कुल लागत रू. १६ अर्ब रहेको छ । ‘लागतको ७० प्रतिशत बैङ्क ऋण जुटाउन गाह्रो परिरहेको छ,’ उनले भने, ‘जसले गर्दा खर्चै कम लाग्ने मोडलमा आयोजना विकास गर्ने सोचमा अघि बढ्न खोजेको हो ।’ नेपाली बैङ्कहरूका लागि ७५ मेवाको आयोजना विकास गर्न ऋण प्रवाह गर्नु कठिन रहेको अनुभव न्यौपानेले सुनाए । ‘हुन त ८०–९० मेवाका आयोजना पनि विकास हुन थालेका छन्, तर त्यसमा भएका विदेशी पार्टनरका कारण पनि सजिलो भएको छ,’ उनले भने, ‘नेपाली बैङ्कबाट यति क्षमताको आयोजना जुटाउनु सजिलो रहेनछ ।’ यो आयोजना पूर्णरूपमा स्वदेशी लगानीमा अघि बढाउन लागिएको हो ।

हालै प्रस्तावित क्षमताको आयोजना निर्माणका लागि १८ मिटर अग्लो बाँध र त्यसैको तलपट्टि पावरहाउस रहने मोडल अपनाइने भएको छ । यसमा इनबिल्ट इण्टेक र पावरहाउस त्यहीँ रहँदा टनेलसँग सम्बन्धित विष्फोटक पदार्थको झमेलादेखि निर्माण लागत पनि घट्न जाने न्यौपाने बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरण र भएको विकास विभागले अनुमति दिए त्रिशूली गल्छी २८ मेवामा निर्माण हुनेछ । तर, यदि भएको निकायहरूको अनुमति नपाए ७५ मेवामै आयोजना विकास गर्ने सिद्धकालीको योजना रहेको छ । ‘त्यसो भएमा वैदेशिक लगानी ल्याउने विकल्पमा जानेछौं,’ न्यौपानेले भने ।

१ अर्ब १३ करोड पूँजी भएको अपिले त्रिशूली गल्छी आयोजनाको विकासका लागि भनेर १ः२ का दरले हकप्रद शेयर निकाल्न गत असारमा धितोपत्र बोर्डमा निवेदन दिएको छ । तर, प्रक्रिया अझै टुङ्गिएको छैन । शेयर जारी गर्न अनुमति पाए शेयरबाट रू. २ अर्ब २६ करोड सङ्कलन हुनेछ ।

तर, यही बीचमा शेयरबाट आउने रकम सोलार परियोजना विकासमा समेत लगाउने योजनामा अपि पुगेको छ । रू. १ अर्ब २६ करोड सोलार आयोजनामा लगानी गर्ने र बाँकी रहेको रू. १ अर्ब त्रिशूली गल्छीमा लगाउने अपिको योजना रहेको छ ।

यो आयोजना काठमाडौंबाट नजीकको आयोजना हुने कारणले राजधानीको विद्युत् माग परिपूर्ति गर्न विशेष सहयोगी हुने आशा गरिएको छ । यो आयोजनाको विकासले उक्त क्षेत्रको पर्यटकीय एवम् व्यापारिक गतिविधि वृद्धिको प्रचुर सम्भावना बोकेको छ ।

Monday, January 30, 2017

शिवपुरी बाबाको महापरिनिर्वाण भण्डारा–२०७३

हरेक वर्ष झैं यो वर्ष पनि शिवपुरी बाबाको महापरिनिर्वाणका दिन बाबाको समाधिस्थल ध्रुवस्थली काठमाडौंमा भण्डारा (निःशुल्क भोजन कार्यक्रम) सञ्चालन भएको छ । करीब दुईसयको सङ्ख्यामा जोगी, सन्यासी तथा साधु, साध्वीहरुले भण्डारामा भाग लिएका छन् । बाबाको जीवनकालबाटै चलेको जोगीहरुलाई भोजन गराउने यो प्रचलन उहाँलाई प्रेम गर्ने, श्रद्धा गर्नेहरुले उहाँलको भौतिक अनुपस्थितिमा समेत कायम राखेका छन् । भण्डारा हरेक वर्ष बाबाको जन्मदिन (२७ सेप्टेम्बर), महापरिनिर्वाणका दिन (३० जनवरी), शिवरात्री र गुरू पूर्णिमाका दिन सञ्चालन हुने गर्दछ । भण्डाराका लागि बाबाका शुभेच्छुकहरुले स्वेच्छाले रकम दान दिने प्रचलन रहेको छ । भण्डाराका दिन जोगी, सन्यासी, साधु, साध्वीका अलावा सभाधिस्थलमा पुग्ने जो कोहीलाई पनि स–प्रेम भोजन गरेर मात्र विदा गर्ने गरिन्छ ।

शिवपुरी बाबा
भण्डारामा सहभागी हुन पशुपती क्षेत्रबाट ध्रुवस्थली उक्लिंदै गरेका साधु, साध्वी

भोजन तयार गर्दै स्वयंसेवकहरु

भोजनमा सहभागी हुँदै जोगी, साधु, साध्वीहरु

स्वेच्छीक दान तथा तथा भण्डारामा सहभागी हुन पुगेका सर्वसाधारण

                                               भण्डारामा सहभागी हुन पुगेका ओशो सन्यासीहरु

 शिवपुरी बाबाले लामो समय बिताउनु भएको शिवपुरी राष्ट्रिय निकुञ्ज नजिक पाँच वर्षसम्म रुखको टोड्कामा तपस्या गर्नुभएका टोड्के बाबा । उहाँ शिवपुरी बाबा सम्बन्धी हरेक कार्यहरुमा सहभागी हुँदै आउनु भएको छ ।

शिवपुरी बाबा प्राङ्गणमा चहलपहल

Tuesday, January 10, 2017

ऊर्जा मन्त्रीद्वारा २०७३ पुस २५ गते सार्वजनिक गरिएको प्रगति तथा प्रतिवद्धताको फेहरिस्त

१. उज्यालो नेपाल अभियान
·         उज्यालो नेपाल अभियानलाई देशव्यापी वनाउन काठमाण्डौ उपत्यका सहित, काभ्रे, विराटनगर, विरगञ्ज, पोखरा, तनहुँ, वाग्लुङ्ग, स्याङ्गजा लोडसेसिडङ्ग मुक्त गरिएको र अन्य स्थानहरुमा समेत लोडसेसिडङ्ग मुक्त गर्दै जाने गरी प्राविधिक र अन्य तयारी गरी चुनौतीलाई थप वढाईएको ।

२. नेपालमा विद्युतको माग वारे विस्तृत रिपोर्ट तयार पारिएको र आज सार्वजनिक गरिदै ।
३. हाईड्रोमा लगानी गर्न शेयर प्रतिवद्धता आव्हानको Webside तयार र सार्वजनिक आज गरिदै :
·         नेपालको पानी जनताको लगानी कार्यक्रमको ३७ वुँदे प्रतिवद्धतापत्र कार्यान्वयन गर्न, सो प्रविवद्धतापत्रको वुँदा नं. ५, ७, ८ र ९ लाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न ।
·         हाईड्रोमा लगानी जुटाई लगानी सुनिश्चित गर्न लगानी प्रतिवद्धता फाराम अनलाईन मार्फत भर्ने व्यवस्था गरेको ।
४.  उत्पादन कम्पनि, ग्रिड कम्पनि स्थापना गरिएको र विद्युत व्यापार कम्पनी, ईन्जिनियरिङ्ग कम्पनी निर्माण   अन्तिम चरणमा पुगेको ।
५. बुढीगण्डकी जलविद्युत आयोजना
Ø  बुढीगण्डकी मुआब्जा वितरणको कार्य बढेको ।
Ø  बुढी गण्डकी ज।वि।आ। को जग्गा प्राप्ती, वातावरण तथा पुनर्वास कार्यमा सघाउ पुर्याउन छुट्टै इकाइ खडा गरी स‌योजक र विज्ञको छनौट कार्य अगाडी वढाइएको ।
Ø  विस्तृत आयोजना प्रतिवेदन तयार भएको ।
Ø  EIA प्रतिवेदन जनसंख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई सकेको ।
Ø  साइट अफिस, स्टोर र आवास भवन निर्माण सम्पन्न भएको ।
Ø  कम्पाउण्ड वाल र सडकको निर्माण कार्य भईरहेको ।
Ø  दुबै जिल्ला धादिङ्ग र गोर्खामा रिङ रोड सर्भे (गोर्खा तर्फ ८० कि.मी. र धादिङ्ग तर्फ ४० कि.मी. सम्पन्न भईसकेको ।
Ø  जग्गा अधिग्रहण तर्फ
गोर्खा जिल्ला तर्फ
·         मिति २०७३।०८।११ गते मुआब्जा निर्धारण समितिको बैठकबाट गोर्खा जिल्लाको घ्यालचोक, भुम्लिचोक, दर्वुङ, फुजेल, नाम्जुङ, बुङकोट, बोर्लाङ, अश्राङ, धावा, आरुपोखरी, आरुआर्वाङ, आरुचनौटे, थुमी, तान्द्राङ (आरुघाट र आरखेत बजार क्षेत्र बाहेक) गरी १४ गा.वि.स. को लागि मुआब्जाको दररेट निर्धारण भईसकेको छ ।
·         मिति २०७३।०८।१३ र २०७३।०८।१५ गते जिल्ला प्रशासन कार्यालय, गोर्खाबाट   (घ्यालचोक, भुम्लिचोक, दर्वुङ) लागि गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन भएको ।
·         गोर्खाका लागि ३ वटा गा.वि.स. (घ्यालचोक, भुम्लिचोक, दर्वुङ) मा ४०४१ रोपनी जग्गाको लागि पहिलो चरणमा रु २ अर्ब ६६ करोड लाग्ने ।
·         हालसम्म गोर्खा तर्फ मुआब्जा पाँऊ भनी ५०९ वटा निवेदनहरु प्राप्त भएको ।
धादिङ्ग जिल्ला तर्फ
·         मिति २०७३।०९।१९ धादिङ्ग जिल्लाका सलाङ, मैदी, खरी, चैनपुर, ज्यामरुङ, सल्यानटार, आगिन्चोक, मूलपानी, बुढाथुम, बसेरी, त्रिपुरश्वर, सल्यानकोट र मार्पाक (धादिङ्ग जिल्लाको सल्यानटार गा.वि.स. वडा नं. ८ मा पर्ने त्रिपुरेश्वर गा.वि.स.मा पर्ने खहरे बजार क्षेत्र बाहेक) गरी १३ गा.वि.स. मा पर्ने जग्गाको दररेट मुआब्जा निर्धारण गर्ने निर्णय भएको ।
·         मिति २०७३।०९।२१ गते जिल्ला प्रशासन कार्यालयबाट धादिङ्ग जिल्लाका (सलाङ, मैदी, खरी) लागि गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन भएको ।
·         धादिङ्ग लागि ३ वटा गा.वि.स. (सलाङ, मैदी, खरी) मा ६७८३ रोपनी जग्गाको लागि पहिलो चरणमा रु. ४ अर्ब २५ करोड लाग्ने ।
·         हालसम्म धादिङ्ग तर्फ मुआब्जा पाँऊ भनी १५ वटा निवेदनहरु प्राप्त भएको ।   
 ६. नलसिंहगाड ज.वि.
·         डि.पि.आर.को काम अगाडी वढेको
·         जग्गा अधिकरणको काम अगाढी वढेको
·         पहुँच सडक निर्माण १० कि.मि.मध्ये ४ कि.मि. भन्दा वढी सम्पन्न भएको
·         भवन निर्माणको काम भैरहेको
·         कन्स्ट्रक्सन पावरको विस्तृत सम्भाव्यता अध्ययन भैरहेको
·         टान्र्समिसन लाईनको सर्भेको काम भैरहेको
 
७.  जलसाययुक्त आयोजना वारे
·         विद्युत प्राधिकरणवाट जलसाययुक्त आयोजनाहरु अपर अरुण, दुधकोशी, तमोर, उत्तरगंगाको काम छिट्टै सुरु गर्न कम्पनी निर्माण गर्ने कार्य अगाडी वढेको ।
·         उत्पादन कम्पनी मार्फत नलसिंह गाड, भेरी १, सारदा, नौमुरे, वुढिगण्डकी, सुनकोशी ३, तामाकोशी ३ जलसाययुक्त आयोजना र लोअर अरुण आयोजना छिट्टै सुरु गर्ने गरी तयारी भैरहेको
८. विद्युत खरिद दर निर्धारण गरिएको वारे
  जलाशययुक्त PROR, ROR आयोजनाहरुको विद्युत खरिद दर निर्धारण गरेको र सरोकारवालाको रायका लागि सार्वजनिक रुपमा आव्हान गरिएको छ  ।


९.  विदेशी मुद्रामा एएब् गर्ने सम्वन्धमा स्(
क. वैदेशिक मुद्रा (अमेरिकी डलर) मा गरिने भुक्तानी वैदेशिक ऋण रकम फिर्ता नभएसम्म वा व्यापारिक उत्पादन पछि अधिकतम १० वर्षसम्म (दुई मध्ये जुन चाडो हुन्छ, सो अवधिसम्म) मात्र गरिने छ । सो अवधिपछिको बील भुक्तानी नेपाली रुपैयाँमा मात्र गरिने छ ।
ख.  डलरमा गरिने पि.पि.ए. हरुमा ROR तथा PROR आयोजनाहरुको लागि आधार दरमा (Base rate) मा ८ वर्षसम्म ३५ का दरले मूल्य वृद्धि प्रदान गरिने छ भने Storage आयोजनाको हकमा यस्तो मूल्य वृद्धि ५ वर्षसम्म ३५ का दरले दिइने छ ।
ग.  प्रवर्द्धकले हरेक बील नेपाली रुपैयामा पेश गर्नुपर्ने छ । यस्तो बीलमाथि G3 को मुद्रा मिश्रण अनुपात बमोजिम प्रवर्द्धकले पाउनु पर्ने अमेरिकी डलर बराबरको रकम पि.पि.ए. हस्ताक्षर गर्दाको बखतमा नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको अमेरिकी डलरको सटही दर अनुसार हिसाब गरिने छ ।
घ. अमेरिकी डलरमा गरिने पि.पि.ए. को दर हाल नेपाल विद्युत प्राधिकरणबाट अवलम्बन गरिएको १०० मेगावाटको ROR आयोजनाको खरीद दर तय गरिएको ROR, PROR तथा Storage आयोजनाको दरलाई माथिल्लो सिमाको रुपमा लिई Nagotiation मार्फत तय गरिने छ ।


१०.  अनुमतिपत्र सम्बन्धी निर्देशिका जारी :-
विद्युत आयोजनाहरुको अनुमतिपत्र सम्बन्धि निर्देशिका २०७३, मिति २०७३र९र२० मा जारी भएको छ । निर्देशिका तयार गर्ने सिफारित विज्ञ समितिको राय वमोजिम निर्देशिका तर्जुमा गरिएको हो ।
११. अन्य महत्वपूर्ण आयोजना :
·         चमेलिया : जम्मा सुरुङ्ग स्कुचिङ्ग भएको खुलाउनुपर्ने २३२ मि. मा १५९.५ मिटर सम्पन्न वाँकी ७२.५ मिटर
·         कुलेखानी : मुख्य ठेकेदार कम्पनी सँग छलफल गरी काममा तिव्रता आएको ।
·         माथिल्लो त्रिशुली ३ ए : निर्माण कार्य सुचारु गर्न सम्बन्धित ठकेदारहरुसंग समन्वय गरी काम सुचारु हु्दै ।
·         ढल्केवार खिम्ती प्रसारण लाईन Trail चार्ज भैरहेको ।
·         माथिल्लो त्रिशुली 1 को PDA :-– ऊर्जा मन्त्रालय र नेपाल वाटर एण्ड ईनर्जी डेभलपमेन्ट कम्पनी प्रा. लि. (NWEDCL) विच प्रारम्भिक हस्ताक्षर भएको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको विकास सम्झौता विद्युत ऐन,  २०४९ को दफा ३५ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएकोले २०७३/९/१४ गते ऊर्जा मन्त्रालयमा आयोजना विकास सम्झौता भएको छ ।
·         माथिल्लोत्रिशुली ३'ए' ज.वि.आ.को रोकिएको कामलाई सुचारु गर्न प्रवेश मार्ग मर्मत कार्यका लागि अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको सहमतिमा नेपाली सेनालाई दिने गरी प्रस्ताव मन्त्रीपरिषद्‌मा पठाइएको ।

१२. बंगलादेश सँग ऊर्जा आदान प्रदान सम्बन्धी MoU
 विद्युत क्षेत्रको विकासको लागि सहकार्य गर्न वंगलादेशले देशले पठाएको प्रस्ताव नेपाल सरकारले विभिन्न निकायहरु सँग छलफल गरी छलफल गरी नेपालमा विद्युत उत्पादन गर्ने तथा विद्युत क्षेत्रमा सहकार्य गर्न MoU तयार भई बंगलादेश सरकारलाई पठाइएको छ /
१३.  तिला १ मा सरकारको समेत सेयर रहने गरी तिला दुवै आयोजनामा कर्णाली प्रदेशका हरेक घर परिवारवाट १ लाख ईक्वीटी सेयर रहने गरी लगानी गर्न डेभ्प्लपर सँग सहमती भएको । छिट्टै काम सूरु हुने ।
१४.  वितरण प्रणाली
·         ग्रिड कम्पनी मार्फत ७६५ केभि पूर्व पश्चिम हाईवे, सेती कर्णाली, भेरी नदि वेसिन ४०० केभि र क्रस वोर्डर वुटवल गोरखा केरुङ्ग    प्रसारण लाईनलाई निर्माण कार्य छिट्टै प्रारम्भ गर्ने गरी तयारी भैरहेको ।
·         हालको वितरण प्रणालीमा सुधार गर्न टान्सफर्मरहरुको अपग्रेड, कन्डक्टर अपग्रेड गर्नुका साथै स्मार्ट ग्रिड, स्मार्ट मिटरको काम अगाडी वढाउने तयारी भैरहेको ।
·         विगतमा अपलपत्र परेको प्रसारण लाईनका योजनाहरु छिटो सम्पन्न गर्ने गरी कार्य अगाडी वढेको ।
रुकुम, जाजरकोट, नेपालगञ्ज, कोशी, कावेली—ढल्केवर— हेटौंडा, भरतपुर —वर्दघाट समस्या, काठमाण्डौ आयात गर्ने प्रसारणका योजना कार्यान्वयनमा रहेका समस्या समाधानमा लागेको
१५. अनुगमन र अन्र्तक्रिया :
मा. उर्जा मन्त्री, उर्जा सचिव, कार्यकारी निर्देशक सहितको उच्च तहको टिमवाट विभिन्न ठाँउमा गरिएको अनुगमनवाट प्राप्त केही उपलव्धि
·         गोरखा, धादिङ्ग — वुढिगण्डकी आयोजनमा रहेका समस्या समाधानको क्रममा
·         दोलखा — अपर तामाकोशी आयोजना निर्माणमा भिन्न भिन्न काम गर्ने ठेकेदारहरु विच एकिकृत योजना निर्माण , तामाकोशी देखि खिम्तीको प्रसारण लाईन निर्माणलाई तिव्रता दिईएको ।
·         जाजरकोट — नलसिंहगाड ज.वि. को विभिन्न काममा प्रगती देखिएको
·         रुकुम खलंगा, चौरजहारी र जाजरकोट रुकुममा सवस्टेशन निर्माण भैरहेको र केन्द्रीय लाईन जडान अन्तिम चरणमा पुगेको
·         विराटनगर : चुहावट नियन्त्रणमा तिव्रता र उद्योगपतिहरु सँग छलफल
·         ठोरी पर्सा : ठोरीमा विद्युतीकरण
·         पतौरा रौतहट : ३३। ११ के भि को सवस्टेशन निर्माण अगाडी वढाईएको
·         विरगंज : औद्योगिक कोरिडोरलाई लोडसेडिङ्ग मुक्त गर्ने प्रयासको थालनी

अनुगमन गरिएको सवै स्थानहरुमा :
·         समस्या सुनि तत्काल समाधान गर्न निर्देशन दिईएको
·         चुहावट नियन्त्रणका लागि कडा रुपमा लाग्न निर्देशन गरेको : गौर र कलैयालाई हुकिङ्ग मुक्त गाँउ निर्माण गर्ने गरी लक्ष्य तोकिएको
·         संगठनात्मक, संरचनात्मक, आचरणगत समस्या वा शैली सुधार गर्न आदेश दिईएको
·         नागरिकका गुनासा सुनि त्यँही सम्वोधन गर्न पहल गरिएको
·         नागरिकको घर दैलोमा पुगि जनता माग, आवश्यकता मुतामिक फिल्डमा नै निर्देशन गरिएको
(सरकार घरदैलोमा भन्ने अनुभूति दिलाउने कार्यको थालनी गरिएको )
·         स्थानीय रुपमा सरोकारवाला सवै तह र तप्का सँग छलफल गरी सवैको सहयोग र समर्थनमा उज्यालो नेपाल अभियान अगाडी वढाईएको ।
·         विराटनगर, विरगञ्ज, पोखरा, हेटौंडा, नेपालगञ्ज आदी जनता र उद्योगपतीहरु सँग छलफल गरिएको। औद्योगिक कोरीडोरलाई लोडसेडिङ्ग मुक्त गर्न योजना वनाईएको ।
·         उद्योगीहरुलाई विद्युत माग गरी योजनावद्धरुपले औद्योगिक राष्ट्र निर्माण गर्न अपिल गरिएको ।
१६. उर्जा लगानी कर्ताहरुको माग सम्वन्धमा
·         १० हजार : MW सम्म टेक अर पे (Take or Pay) नीति लागु गरिने ।
·         उर्जा क्षेत्रमा लगाईएको लगानीको वैंकिङ्ग व्याजदर घटाउने र ५ प्रतिशत व्याजदर कायम गर्न अर्थ मन्त्रालय मार्फत राष्ट्र वैकमा अनुरोध गरिएको
·         डलर पि पि ए को रिस्क कम गर्न हेजिङ्ग फण्ड वनाउने निर्णयार्थ अर्थ मन्त्रालयमा पत्राचार गरिएको ।
·         रु ५० लाख भ्याट छुट दिने प्रस्ताव अन्तिम चरणमा रहेको ।

·         पोष्टरेटको कार्याव्यन गर्न अर्थ मन्त्रालयवाट सहमती माग गरिएको ।