२०७२ सालमा नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो । त्यसपछि नेपाल सरकारले भारतीय नाकाको विकल्प खोज्ने क्रममा चीनसँगको सीमामा कहाँ कहाँबाट नाका खोल्न सकिन्छ भन्ने अध्ययन गर्यो । चीनतर्फ सञ्चालनमा रहेको तातोपानी नाकापछिको प्राथमिकतामा उपल्लो मुस्ताङमा पर्ने कोरला नाकालाई ठहर गरियो । नाका खोल्ने सम्बन्धमा विभिन्न तहबाट चीनसँग भएका छलफलपछि गएको डेढ वर्षको अवधिमै चीनले नाकामा आफ्नोतर्फ आवश्यक संरचना निर्माण गरिसकेको छ । नेपालतर्फ भने नाकामा पर्ने २४ नम्बर पिलरको दायाँ/बायाँ दुवैतर्फ ५००/५०० मिटर जग्गा छुट्याएर भन्सारका एकीकृत संरचना विकास गर्ने भनिएको छ । यसका लागि भर्खरै जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ ।
यो नाका समथर ठाउँमा हुनुका साथै नाकाबाट प्रवेश हुने उपल्लो मुस्ताङ खासै पानी नपर्ने क्षेत्र भएकाले पारवहनका लागि जोमसोमसम्म बाढी/पहिरोको समस्या छैन । जोमसोमदेखि पोखरासम्म पनि बाटो विस्तार तथा सुदृढीकरण चलिरहेको छ । यसकारण जसरी ‘तातोपानी’ काठमाडौं र यस आसपासका क्षेत्रका लागि चीनसँगको प्रमुख व्यापारिक नाका बनेको छ, त्यसैगरी व्यवस्थित भन्सार प्रणाली विकास भए ‘कोरला’ पोखरालगायत त्यस आसपासका क्षेत्रको व्यापारिक नाका बन्न सक्छ ।
यसले अन्तरदेशीय व्यापारमा भारतमा मात्रै रहँदै आएको निर्भरता अन्त्य गर्न पनि ठूलो मद्दत पुर्याउँछ । यो नाकाको भ्रमण गरेर सम्भावना हेर्ने काम राजनीतिक नेतृत्वदेखि उच्च पदका कर्मचारीले समेत गरिससकेका छन् । नाका खोल्न आवश्यक पूर्वाधार विकासका लागि बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर सडकका लागि सरकारले बजेटसमेत छुट्याएर काम अघि बढिरहेको छ । उक्त सडक चालू आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको छ । तर नाकामै आवश्यक भन्सार संरचना निर्माण थालनी नभएकोप्रति सीमाक्षेत्र (उपल्लो मुस्ताङ)का बासिन्दाको चासो बढ्न थालेको छ । हरेक वर्षझैं जाडो छल्न काठमाडौं आइपुगेका उनीहरूमध्ये केही प्रतिनिधि पात्रका साथै भन्सार विभागका पूर्व महानिर्देशक तोयम रायमाझीसँग आर्थिक अभियान दैनिकले एक छलफल आयोजना गरेको थियो । प्रस्तुत छ, सोही छलफलमा सहभागीले राखेका भनाइको सार :
लोमान्थाङमा १ हजार रोपनी जग्गा व्यवस्था हुँदै छ
सहसचिव, अर्थ मन्त्रालय
पूर्व महानिर्देशक, भन्सार विभाग
मस्ताङ आफैमा फरक भौगोलिक तथा सांस्कृतिक पहिचान बोकेको ठाउँ हो । यो अपर मुस्ताङको कोरला नाका स्वीकृत नाका पनि हो । यो नाका सरकारको प्राथमिकतामा छ । चीन सरकारको तर्फबाट भवन निर्माण लगायत पूर्वाधार निर्माणका काम भएका छन् । हाम्रो तर्फबाट धेरै काम हुन बाँकी छन् । तर प्रक्रिया जारी नै छन् । गण्डकी प्रदेशको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको प्रदेश भएकाले यसलाई उत्तर–दक्षिण नाकाको रूपमा विकास गर्नुपर्ने सरकारको योजना देखिन्छ । किनभने नारायणीमा पानी जहाज ल्याउने योजना छ । तर त्यो (त्रिवेणी) नाका स्वीकृत भएको छैन । यो नाका खोल्न सरकारले भारतसँग पहल गरिरहेको छ ।
मुस्ताङको कुरा गर्दा पहिले भन्सार लोमान्थाङभन्दा ३ किलोमिटर तल थियो । अझ जाडो महीनामा त त्यो काम पनि जोमसोमबाट हुन्थ्यो । केही समयअघि नेपाल सरकारको टोली कोरला नाकामै पुगेर त्यहाँको स्थलगत अध्ययन गरी फर्केको छ । चीनतर्फ पूर्वाधार बनिरहको अवस्थामा हामीले पनि पूर्वाधार बनाउनुपर्ने हुन्छ । त्यो अध्ययनले हामीलाई त्यहाँ कम्तीमा पनि १ हजार रोपनी जग्गा चाहिने देख्यौं । हामीले त्यहाँ एकीकृत भन्सार पोस्ट बनाउनुपर्छ भनेका छौं । कामको प्रभावकारिता र राज्यको खर्चका हिसाबले पनि त्यो आवश्यक छ । दायाँ बायाँ ५–५ सय रोपनी जग्गा पनि प्राप्त गर्न सकिने अवस्था रह्यो । त्यो जग्गा एकातर्फ एकीकृत कार्यालयहरू र अर्कोतर्फ भन्सार यार्डका लागि प्रयोग गर्न सकिन्छ । सरकारले उक्त जग्गा भन्सार विभागको नाममा नापी गर्न नापी विभागलाई निर्देशन दिइसकेको छ । त्यो जग्गा एकीकृत भन्सार पोस्टको नाममा आएपछि अन्य काम क्रमशः शुरू हुँदै जानेछन् । कसले र कसरी बनाउने भन्ने विषयमा सरकारले निर्णय गर्छ । कालीगण्डकीदेखि समर भन्ने स्थानसम्म सडक असजिलो भए पनि कोरलासम्मै कच्ची बाटो पुगेको छ । गाडी पुग्न सक्छ । त्यसको स्तरोन्नति आवश्यक छ ।
लोमान्थाङ साँच्चै सुन्दर छ । चीनसँगको नाकाको हिसाबले यसले नेपालको व्यापारमा पार्ने प्रभाव एकातर्फ छँदै छ, अर्कोतर्फ पर्र्यटनका हिसाबले यसको बेग्लै महŒव छ । यो नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थानमध्येकै एक हो । हिमाली श्रृंखला मात्र नभएर फाँटहरू, शताब्दीऔं पुराना गुम्बा तथा त्यहाँको संस्कृति आफैमा पर्यटकीय प्रडक्ट हुन् । गत वर्षसम्म हामी महानिर्देशक स्तरको वार्ता भारतसँग मात्र थियो । अहिले बंगलादेशसँग भएको छ । अब हामी चीनसँग त्यही स्तरको वार्ताको तयारीमा छौं । आउने अप्रिल–मे महीनासम्म नेपाल र चीनको भन्सारबीच सम्झौता हुने कार्यक्रम छ । समग्रमा यो नाकाको विकास र विस्तारले नेपालको सीमा व्यापार तथा पर्यटनमा सकारात्मक प्रभाव पार्छ । कोरला नाका चीनको पनि चासोको नाका हो । जग्गाको काम सकिनेबित्तिकै अन्य काम अगाडि बढ्नेछन् ।
नाका खुले उत्तरपट्टिबाट आउने पर्यटक बढ्छन्
स्थानीयवासी, उपल्लो मुस्ताङ
सन् १९९२ मा पर्यटन व्यवसायका लागि उपल्लो मुस्ताङ खुला भएपछि विदेशी पर्यटकका लागि उपल्लो मुस्ताङको लोमान्थाङसम्म घुम्न १० दिनको अनुमति लिनुपथ्र्यो । त्यससँगै जोडिएका तर गाविस मात्रै फरक रहेका नाम्गेल, छोसेर र छुनुसम्म पुग्न चाहने पर्यटकले थप ३ दिनको अनुमति लिनुपर्ने अवस्था थियो । यो नियम सन् २००५ सम्म रह्यो । पर्यटकले प्रतिदिनको हिसाबले निर्धारित दिनकै शुल्क बुझाउनुपथ्र्यो । यसकारण बढी खर्च लाग्ने भएपछि पर्यटकले सकेसम्म यात्राका लागि दिन घटाउँथे । यसको घाटा त्यो क्षेत्र देख्न नपाउँदा पर्यटकलाई र उनीहरूको चहलपहल कम हुँदा स्थानीय व्यवसायीलाई पनि थियो । त्यसैले मैले सन् २००३ देखि नै स्थानीय जनप्रतिनिधिदेखि मन्त्रालयसम्म कुरा गरेर १० दिनकै अनुमतिले उक्त क्षेत्र पनि घुम्न पाउने व्यवस्था लागू गराउन सफल भएँ । हुन त अहिले पनि पर्यटक उक्त क्षेत्र घुमेपछि फर्केर बस्ने लोमान्थाङमै हो । तर पनि पर्यटक त्यहाँसम्म पुग्दा स्थानीयवासीले पनि केही देख्छन्, सिक्छन्, पर्यटकले पनि त्यस क्षेत्रका गुफा, गुम्बा देखेर केही सिक्छन् । पर्यटककै चहलपहलले गर्दा अहिले उक्त क्षेत्रमा गुफा र गुम्बाहरू व्यवस्थित हुन थालेका छन् ।
चीनले अहिले आफ्ना नागरिकलाई देश–विदेश घुम्न प्रोत्साहन गरिरहेको छ । नाका खुल्ने हो भने उत्तरपट्टिबाट आउने पर्यटक बढ्छन् । यसपछि छोसेर, नाम्गेल हुँदै लोमान्थाङतिर आउँछन् । साथै उक्त क्षेत्रमा पर्यटकको संख्या र आर्थिक गतिविधि बढेर स्थानीयस्तरमा समृद्धि हासिल हुन सक्छ ।
देशले भन्सारबापत पाउने लाभ गुमाइरहेको छ
पूर्वयुवराज, उपल्लो मुस्ताङ
पहिले पहिले कोरला नाका हुँदै नेपाल र तिब्बतबीच स्वतन्त्र आवत–जावतको व्यवस्था थियो । तिब्बतीहरू बुद्धधर्म पढ्न यही बाटो भएर नेपालका विभिन्न क्षेत्रका साथै भारतसम्म पुगेका र फर्किएको इतिहास पाइन्छ । साथै आठौं शताब्दीमा भारतबाट तिब्बतमा बुद्धधर्म प्रसारका लागि पद्मसम्भव (गुरु रिन्पोचे) यही बाटो हुँदै जानुभएको पनि सो क्षेत्रमा रहेका उहाँका तीर्थस्थलबाट थाहा पाउन सकिन्छ ।
पोखराको बाटो उपल्लो मुस्ताङसम्म नखुलुञ्जेल हामी (उपल्लो मुस्ताङवासी) व्यापारमा पूर्णतया चीनसँग निर्भर थियौं । त्यति मात्रै होइन, हिउँदमा उपल्लो मुस्ताङमा घाँसको अभाव हुने हुँदा त्यो मौसममा यताका पशु चरणका लागि उता लैजानसमेत छूट थियो । तर जब चीनसँगको नाका बन्द भयो (१९६० को खम्पा विद्रोहपछि), तब चीनसँग उपल्लो मुस्ताङको सम्बन्ध पूरै टुट्यो । धेरैपछि मेरो बुबा (जिग्मे दोर्जे पलबर विष्ट)ले चीनसँग अनुरोध गरेपछि वर्षको दुईपटक उपल्लो मुस्ताङी जनताका आवश्यकताका सामान आपूर्तिका लागि नाका पारि उनीहरूले तोकेको ठाउँमा मेला लगाउने व्यवस्था शुरू भएको हो ।
भन्सारको व्यवस्था गरी नाका नखुल्दा हाम्रा सुरक्षाकर्मीको सानो संख्या रहेको स्थान छलेर चीनबाट भेडा च्यांग्राका साथै कतिपय सामान अवैध रूपमा भित्रिरहेका छन् । यसले हाम्रो देशले भन्सारबापत पाउने लाभ गुमाइरहेको छ । साथै सोझो जहिल्यै हेपिने, सक्नेले जहिल्यै पेल्ने प्रवृत्तिको मारमा उपल्लो मुस्ताङी जनता परिरहनु परेको छ । त्यसैले चाँडै व्यवस्थित संरचनासहित नाका खुलाउन स्थानीय तहदेखि संघसम्मका जनप्रतिनिधिलाई भेटेर अनुरोध गरिरहेको छु ।
नाकाले धार्मिक पर्यटक भित्र्याउँछ
पर्यटन व्यवसायी, उपल्लो मुस्ताङ
२०७२ का दुईओटा ठूला घटना (भूकम्प र नाकाबन्दी)ले मुलुक उकुसमुकुस अवस्थामा रह्यो । यसले मुलुकको दक्षिणी नाकामा मात्रै आश्रित भएको नेपालको बाह्य बजार÷व्यापारमा ठूलो हलचल नै मच्यायो । फलस्वरूप बाह्य व्यापारका लागि निकै उपयुक्त मानिएका उत्तरी नाकाको चर्चा शुरू भयो । त्यसमध्ये पनि नेपालको ठूलो बजार हिस्सा ओगटेको चीन र त्यससँग जोडिने उपल्लो मुस्ताङको कोरला नाका सञ्चालनलाई प्रमुख प्राथमिकता दिइयो । यी घटना नै उत्तर दिशाका नाकाहरू खोल्ने विषयमा बलियो आधार बन्न पुगे ।
मुस्ताङको भविष्यसँग मात्रै नभई यो नाका मुलुककै आन्तरिक तथा बाह्य बजारका साथै पर्यटन क्षेत्रका लागि कोसेढुंगा बन्न सक्छ । नाका खोल्न प्रयास भइसकेपछि यहाँका जनता तथा व्यवसायी निकै उत्साहित भएका छन् । अहिले नाका खुल्छ भनिएको छ । सडक पनि बनेको छ, तर नेपालतर्फको काम भने कछुवाको गतिमा भइरहेको छ । अहिलेको चुनौती भनेको नेपालले पूर्वाधार निर्माणका क्रममा देखाएको ढिलासुस्ती नै हो । चीनसँग जोडिएको तातोपानी नाका दीर्घकालीन समाधान होइन । तातोपानी हुँदै आउने बाटोमा गइरहने पहिरोका कारण यसको उपयुक्त विकल्प कोरला नाका नै हो ।
मुस्ताङ धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य हो । मुक्तिनाथ, दामोदर कुण्ड र मानसरोवर तीनओटै तीर्थका लागि यो नाका उपयुक्त हुन्छ । यी धार्मिक स्थल हिन्दू र बौद्ध धर्मका आन्तरिक र बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हुन् । सन् १९९२ देखि मुस्ताङ भ्रमणका लागि खुला गरिएपछि विस्तारै–विस्तारै यो पर्यटकको गन्तव्य बन्न पुगेको छ । मुस्ताङमा आउने विदेशी पर्यटकका लागि ५ सय अमेरिकी डलर शुल्क लाग्छ । पैसा खर्च गर्न सक्ने पर्यटक यहाँ आउने गर्छन् । अहिले वार्षिक ४ हजारदेखि ५ हजार पर्यटक आइरहेका छन् ।
यसमध्ये फ्रेन्च बढी छन् । सन् १९९६ तिर फ्रेन्च मानवशास्त्री आएका थिए । उनले मुस्ताङका विषयमा पुस्तक निकालेका थिए । यस कारण पनि फ्रेन्च पर्यटक बढेको हुन सक्ने आकलन छ । साथै अन्य यूरोपेली पर्यटक पनि आउने क्रम बढेको छ । पछिल्लो समय म्युजिक भिडियोका साथै फिल्महरू मुस्ताङमा शुटिङ हुन थालेपछि यहाँ आन्तरिक पर्यटक बढेका छन् ।
नाका नखुलेसम्म सुरक्षा चुनौती महसूस भइरहेको छ
अध्यक्ष, लो घेकर दामोदरकुण्ड गाउँपालिका, उपल्लो मुस्ताङ
भन्सारका लागि चीनले डेढ वर्षको समयमा भव्य भवन बनाइसकेको छ । तर हामीले चीनलाई भन्सार खोल्नुपर्यो मात्रै भनिरहेका छौं, जग्गा छुट्याएर संरचना निर्माण चाहिँ थालेका छैनौं ।
गत साल चीनका राजदूत लोमान्थाङ आउँदा हामीले नाका खोल्नुपर्ने विषय उठाएका थियौं । त्यतिबेला उहाँले हामीले हाम्रोतर्फ काम गरेको त सीमावासी भएकोले देखिरहनु नै भएको होला, तपाईंहरूले छिटो गर्न के गरिरहनु भएको छ भनेर सोध्नुभयो । हाम्रोमा जग्गा प्राप्ति, बजेट छुट्याउने जस्ता काममै समय धेरै लागिरहेको छ । त्यसैगरी जिम्मेवार निकायका लामो समयदेखि काम गरिरहेका कर्मचारी सरुवा हुने नयाँ मान्छेले बुझ्न समय लाग्ने कारण पनि समस्या छ ।
उपल्लो मुस्ताङवासीले नाका खुलाउन हामीजस्ता जनप्रतिनिधिले पहल गर्न सक्छ कि सक्दैन, कति चाँडो हुन्छ, नेपाल सरकारले लगानी गर्न सक्छ कि सक्दैन भन्ने हेरेर बसेका छन् । सडक नै नाकासम्म बनिसकेको हुँदा अब संरचना निर्माणमा कुनै बाधा छैन । यसमा नेपाल सरकारले बलियो संयन्त्र बनाएर काम गर्नु आवश्यक छ ।
नियमअनुसार नाकाबाट ३५ किलोमिटर यता र उता गर्न दुवैतर्फका स्थानीयवासीलाई छूट छ । तर हामी उता जानुप¥यो भने लोमान्थाङमा रहेको कार्यालयबाट पास लिएर जाँदा पनि उनीहरूलाई मन लागे जान दिन्छन्, मन नलागे दिँदैनन् । तर उनीहरू चाहिँ आफ्नै गाडी लिएर निर्बाध रूपमा लोमान्थाङसम्म आउने, हाम्रा सरकारी अधिकारी, सुरक्षाकर्मीलाई भेटेर जाने गर्छन् । दुईतर्फको समान व्यवहार नभइरहेका कारण व्यवस्थित रूपमा नाका नखुलेसम्म सुरक्षा चुनौती महसूस भइरहेको छ । नाका खुलेपछि दुवैतर्फ व्यवस्थित संयन्त्र हुन्छ, डर हुँदैन ।
नाकाबाट करीब ६ किलोमिटरको दूरीमा चीनको आर्मी क्याम्प र नाकाबाट निकै नजीक सशस्त्रको ब्यारेक छ । तर हाम्रोतर्फ भने सशस्त्रको क्याम्प नाका नजिक भए पनि आर्मी ब्यारेक चाहिँ २१ किलोमिटर टाढा बन्दै छ । उपल्लो मुस्ताङको मुटु भनेको लोमान्थाङ हो । संसारमै चर्चित भएकै कारण विदेशीहरू ५०० डलर तिरेर पनि लोमान्थाङ पुग्छन् । यस्तो अवस्थामा नाकाबाट टाढा आर्मी क्याम्प राख्दा सुरक्षामा समस्या हुने हो कि भन्ने चिन्ता छ ।
नाका खुल्दा फाइदै हुन्छ
होटल व्यवसायी, लोमान्थाङ
चीनतर्फको नाका (कोरला) खुल्दा हाम्रो पर्यटनमा असर पर्ने हो कि भन्ने एकखाले आशंका छ । तर यसले असर गर्दैन, बरु फाइदा हुन्छ । मुस्ताङमा अन्यत्र कतै नदेखिने प्राकृतिक भूबनोटका साथै आफ्नै पहिचान बोकेको संस्कृति छ । नाका खुल्ने, यस क्षेत्रको महŒव प्रचार–प्रसार गर्ने र भ्रमण शुल्क घटाउने भने विदेशी पर्यटकको आगमन धेरै बढ्छ । सरकारले समय सापेक्षित कदम चाल्दा समग्र राष्ट्रले नै फाइदा लिन सक्छ भन्ने उदाहरण उपल्लो मुस्ताङ हो । सन् १९९२ मा सरकारले उपल्लो मुस्ताङमा पर्यटन व्यवसायका लागि खुला गरेपछि १६ वर्षसम्म लोमान्थाङमा दुईओटा मात्र होटल थिए ।
उक्त क्षेत्रमा पर्यटकीय सम्भावना छैन भन्ने मानसिकताले पर्यटन व्यवसायमा स्थानीय बासिन्दाले लगानी गरेनन् । तर यथार्थ भने पर्यटकमा लगाइएको महँगो शुल्क रहेछ । जब सन् २००७ देखि प्रतिविदेशी पर्यटक प्रतिदिन ७० डलरबाट घटाएर ५० डलर कायम गरियो, तब पर्यटक ह्वात्तै बढे । यसपछि उनीहरूलाई सेवा दिन होटल पनि थपिँदै गए । हाल लोमान्थाङमा १७ ओटा होटल सञ्चालनमा छन् । पर्यटक बढ्दा स्वाभाविक रूपमा यहाँको आर्थिक गतिविधि पनि बढ्छ । यसले मुस्ताङका साथै देशको समृद्धिका लागि टेवा पुग्छ । हाल मुस्ताङबाट सबैभन्दा धेरै फाइदा लिने निकाय नेपाल सरकार हो । तर त्यसको लाभ स्थानीय क्षेत्रमा कति पुग्यो भन्ने कहीँ तथ्यांक छैन ।